नेपालका आदिवासी जनजातिहरुमध्येमा पर्ने गुरुङ समुदाय आफ्नो भाषा, धर्म, कला, संस्कृति र भेषभुषाका हिसाबले धनी मानिन्छ । परम्परागत रुपमा चल्दै आएका त्यस्ता अमूल्य निधिहरु लोप हुने र संरक्षणको चेतना जाग्ने क्रमले बेला बखत प्राथमिकता पाउँदै आएका छन् । समयको कुनै कालखण्डमा चेतनाको अभावका कारण तमु अर्थात् गुरुङ समुदायका भाषा, धर्म, संस्कृतिजस्ता निधिहरु लोप हुने अवस्थामा पुगेका थिए । तर पछिल्लो समय तमु समुदायमा चेतनाको तरंग उल्लेखनीय रुपमा फष्टाएको मान्न सकिन्छ । यसैको फलस्वरुप, आफ्नो भाषा, धर्म, संस्कार, संस्कृति, भेषभुषा लगायतका निधिहरुको संरक्षण गर्न कुनै कसर बाँकी राख्न हुँदैन भन्ने जागरण उर्लिएको अवस्थामा छ । मातृसत्तात्मक पारिवारिक ढाँचामा आधारित तमु अर्थात् गुरुङ समुदायको पारिवारिक अवस्था अहिले पनि मौलिक रुपमै अर्थात जस्ताको त्यस्तै छ। यसैको फलस्वरुप महिलाहरुको पूर्ण सम्मान गर्ने रीति उदाहरणीय मान्न सकिन्छ ।
मुलुकमा देखिएका विभिन्न राजनीतिक परिवर्तनका कारण संगठित रुपमा सामुदायिक सक्रियता बढाउनु पर्छ भन्ने मान्यताले यतिखेर तमू समुदायमा विशेष प्राथमिकता पाएको छ । यसैको फलस्वरुप तमू समुदायमा बिभिन्न समाज तथा संघ संस्थाको स्थापना र सञ्चालन गर्ने क्रमले पनि तीव्रता पाएको हो । विक्रम सम्वत २०४६ सालको जनआन्दोलनपछि प्राप्त राजनीतिक स्वतन्त्रता पछि मात्रै नेपालमा संघ, संस्थाहरुको स्थापना र सञ्चालनको क्रम सुरु भएको हो । त्यही मेसोमा जातीय तथा सामुदायिक संघ संस्थामा रहेर समाज सेवामा लाग्ने अनुहारहरुमा भूतपूर्व सैनिकहरुको उपस्थिति उल्लेख्य देखियो । सैनिक सेवाबाट अवकाश पाएपछि फुर्सदिला बनेका भूतपूर्व सैनिकहरुको सक्रियताका कारण पनि सामाजिक कार्यमा भूतपूर्व सैनिकहरुको उपस्थिति बढेको हो ।
जीवनका महत्वपूर्ण समय सैनिक सेवामा बिताएका भूतपूर्व सैनिकहरुलाई नेपाली राजनीतिमा बहुदल प्राप्तिपछिको नयाँ माहोलले सामाजिकीकरण हुन सहयोग पुगेको पनि मान्न सकिन्छ । अनुभवी र फुर्सदिला पात्रहरुका कारण नेपालमा जातीय तथा सामुदायिक गतिविधिले गति पाएजस्तै विदेशका बिभिन्न मुलुकमा पनि यसको प्रभाव सकारात्मक बनेको हो । यसको एउटा ज्वलन्त उदाहरण हो, तमु समाज यूके । विदेशी भूमिसम्मको पहुँचलाई बेलायती सैन्य सेवामा आवद्ध हुने क्रमले तमु समुदायलाई सजिलो बनाइदिएको हो । मुलत: बेलायती सैन्यसेवामा आबद्ध, अवकाश प्राप्त र केही गैर सैनिक बेलायतवासी तमुबन्धुहरुको सामूहिक प्रयासबाट तमु समाज युकेको जन्म भएको हो । ३० सेप्टेम्बर २००७ मा तमु धिं युके लन्डन शाखाको रुपमा जन्मिएको यो संस्था अहिले बेलायतको च्यारिटी कमिशनमा दर्ता भएर तमु समाज युके बनेको छ ।
परिपक्व हुन थुप्रै घाम पानीको सामना गर्नु पर्छ भन्ने लोकोक्तिजस्तै तमु समाज युकेले पनि आफूलाई संस्थागत रुपमा परिपक्व बनाउने क्रममा थुप्रै आरोह अवरोहहरुको सामना गरिसकेको छ । खासगरी सन् २००४ मा भूतपूर्व गोर्खाहरुले बेलायतमा आवासीय अधिकार पाउन सुरु भएपश्चात् तमु समुदायका मानिसहरु गाउँ छाडेर बेलायत जानेक्रम बढ्यो । तमुहरुको बसाई बढ्दै जाँदा आवश्यकता र समस्याहरु पनि बढ्दै गए । बसाईको परिवेश फेरिन सक्छ । भूगोल फेरिन