एउटा लाहुरेको अधुरो सपना र मेरो गाउँको स्कुलको कथा !

SHARE:

वीरप्रसाद घर्तीमगर

नेपालमा राणा शासनको अन्त्य भएसँगै स्थापना भएको मेरो गाउँको स्कुल संभवत त्यो क्षेत्रकै सबैभन्दा पहिलो स्कुल हुनु पर्दछ । तर करिब ७० वर्ष अगाडि स्थापना भए पनि यस स्कुलले भने जस्तो प्रगति र उपलब्धि भने हाँसिल गर्न सकेन जुन आफैमा एउटा बिडम्बना हो । यसको स्थापना र त्यसपछिका दिनहरुमा यस स्कुलले भोगेका कथाव्यथा पनि आफ्नै प्रकारको र बडो रोचक छ । यसैको बारेमा मलाई केही लेख्न मन लागेकोले यो लेख लेख्दैछु र यसबाट केही कुरा जान्न अनि बुझ्न सकिन्छ भन्ने मलाई लाग्दछ ।

मेरो गाउँको नाम लुगुम (लुकुम) हो र यो गाउँ पूर्वी रुकुमको भूमे गाउँपालिका अन्तर्गत वडा नम्बर १ मा पर्दछ । यो एउटा मगर बाहुल्य भएको गाउँ हो र करिब ५०० घरधुरी रहेको यस गाउँमा मगरहरुको संख्या करिब ८० प्रतिशत छ भने बाँकी २० प्रतिशतमा दलित र गुरुङहरु पर्दछन् । यहाँको परम्परागत पेशा भनेको भेडापालन भए तापनि बढ्दो आधुनिकीकरण र वैदेशिक रोजगारीका कारणले यो पेशा अहिले लगभग हराइसकेको छ । यस्तो विकट र अशिक्षित गाउँमा २००८ सालतिर नै स्कुल खोलिएको कुरा सुन्दा सायद सबैलाई एक प्रकारको आश्चर्य पनि लाग्ला जुन अस्वाभाविक पनि होइन । किनभने त्यस जमानामा नेपालका सीमित क्षेत्रमा मात्रै स्कुलहरु खुलेका थिए । त्यस्तो जमानामा पनि यो विकट ठाउँमा विद्यालय खुलेको सुन्दा सायद सबैलाई यो गाउँका मानिसहरु निकै दुरदर्शी र शिक्षाप्रेमी रहेछन् भन्ने लाग्ला तर कुरो त्यस्तो होइन, किनकि त्यो समयमा यो विकट गाउँका अशिक्षित गाउँलेहरुलाई शिक्षाको स समेत पनि थाहा थिएन । त्यसो भए यस्तो गाउँमा त्यो समयमा कसरी स्कुल खोलियो त ? भनेर एक प्रकारको खुल्दुली लाग्ला, हो त्यसैका बारेमा म केही लेख्न चाहन्छु जुन एकदमै रोचक पनि छ ।

नेपालमा राणा शासन चलिरहेको समयमा लुगुम गाउँका एक जना पुनाराम पुन मगर भन्ने युवा भारतीय सेनामा भर्ती हुन पुग्छन् । राम्रो खुबी र क्षमतावान भएकाले ती युवा पल्टनमा सुवेदारसम्म हुन्छन् । आफ्नो सैन्य सेवाको समयमा उनले भारतको विभिन्न ठाउँमा घुम्ने अवसर पनि पाएछन् । तिक्ष्ण र दूरदर्शी स्वभावका भएकाले त्यस अवसरमा उनले शिक्षाको महत्वलाई राम्रोसंग बुझेछन् । सुबेदार पेन्सनमा भारतीय सेनाबाट अवकाश पाएपछि उनी सहरतिर नबसी गाउँमै फर्केछन् । त्यो समयमा अहिलेको पूर्वी रुकुम र साबिकको रुकुम जिल्ला भन्ने थिएन । यो क्षेत्र त्यसबेला सल्यान अड्डाअन्तर्गत पर्दथ्यो र त्यसबेला छेउछाउका कुनै पनि गाउँमा स्कुल थिएन रे । पल्टनमा छँदा शिक्षाको महत्व बुझेका ती लाहुरेले गाउँका केटाकेटीहरु शिक्षित हुन सकुन् भनेर २००८ सालतिर गाउँमा एउटा स्कुल खोलेछन् । तर उनले गरेको यो दुरदर्शी काम त्यसबेलाका अशिक्षित गाउँलेहरुलाई भने मन परेनछ ।

