पत्रकार महासंघ यूकेका अध्यक्ष भन्छन्- खुशी लिम्बुबाट जेल हाल्ने धम्की खेप्ने बेलायतमा न म पहिलो व्यक्ति हुँ न म अन्तिम नै

SHARE:

नरेश खपाङ्गी मगर

सर्वप्रथम त मेरो फेसबुकमा जोडिनुभएका सबै महानुभावहरुमा माफी चाहन्छु किनकी सामाजिक सञ्जालमा यसरी उपस्थित हुनपर्ला भनेर मैले सोचेको थिइनँ । तर नेपाल आदिवासी जनजाति महासंघ युकेका महासचिवसमेत रहेका सिलौटी टाइम्स डटकमका सम्पादक मेरा मित्र खुशीमान तावा लिम्बुले मेरो बारेमा आफ्नो फेसबुकमार्फत अत्यन्तै भ्रामक, आधारहीन र चरित्रहत्या गर्ने किसिमका सामग्रीहरु प्रकाशन गरेकाले सोको वास्तविकता जानकारी गराउन यसरी आउन बाध्य छु ।

१. सिलौटी टाइम्स डटकमले ११ जनवरी २०२१ का दिन गत एनआरएनए निर्वाचनमा मनोनयन शुल्क अपुग भएको विषयको समाचारमा बिना सन्दर्भ मेरो तस्वीर छापेपछि मैले सोको प्रतिक्रियास्वरुप मेरो फेसबुकमा केही प्रष्टीकरण लेखेको थिएँ । जसमा मैले व्यक्तिगत पूर्वाग्रहका कारण सो समाचार लेखिएको जिकिर गरेको थिएँ । त्यो जिकिर लिम्बुको ११ जनवरी र १२ जनवरीमा प्रकाशित दुईवटा फेसबुक स्ट्याटसले झनै पुष्टि गरेको छ । मेरो भनाइ मनोनयन शुल्क नपुगेको भन्ने समाचारमा मेरो फोटो किन छाप्नुपर्यो भन्ने थियो । किनभने निर्वाचन समितिमा आर्थिक कारोबार हेर्ने कोषाध्यक्ष थिए, निर्वाचन समितिको सम्पूर्ण पक्ष हेर्ने संयोजक थिए, उनीसित सम्पर्क हुन नसकेको अवस्थामा सहसंयोजक थिए, मिडियासित कुराकानीकै लागि तोकिएका प्रवक्ता थिए । मनोनयन शुल्क दाखिलाका बेला नगद गनेर लिने, नगदी रसिद दिने निर्वाचन समितिका सदस्यहरु थिए । ती सबैलाई छोडेर मेरो फोटो राख्नुपर्ने कारण के हो ? व्यक्तिगत पूर्वाग्रह र मेरो चरित्र हत्याबाहेक केही होइन ।
२. मेरो गत ११ जनवरीको फेसबुक स्ट्याटसपछि उनले समाचारमा केही परिमार्जन गरी मलाई पठाएको इमेलको स्क्रिन सट राखेछन् (यद्यपि त्यो इमेल अहिलेसम्म मलाई प्राप्त भएको छैन) । त्यो स्क्रिनसट यसो हेरेँ पठाइएको समय रहेछ राति १२ बजेर ३९ मिनेट । अनि समाचार फेसबुकमा प्रकाशित भएको समय रहेछ बिहान १० बजेर ४४ मिनेट । यसबीचमा न उनले मलाई इमेल पठाइएको छ भनेर सूचित गरे न इमेल पाउनु भयो भएन भनेर रिकन्फर्म नै गरे । इमेल पठाएको करिब १० घण्टामै उनले ‘म मौन बस्यो’, ‘मौनसम्मति