राष्ट्रिय सभाको बैठकले ‘राष्ट्रिय सभा नियमावली, २०७५ को परिमार्जित मस्यौदा प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा आइतबार बसेको राष्ट्रिय सभाको बैठकले उक्त नियमावली पारित गरेको हो ।
बैठकमा राष्ट्रियसभा नियमावली मस्यौदा समितिका सभापति परशुराम मेघी गुरुङले ‘राष्ट्रियसभा नियमावली, २०७५’ को परिमार्जित मस्यौदा प्रतिवेदन बैठकमा पेश गरेका थिए । बैठकमा दीनानाथ शर्मा, सुरेन्द्रराज पाण्डे, बृशेषचन्द्र लाल, प्रमिला कुमारी र डा विमला राई पौडेलले बैठकमा पेश भएको नियमावली एकताको सन्देशको भावसहित आएको बताएका थिए ।
राष्ट्रिय सभाको अर्को बैठक असार ३ गते दिनको ११ बजे बस्नेछ ।
विनियोजन विधेयकका शीर्षकमा छलफल स्थगित
प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक—२०७५ को विभिन्न मन्त्रालयका विविध शीर्षकको छलफल स्थगित भएको छ । छलफलका लागि आवश्यक तयारी पूरा नभएको भन्दै सभामुख कृष्णबहादुर महराले आजको बैठकका लागि राखिएको विषयसूचीमा रहेका सम्पूर्ण विषय हटाएका हुन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, खानेपानी मन्त्रालय, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र कानून न्याय तथा संसदीय मामिला मन्त्रालय अन्तर्गतका विभिन्न शीर्षकमा छलफल हुने कार्यसूची थियो । सो मन्त्रालयअन्तर्गत विभिन्न राजनीतिक दलका छजना सांसदले खर्च कटौतीका प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची थियो ।
त्यस्तै, बैठकको विशेष समयमा सांसदले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । प्रतिनिधिसभाको अर्को बैठक सोमबार ११:०० बजे बस्नेछ ।
राष्ट्रियसभा सदस्यको पदावधि निर्धारण गरिने
राष्ट्रियसभाका ५९ जना सदस्यको पदावधि निर्धारणका लागि असार ४ गते गोलाप्रथाको प्रयोग हुने भएको छ । राष्ट्रियसभा नियमावली आज पारित भएसँगै संघीय संसद् सचिवालयले दलहरुको परामर्शमा असार ४ गते गोलाप्रथाबाट सदस्यहरुको पदावधि २, ४ र ६ वर्ष निर्धारण गर्न लागिएको हो ।
संविधानअनुसार राष्ट्रियसभाका एक तिहाइ सदस्यको पदावधि दुई वर्ष, अर्को एक तिहाइको चार वर्ष र बाँकी एक तिहाइको छ वर्ष हुनेछ । राष्ट्रियसभामा प्रत्येक प्रदेशबाट आठजना र राष्ट्रपतिबाट मनोनीत तीनजना गरी ५९ जना सदस्य छन् । राष्ट्रियसभा नियमावलीअनुसार पदावधि निर्धारणका लागि खुला र महिलातर्फ क्लस्टर र प्रदेशअनुसार छुट्टाछुट्टै गोलाप्रथा हुनेछ भने दलित र अपांगता भएका वा अल्पसंख्यकको सातै प्रदेशबाट निर्वाचित सातजनाबीच एकैपटक गोला हानिनेछ । राष्ट्रपतिबाट मनोनीत तीनजनाको छुट्टै गोलाप्रथाबाट पदावधि निर्धारण गरिनेछ ।
गोलामा २, ४ र ६ वर्ष लेखेर नेपाली भाषाको वर्णानुक्रमअनुसार सदस्यहरुलाई गोला तान्न लगाइनेछ जसअनुसार दुईजनाको पदावधि दुई वर्ष, अर्को दुईजनाको चार वर्ष र दुईजनाको छ वर्ष हुनेछ । नियमावलीअनुसार दलित र अल्पसंख्यक सदस्यबीच गोलाप्रथा गराउँदा दुई, चार, छ र शून्य वर्ष लेखिएको गोला राखिनेछ । शून्य वर्ष गोला तान्ने एकजनाले दोस्रोपटक फेरि चार वा छ वर्ष लेखिएको गोलामध्ये एक झिक्नेछ ।
गोला प्रथाबाट खाली हुन आएको स्थानमा त्यसै क्लस्टरबाट पुनः निर्वाचन गरिनेछ । राष्ट्रियसभा निर्वाचनमा नगरपालिकाका प्रमुख र उपप्रमुख, गाउँपालिकाका प्रमुख र उपप्रमुख तथा प्रदेशसभाका सदस्यहरुले मतदान गर्नेछन् । स्थानीय तहका पदाधिकारीको मतभार ४८ र प्रदेशसभा सदस्यको मतभार ७८ हुन्छ ।
संघीय संसद्को संयुक्त बैठकको अध्यक्षता सभामुखले गर्ने प्रस्ताव
संघीय संसद्को संयुक्त बैठकको अध्यक्षता सभामुखले गर्ने प्रावधानसहितको ‘संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति ९सञ्चालन० नियमावली २०७५’ प्रस्ताव गरिएको छ ।
उक्त प्रस्तावसहितको नियमावली सोमबार अपराह्न १:०० बजेका लागि बोलाइएको संघीय संसद्को संयुक्त बैठकमा पेश गरिँदैछ । चवालीस दफा र ८ परिच्छेदसहितको प्रस्तावित नियमावलीमा संयुक्त बैठक, व्यवस्थापन कार्यविधि, जनमत संग्रह, संसदीय सुनुवाइ समिति, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको व्यवस्था गरिएको छ । नियमावलीमा अन्य संयुक्त समितिको कार्यविधि एवं अधिकारको व्यवस्था पनि गरिएको छ ।