कारण शिक्षाको महत्व नबुझेका त्यसबेलाका मानिसहरुलाई खेतीपाती र गाई बस्तु हेरे सम्पत्ति बढ्ने र फाइदा हुने भन्ने लाग्दथ्यो भने पढेर केटाकेटी मात्रै बिग्रने भन्ने लाग्दथ्यो। त्यसैले स्कुल खोलेर यो लाहुरेले गाउँका केटाकेटी भाँड्ने भयो भनेर उनीसंग रिस गर्नेहरु पनि निस्कन थालेछन् र बिस्तारै गाउँमा उनका शत्रुहरु पनि बढ्न थालेछन् । त्यसै स्कुलको कुरा लिएर एकदिन गाउँका केही व्यक्तिहरुले “खेती किसान र बस्तुभाउ हेरे पो खान पाइन्छ पढेर के पाइन्छ ? गाउँका केटाकेटी जति स्कुल गएर गाईबस्तु कसले हेर्ने ? आइ गइस तँ बडो गाउँका केटाकेटीलाई भाँड्ने” भनेर उनलाई मरणासन्न हुने गरी कुटपिट गरेछन् । जसको कारणले उनी सख्त घाइते भएपछि उनको परिवारले उनलाई २/३ पटक इंडिया लगेर भारतीय सैनिक अस्पतालमा उपचार समेत गरेछन् । उनले त्यसरी कुटाइ खाएपछि केही समयका लागि विद्यालय पनि बन्द भएछ र पछि केही सन्चो भएपछि उनले सल्यान अड्डामा गएर विद्यालय बन्द र कुटपिट बिरुद्ध मुद्दा हालेछन् । अदालतबाट फैसला पाएर मुद्दा जितेपछि उनले फेरि गाउँमा स्कुल संचालन गरेछन् । जसमा लुगुम गाउँका मात्रै नभएर छिमेकी गाउँका बिद्यार्थीहरु पनि पढ्नको लागि आएका थिए रे । तर त्यही गम्भीर कुटपिटबाट पर्न गएको आन्तरिक चोटको कारणले उनी धेरै वर्ष भने बाँच्न सकेनछन् र उनको मृत्युपश्चात् उनले खोलेको स्कुल पनि बन्द हुन पुगेछ ।

एउटा दुरदर्शी लाहुरेले खोलेको स्कुल अन्तत: त्यसरी बन्द हुन पुगेछ । सुबेदार पुनाराम पुन मगरले खोलेको त्यो स्कुल बन्द भएको करिब १०/१२ वर्षको अन्तराल पछि २०२२ सालमा मात्रै गाउँका भद्र भलादमीहरुले गाउँमा फेरी स्कुल खोल्ने निर्णय गरेछन् जुन बेलासम्म पनि छेउछाउँका गाउँहरुमा स्कुल खुलेको थिएन । तर त्यति पहिले खोलिएको स्कुल भए तापनि गाउँको स्कुलले भने सही व्यवस्थापनको अभावमा खासै उन्नति र प्रगति गर्न सकेन । जबकि त्यसको तुलनामा पछि खुलेका विद्यालयहरुले धेरै प्रगति गरिसकेका छन् । जुन एउटा दुख र बिडम्बनाको कुरो हो ।