लक्षणम्’ भनेर समाचार लेखेछन् । वास्तवमा उनी समाचारमा मेरो भनाइ नै राख्न चाहँदैनथे । इमेल त केवल मसित सम्पर्क गरेको देखाउने एउटा बहाना थियो । उनी मात्र चाहन्थे – मैले आर्थिक घोटाला गर्यो भन्ने भ्रामक सन्देश दिन । नभए त कम्तीमा इमेल पाएको नपाएको त सोध्थे । मैले सोही दिन पठाएको मेरो भनाइसहितको खण्डन त छाप्थे ।
३. म दुधे बालक हुँदा नै पत्रकारितामा धेरै भोटो फटाएको बतासे दाबी गर्ने खुशी लिम्बुलाई मिडियामा प्रकाशित सामग्रीउपर पठाइएको खण्डन छाप्नुपर्छ भन्ने पत्रकार आचारसंहिताको सामान्य ज्ञानसम्म भएको भए मेरो खण्डन अहिलेसम्म नछाप्नुपर्ने कुनै कारण नै थिएन । त्यसैले मैले पहिले पनि भनेको हुँ उनी सम्पादक हुनका लागि लायक नै छैनन् ।
४. नेपाल पत्रकार महासंघ युकेको गत अधिवेसनमा वर्तमान महासचिवलाई सम्मेलन स्थलमै केन्द्रीय अध्यक्ष र महासचिवकै अघि हातपात गरेपछि परेको उजुरीमाथि छानविन गरेर उनलाई २०१९ अक्टोबर ६ तारिखका दिन मोन्टिज रेष्टुरेन्ट, इलिङ लण्डनमा बसेको बैठकले सर्वसम्मतिले साधारण सदस्यबाट छ महिनाका लागि निस्कासन गरेको हो । मेरै अध्यक्षतामा बसेको बैठकले गरेको निर्णय अहिले उनी त्यस्तो निर्णय भएकै छैन भन्दैछन् । के अब मेरो अध्यक्षतामा भएको बैठकको निर्णय पनि उनले प्रमाणित गर्नुपर्ने हो ? हेक्का रहोस्, पत्रकार महासंघ युके मेरो व्यक्तिगत चाहनाबाट होइन सांगठानिक पद्दतिबाट चल्छ । अनि उनी नेपाल पत्रकार महासंघ युकेबाट आइएफजेको कार्ड पाएको दाबी गर्दैछन् । याद रहोस्, पत्रकार महासंघ युकेले सन् २०१८ मे यता कसैलाई आइएफजे कार्डका लागि सिफारिस गरेको छैन । अझ साधारण सदस्यबाट निस्कासितलाई सिफारिस गर्ने कुरै हुँदैन ।
५.वीनेपाली डटकम बनाउनलाई आफूले ठूलो भूमिका खेलेको लेख्नुभएछ । त्यसका लागि म धन्यवाद दिन्छु उहाँलाई । उहाँहरुजस्तै धेरै जनाको सहयोगले वीनेपाली यहाँसम्म आएको हो । सँगसँगै खुशी लिम्बुलाई खुशी लिम्बु बनाउन वीनेपालीले भूमिका खेलेको पनि स्मरण गर्न अनुरोध गर्दछु । एनआरएनए युकेको महासचिवमा दाबी गर्दा वीनेपालीले नै हो ‘को हुन् एनआरएनए युकेको महासचिवमा दाबी गर्ने खुशी लिम्बु ?’ शीर्षकमा समाचार लेखेको । अरुलाई खोलो तर्यो लौरो बिस्यो भनेर गुनासो गर्ने लिम्बुले पहिले आफ्नै आङको भैँसी पनि हेरुन् ।

