चिम्खोले काइँला
बेलायत माघ ३ । म्याग्दी जिल्ला, रघुगंगा गाउँपालिका ७ चिम्खोला हाल बेलायत निवासी, समाजसेवी तथा २/२ गोर्खा राइफल्सको नेपाल कप फूटबल टिमका एक कुशल गोलरक्षक डेकबहादुर पुनको अल्पायुमा निधन भएको छ । उनको निधन शुक्रबार १५ जनवरी २०२१ दिन बेलायतको डोनकास्टरमा भएको हो । उनी केही समययता कलेजो र मृगौला बिरामी थिए ।
उनको जन्म मलेशियाको कुलाङ्गमा पिता क्याप्टेन पहबहादुर पुन र माता ललिसरा पुर्जा पुनको कोखमा भएको थियो ।उनका पिता क्याप्टेन पहबहादुर पुनको जागिरको सिलसिलामा उनको बाल्यकाल मलेसिया, सिंगापुर, हंगकंग र नेपालमा बितेको थियो ।
डेकबहादुर पुन १६ वर्षको कलिलो उमेरमा उनका पिताको पाइलाहरु पछ्याउँदै सन् १९७७ मा तत्कालीन पक्लिहवास्थित ब्रिटिस क्याम्पमा लाहुरे भएका थिए । उनले रिक्रुट ट्रेनिङ्ग डिपोट ब्रिगेड अफ गोर्खास मलाया लाइन्स हंगकंगमा आधारभूत तालिम लिएका थिए । आधारभूत तालिम प्राप्तपछि उनी उनका पिताको पुरानो पल्टन २/२ गोर्खा राइफल्समा समाबेश भएका थिए । उनले यस २/२ गोर्खा राइफल्समा १५ वर्षसम्म कार्यरत रहँदा अधिकांक्ष समय नेपाल कपको फूटबल टिमको एक कुशल गोल रक्षकको खेलाडीको रुपमा परिचित थिए । पल्टनबाट अवकाश प्राप्तपछि लामो समयसम्म उनि गोर्खा रिजर्ब युनिट ब्रुनाइमा कार्यरत थिए । रिजर्ब युनिट ब्रुनाइको अवधि समाप्त भएपछि केही वर्ष नेपालमै बिश्राम लिएका थिए । भूतपूर्बक गोर्खाजहरुले बेलायतमा बस्न पाउने अधिकार प्राप्तपछि उनी बेलायतको डोनकास्टरमा बस्दै आएका थिए ।
स्वर्गीय डेकबहादुर पुन सहयोगी, मिलनसार तथा समाजसेवी व्यक्तित्व थिए । उनले साथीभाई, बृद्धावृद्ध, बालबालिकालगायत सम्पूर्ण इस्टमित्रलाई अत्यन्तै माया गर्दथे । उनले चिम्खोला गाउँको खेलकुद क्षेत्रमा धेरै सहयोग पुर्याएका थिए भने आफ्ना स्वर्गीय पिता क्याप्टेन पहबहादुर पुनले चिम्खोला गाउँमा निर्माण गरेका मण्डली बज्यैको थान, सिद्ध बहरा थानलाई निरन्तर रुपमा मर्मतसम्भार गर्नुको साथै सिद्ध बहरा थानमा बिधुत सेवा पनि पुर्याएका थिए ।
स्वर्गीय डेक पुनले चिम्खोला गाउँकै अमर निम्न माध्यमिक विद्यालयका शिक्षिका बीना तिलिजासँग सन् १९८० मा बिबाह बन्धनमा बाँधिएका थिए । पुन दम्पतीका तिन सन्तानहरु छन् । छोरीहरु रीता पुन, सुष्मा पुन र छोरा युवराज पुन बेलायतमै कार्यरत छन् । स्वर्गीय डेक पुनको खेलकुदमा विशेष रुची थियो । उनले डोरी तान्ने, ठेलो फ्याक्ने र फुटबलमा विशेष रुची थियो। स्वर्गीय डेक पुनको मृत आत्माको हार्दिक श्रद्धान्जली तथा चिर शान्तिको कामना गर्दै यस दुखद् घडीमा शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्न चाहन्छु ।