ओलीको कदमविरुद्ध नेपालमा आम हड्ताल, यस्तो छ प्रभाव

SHARE:

काठमाडौं माघ २२ । प्रतिनिधिसभा विघटन र संवैधानिक निकायमा नियम मिचेर गरिएको नियुक्तिको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले बिहीबार मुलुकभर आमहड्ताल आह्वान गरेको छ ।

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक र अलोकतान्त्रिक रुपमा प्रतिनिधिसभा विघटन र बुधबार संवैधानिक निकायमा ३२ जना पदाधिकारी बिना संसदीय सुनुवाइ नियुक्ति गरेको विरोधमा नेकपाले आम हड्ताल आयोजना गरेको हो । संसद् विघटनको विरोधमा आन्दोलनरत नेकपाले बुधबारको ओलीको स्वेच्छाचारी कदमपछि सडक संघर्षलाई चर्काएको हो ।

हड्तालका कारण बिहानदेखि सवारी साधन चलेका छैनन् भने व्यापार व्यवसाय सञ्‍चालन हुन सकेको छैन । नेपाल प्रहरीका अनुसार देशभर सवारी सञ्चालन साविकभन्दा न्यून रहेको छ । प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरका अनुसार ठाउँठाउँमा बन्दकर्ता निस्किएका र अहिलेसम्म उपत्यकामा मात्रै ८० भन्दा बढी पक्राउ परिसकेका छन् ।

पक्राउ पर्नेमा उक्त पार्टीका स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य, हितमान शाक्य, नेत्री अमृता थापा मगरलगायत रहेका छन् । प्रहरीका अनुसार बिहान केही कम गाडी चलेका भए पनि विस्तारै बढ्ने क्रममा रहेको छ । बिहानै काठमाडौँको सामाखुशीमा बन्दकर्ताले एउटा ट्याक्सीमा आगजनी गरेको बताउँदै प्रहरी वरिष्ठ उपरीक्षक कुँवरले अन्य अप्रिय घटना अहिलेसम्म नभएको बताए ।

गृहमन्त्रालयले पूर्ववत्रुपमा निर्धक्क भएर यातायात व्यवसाय, उद्योगधन्दा तथा पेशा व्यवसाय सञ्चालन गर्न आग्रह गरेको छ । दैनिकरुपमा सञ्चालित उद्योग, पेशा, व्यवसाय सञ्चालनमा कुनै बाधा अवरोध पुग्न नदिने गरी सुरक्षा निकायबाट आवश्यक सुरक्षा व्यवस्था मिलाइएको मन्त्रालयले बुधबार विज्ञप्तिमार्फत जनाइसकेको छ ।

मन्त्रालयले नेपालको संविधान र प्रचलित कानूनविपरीत शान्ति सुरक्षामा खलल पुग्ने, सार्वजनिक तथा निजी सम्पत्तिको तोडफोड, आगजनी, सर्वसाधारण नागरिकले प्रयोग गर्ने यातायात सञ्चालनमा अवरोधलगायत ध्वांसात्मक एवं अवाञ्छित गतिविधि नगर्न सम्बद्ध पक्षसँग अनुरोध गरेको छ ।

शान्ति सुरक्षामा खलल पुग्ने गरी तोडफोड, आगजनी र जबर्जस्तीलगायतका अवाञ्छित गतिविधि गरेको पाइएमा संलग्न हुनेउपर कानूनी कारवाही गरिने मन्त्रालयले चेतावनी दिएको छ । सरकारले संसदीय सुनुवाइबिनै संवैधानिक निकायमा नियुक्ति गरेको भन्दै उक्त पार्टीले त्यसको विरोधमा बन्द आह्वान गरेको हो ।

सामाखुशीमा ट्याक्सीमा आगजनी
सामाखुशीमा बन्दको अवज्ञा गरी गुडिरहेको ट्याक्सीमा अज्ञात समूहले आगजानी गरेको छ । काठमाडौँ महानगरपालिका–२६ आत्मज्ञानस्थित सडकमा बिहीबार बिहान ६:३० बजे प्रदेश ३–०१–००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजानी गर्दा ट्याक्सी जलेर नष्ट भएको छ ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख प्रहरी नायब उपरीक्षक रोशन खड्काले बिहान मोटरसाइकलमा आएका अज्ञात समूहले ट्याक्सी आगजानी गरेको जानकारी दिए । ट्याक्सी आगजानी गर्ने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ । प्रदर्शनकारीले ठाउँठाउँमा सवारीसाधनमा तोडफोडसमेत गरेका छन् ।

सरकारले बुधबार संसदीय सुनुवाइबिनै संवैधानिक निकायका प्रमुख तथा सदस्यको शपथ खुवाएसँगै बुधबारै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले यसको विरोध गर्दै आजलाई आमहडतालको घोषणा गरेका थिए ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!