६. ममाथि विगतमा सिलौटी टाइम्स डटकमलाई बन्द गराएको गम्भीर आरोप लगाएछन् । म लिम्बुलाई भ्रमको खेती होइन, मैले सिलौटी टाइम्स बन्द गराएको प्रमाणित गर्न खुुला चुनौती दिन्छु । सँगसँगै उनलाई यो पनि सार्वजनिक गर्न चुनौती दिन्छु सिलौटी टाइम्स के भएर बन्द भयो ? सिलौटी टाइम्सले बन्द हुनुपूर्व के कस्तो समाचार छापेको थियो ? के आँट छ उनीसित सत्य बोल्ने ? आखिर अर्को वर्षको प्रेस काउन्सिल नेपालको वार्षिक प्रतिवेदनमा त भएको के हो आइ नै हाल्छ । अहिल्यै जान्न इच्छा भए प्रेस काउन्सिल जनताको करबाट चलेको संस्था हो जोसुकैले सूचनाको हकको प्रयोग गरी भएको के हो बुझ्न सकिहालिन्छ । झूठको खेती कति दिन चल्छ ? हिजो मात्र पनि मैले सिलौटी टाइम्स बन्द गराउने धम्की दिएको अर्को भ्रम छरेछन् । म त मेरो इमेल सार्वजनिक गर्न तयार छु । धम्की दिएको कतै प्रमाणित भए परेको व्यहोर्न तम्तयार छु । तर हिजो मात्र तपाईले प्रेस काउन्सिल नेपालमा दर्ता नम्बर ७४८ को उजुरीमा वीनेपाली डटकम तत्काल बन्द गराउन माग गर्नुभएको उजुरीको बारेमा सर्वसाधारणलाई किन जानकारी नगराउनु भएको ?

७. पत्रकारितामा वा सामाजिक जीवनमा मैले जे गरेको छु, जे बोलेको छु, जे लेखेको छु तथ्यमा रहेर बोलेको छु । सधैँ, सबै ठीक गरेको छु भन्ने मेरो कहिल्यै दाबी छैन । अन्जानमा गल्ती कमजोरी हुन पुगेका रहेछन् भने आत्मालोचना गर्न मलाई कुनै असजिलो लाग्दैन । मेरो पेशा के हो, मेरो सीमा के हो, जिम्मेवारी के हो पढेर, जानेर, बुझेरै म यो पेशामा आएको हुँ । दुनियाँको जुनसुकै अदालतमा जँचिन म तयार छु । आवश्यक परे सामाजिक सञ्जालमै पनि प्रमाणसहित पेश हुन राजी छु । खुशी लिम्बुबाट जेल हाल्ने धम्की खेप्ने बेलायतमा न म पहिलो व्यक्ति हुँ न म अन्तिम नै ।

८. उनले मलाई सत्कर्ममा लाग्न अर्ती दिएछन् । मेरो पाँचवटा दायित्व पनि बोध गराएछन् । व्यक्तिगत रिसइवी नसाँध्न अनुरोध गरेछन् । त्यसका लागि उनलाई धन्यवाद दिन्छु । तर उनलाई चाहिँ कसले अर्ती दिने ? कसले दायित्वबोध गराइदिने ? कि उनी चाहिँ बत्तीस लक्षण भएका व्यक्ति हुन् ? पत्रकारिता स्वनियमनमा आधारित पेशा हो । त्यसैले म न उनलाई अर्ती दिन सक्छु न दायित्वबोध गराउन सक्छु ? सक्छु त मात्र एउटा विनम्र अनुरोध छ यदि साँच्चिकै पत्रकारिता गर्ने हो भने यसका मूल्यमान्यता, आचारसंहिताको पालना गर्नुहोला । भन्नुहुन्छ भने पत्रकारिता आचारसंहिताको पुस्तक म आफैँ उपलब्ध गराउँला । मिडियामा प्रकाशित समाचारबाट उत्पन्न विषयको समाधानको बाटो के हो ? पत्रकारितामा वर्षौं बिताएको बताउने तपाईलाई पक्कै थाहा होला । यदि त्यो बाटो जान छोडेर, विषयान्तर गरेर, सामाजिक सञ्जालमै भएभरका मनको विकार हुँडलेर डुक्रिने हो भने त्यो हाँक पनि मेरो लागि मञ्जुर छ । अस्तु ।

फेसबुकबाट साभार

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!