लण्डन – नेपाल तथा आयरल्याण्डका सार्वभौम संसदहरुबीच संस्थागत सम्बन्ध स्थापना गर्ने एवं दुवै मुलुकका सम्मानित संसदका माननीय सदस्यज्यूहरुबीच भ्रमण, अनुभव तथा विचारको आदानप्रदान गर्ने उद्देश्यले गणतन्त्र आयरल्याण्डको संसदमा सन् २०१८ मा आयरल्याण्ड- नेपाल संसदीय मैत्री समूह(Ireland -Nepal Parliamentary Friendship Group) स्थापना भएको थियो ।
आयरल्यान्डमा गत वर्ष फेब्रुअरीमा भएको निर्वाचनपश्चात् पुनर्गठित संसदमा सीन क्रावेको संयोजकत्वमा आयरल्याण्ड- नेपाल संसदीय मैत्री समूहको पुनर्गठन भएको छ । यस संसदीय मैत्री समूहको अन्य सहस्यहरुमा वर्तमान सरकारका Housing, Local Government and Heritage मन्त्री दाराग ओ ब्रायन, जेनिफर मुरनान ओ अनर, इभाना बेसिक तथा सिरी किर्नी रहनुभएको छ। संयुक्त अधिराज्य तथा आयरल्याण्डका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी तथा आयरल्याण्डका प्रतिनिधि सभाका सभामुख सीन ओ फर्गालीको पहलमा यस संसदीय मैत्री समूहको पूनर्गठन भएको हो ।
आयरल्याण्ड र नेपालबीच १९ अगष्ट 1999 मा औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएदेखि सौहार्द एवं मैत्रीपूर्ण सम्बन्ध रही आएको छ। यसअघि आयरल्याण्डमा आयरल्याण्ड-नेपाल मैत्री समाज एवं आयरल्याण्ड-नेपाल च्याम्बर अफ कमर्श समेतको स्थापना भइसकेको छ।