त्यसैले कहिलेकाहीं सोच्ने गर्दछु कि यदि ति सुबेदार बुढोले भारतीय सेनामा कार्यरत हुँदा बुझेको शिक्षाको महत्वलाई बुझेर त्यो बेलामा उनले खोलेको स्कुललाई गाउँलेले त्यसरी बन्द हुन नदिएको भए हामीभन्दा अगाडिका पुस्ता अर्थात् मेरा बुवाको पुस्ताले पनि शिक्षाको किरण देख्न पाउने थिए । २/४ अक्षर चिने पछि लाटो देशमा गाँडो तन्नेरी हुन पाउने त्यो जमानामा हाम्रो गाउँका मानिसहरुले पनि कति अवसर पाउने थिए होलान्, जसको प्रत्यक्ष प्रभाव र फाइदा त्यस पछिका हाम्रा पुस्ताले पनि अनुभूति गर्न पाउने थिए होलान् साथै त्यहीअनुसार लुगुम गाउँ र लुगुम गाउँका मानिसहरुको हैसियत पनि आज धेरै माथि हुन्थ्यो होला भन्ने लाग्दछ ।

त्यसकारण मेरो यस लेखको निचोड के हो भने कतिपयले हामीलाई पढ्न दिइएन, हामीलाई शिक्षाबाट बन्चित गराइयो भनेर अरुमाथि आरोप लगाउने पनि गर्दछौ। हो राज्यस्तरबाट भने जस्तो कदमहरू चालिएनन् होला त्यो बेग्लै समिक्षाको पाटो होला किनकि त्यो जमाना अहिलेको जमाना जस्तो जमाना पनि थिएन । तर मेरो गाउँको यस कथाले के बुझाउँदछ भने त्यो समयमा शिक्षाको महत्व के हो भन्ने चेतनाको बिकास नभएकोले गर्दा पनि हामीभन्दा पहिलेका पुस्ताले पढाई तिर त्यति चासो र रुचि नगरेको भन्ने बुझिन्छ भन्ने मेरो बुझाई हो । जुन असत्य पनि होइन किनभने मेरो बुवाले दाइ र मलाई स्कुल पढ्नको लागि गाउँबाट हिडेर ४/५ दिन लाग्ने दाङ पठाउनु हुँदा गाउँका कतिपय मानिसहरुले “यो के नहुने काम गरेको, बस्तुभाउ हेरे पो सम्पत्ति बढ्ला, पढेर के पाइन्छ ?” भनेर मेरो बुवा आमालाई भन्ने गरेको सानोमा मेरै कानले कति पटक नसुनेको होइन ।

अहिले सोच्छु यदि मेरो बुवाले त्यो बेलामा हामीलाई स्कुल पढ्न त्यति टाडा पठाउने निर्णय नगर्नु भएको भए आज म सायद गाउँकै भीर पाखाहरुसंग पौठाजोरी खेलिरहेको हुन्थे होला । धन्य ती सुबेदार बुढा जसले शिक्षाको महत्वलाई बुझेर गाउँलाई नै शिक्षित गराउने सपना देख्नु भयो तर उल्टै गाउँलेहरूको हातबाट मरणासन्न हुने गरी कुटाई खाई अपमानित भएर असमयमै यस संसारबाट बिदा लिनु पर्यो । लुगुम गाँउका बासिन्दालार्इ शिक्षित बनाउने उनको त्यो सपना अधुरै रहे तापनि अहिले आएर बल्ल गाउँका मानिसहरुले ती लाहुरेको गाउँ प्रतिको समर्पण र योगदानलाई बुझ्न थालेका छन् र त्यही नै उनको मार्गदर्शन प्रतिको एउटा सम्मान साथै उनको सपनाको परिपूर्ति पनि हो भन्ने मलार्इ लाग्दछ ।

मेरो यो लेख पनि तिनै दुरदर्शी लाहुरेप्रति समर्पित छ जसले कसैले नछर्दै रुकुमजस्तो दुर्गम ठाउँको विकट गाउँमा शिक्षाको बीऊ छर्न खोजे, ज्ञानको किरण फैलाउन खोजे ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!