
चिम्खोले काईला – बेलायत
मगर संघ युकेका निवर्तमान अध्यक्ष नेम थापामगर बेलायती राजनीतिमा होमिएका छन् । थापामगर आगामी ६ मेमा बेलायतमा हुन गैरहेको स्थानीय निकायको निर्वाचनमा रसमुरबोरो काउन्सिल तथा नेपालीहरुको जनघनत्व रहेको मिनी नेपाल, चेरिउड वार्डको काउन्सिलर पदको उमेदवारमा उमेदवारी दिएर निर्वाचनमा होमिएका हुन् ।
नेम थापामगर रसमुरबोरो काउन्सिलका बहालवाला काउन्सिलर क्लाइब ग्यार्टनसँग प्रतिस्पर्धामा छन् । काउन्सिलर क्लाइब ग्यार्टनले लेबर पार्टीबाट उमेदवारी दिएका छन् भने थापामगरले कन्जरभेटिभ पार्टीबाट उमेदवारी दिएका छन् । यस वार्डबाट काउन्सिलर पदमा उमेदवारी दिने थापामगर पहिलो नेपाली बनेका छन् । थापामगर बेलायतका स्थानीय सरकार रसमुरबोरो काउन्सिलको निजामती कर्मचारीमा नियुक्ति पाउने पहिलो नेपाली पनि थिय । थापामगरलाई उक्त स्थानीय सरकारले कम्युनिटी सपोर्ट अफिसरमा नियुक्त गरेको थियो । उनलाई स्थानीय जनताहरुलाई मादक अर्थात् लागूपदार्थसम्बन्धी जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्नका लागि नियुक्त गरेको थियो ।
नेम थापामगरको जन्म बाबा जितबहादुर थापामगर र आमा सेतीमाया थापामगरको कोखबाट सन् १९६४ मा तनहूँ, ब्यास नगरपालिका– १४, केशवटार, नयाँगाउँमा भएको हो । उनले प्रारम्भिक शिक्षा अमरज्योति प्राथमिक विद्यालय केशवटारबाट ग्रहण गरेका थिए भने माध्यमिक विद्यालयको अध्ययन केशवटार माध्यामिक विद्यालयबाट पूरा गरेका थिए । सन् १९८३ मा अन्य जनजातिका छोराहरुजस्तै थापामगर छाती नाप्दै ब्रिटिश आर्मीमा आबद्ध भएका थिए । लामो समय ब्रिटिश आर्मीमा अनुभव बटुलेका थापामगर ब्रिटिश आर्मीबाट अवकाशपश्चात जागिरको शिलशिलामा बहराइन पुगेका थिए । उनी बहराइनमा रहँदा संसारकै ख्यातिप्राप्त डि यच एल कम्पनीको क्षेत्रीय अनुसन्धान विभागको म्यानेजर तथा रेक्रुटिङ अफिसरको रुपमा कार्यरत थिए । डीएचएल अनुशन्धान बिभागको क्षेत्रीय राष्ट्रहरुमा बहराइन, अफगानिस्तान, इरान, यमन , ओमान, युएई, साउदी अरेबिया, कतार, कुबेत, इराक, जोर्डन, सिरिया र लेबनान थिए । थापामगर बहराइनमा रहँदा नेपाली समाज बहराइनको अध्यक्ष पदमा समेत आसिन थिए ।
भूतपूर्व ब्रिटिश गोर्खाहरुले बेलायतमा बसोबास गर्ने अधिकार प्राप्त गरेपछि नेम थापामगर पनि अन्य गोर्खाहरुजस्तै हुनेखाने जागिर छोडेर सन् २००६ मा बेलायत भित्रेका थिए । बेलायत भित्रेपछि थापामगरले मगर संघ युकेको सचिव, उपाध्यक्ष र अध्यक्षको जिम्मेवारीको अनुभव बटुलिसकेका छन् भने उनी ग्रेटर रसमुर नेपाली कम्युनिटीका बहालवाला उपाध्यक्ष पनि हुन् । अङ्ग्रेजी भाषामा पोख्त थापामगरले एक उद्यमशील व्यवसायमा पनि विशेष अनुभवहरु बटुलिसकेका छन् । उनी बेलायती राजनीतिमा होमिनुको मुख्य उद्देश्य बेलायती जनता र बेलायतवासी नेपालीहरुसँग सहकार्य गर्दै बेलायतवासी नेपालीहरुको हक, अधिकार र सुविधा उपलब्ध गराउनु रहेको छ भने बेलायती र नेपाली जनतासँग सहकार्य र एकता गरी बेलायत र नेपाललाई जोड्ने एउटा पुल निर्माण गर्ने योजना रहेको छ ।