सक्छ । दृष्यहरु फेरिन सक्छन् तर जाति, भाषा, धर्म, संस्कार, संस्कृति कहिल्यै फेरिंदैन । यही ध्रुवसत्य तथ्य बेलायतमा बसाई सरेका तमु समुदायमा पनि देख्न सकिन्छ । बसाई बेलायतको भए पनि आफ्नो जाति, भाषा, धर्म, संस्कार, संस्कृति र चालचलन जस्ता विषयवस्तुले मौलिक आधारमै निरन्तरता पायो । जन्मदेखि मृत्युसम्मका संस्कारले गाउँ घरमा जस्तै बेलायतमा पनि स्थान पायो । बाक्लो हुँदै गएको तमु समुदायको बसाईका कारण उत्पन्न समस्याको समाधान खेज्ने क्रममा यी सबै विषयहरुको व्यवस्थापन हुन सकेको हो । खासगरी सामूहिकतामा विश्वास राख्ने तमु समुदायका सबै पक्षको व्यवस्थापनका लागि औपचारिक संस्थाको खाँचो पर्छ । यस्तै खाँचो, तमु धिं, लन्डन शाखा यूके जन्माउने त्यसबेलाका केही कर्मठ व्यक्तित्वहरुमा महसुस भयो । यसैको फलस्वरुप अहिले तमु समाज युकेको संस्थागत अस्तित्व हामी सबैमाझ कायम छ ।
समुदाय र संस्कृति भन्ने विषय नङ र मासु जस्तै एकआपसबाट छुट्टिन नसक्ने विषय बस्तु हुन् । यही सत्यमा व्यक्तिको पहिचान अडिएको हुन्छ । जन्मदेखि मृत्युसम्म गरिने संस्कारजन्य कार्यक्रमहरु मात्र हैन, बिभिन्न चाड पर्वका बेला पनि सामुहिकताको महत्व सिद्ध हुन्छ। तमु समाज युकेले पनि यस्तै सामुहिकताको सिद्यान्तलाई आत्मसाथ गर्दै आफ्ना गतिविधीहरु अनवरत रुपमा अगाडी बढाउँदै आएको छ। सन् २०१२ जुलाई ७ मा समपन्न संस्थाको बार्षिक साधारणसभाले गरेको निर्णयसंगै १० डिसेम्बर २०१२ मा तमु समाज युके बेलायतको च्यारिटी कमिसनमा दर्ता भएको हो। तमु धिं लण्डन शाखा युकेबाट तमु समाज युकेमा परिवर्तन भएको संस्था अहिले सामाजिक सेवामा पुर्ण समर्पित रहेको छ। तमु मात्र हैन, बेलायती भूमिमा बसोबास गर्ने अन्य जात जातिमा परेको दुख कष्टमा पनि तमु समाज युकेले सहयोगी हात फैलाउँदै आएको छ। ‘जननी जन्मभूमिश्च स्वर्गादपी गरियसी’ अर्थात जन्म दिने आमा र जन्मभूमी, स्वर्ग भन्दा पनि महान हुन्छ। यो भावनालाई तमु समाज युकेले आत्मसाथ गर्दै आएको छ। मातृभूमी नेपाललाई सेती बाढीले बगाएको बेला होस या भूकम्पले तहस नहस पारेको बेला नै किन नहोस, हरेक खाले प्राकृतिक बिपत्तीमा तमु समाज युकेले आवस्यकता अनुसारको सहयोगी भूमिका निर्वाह गर्दै आएको छ। २०७२ सालको बिनासकारि महाभुकम्पको समयमा यस समाजले लण्डनको सडक सडकमा आर्थिक संकलन गरेर गोर्खा, कास्की र लमजुङ जिल्लाका भुकम्प पिडितहरुलाई झन्डै १५ लाख रुपैयको राहात उपलब्ध गरेको थियो। यसैगरि भुकम्प पछिको पुनर निर्माणमा धाधिङ जिल्लामा १७ लाखको लागतमा बिध्यालय भवन निर्माण गरि सहयोग गरेको छ। यसरी बिगत दस बर्षको सेवा अबधिमा यस समाजले समग्रमा परोपकारको क्षेत्रमा लगभग एक करोड भन्दा बढि आर्थिक सहयोग गरि सकेको छ।
समाजले तमु ल्होछार, ट्होंटे पर्व, भाषा प्रशिक्षण कक्षा, रोजगारिका निम्ति बृत्ति बिकासका कक्षाहरु तथा बिबिध समसामायिक बिषयहरुमा अन्तरकृय कार्यक्रमहरु संचालन गर्दै आईरहेको छ।यसको अतिरिक्त तमु समाज युकेले विभिन्न आयमुलक च्यारिटी कार्यक्रमहरु पनि सञ्चालन गर्दै आईरहेको छ। श्रीपञ्चमीका दिन सुरु गरि बैशाख पूर्णिमाका दिन समापन गरिने घाँटु नृत्यले पनि तमु समुदायमा विशेष साँस्कृतिक महत्व राख्छ । यो सन्दर्भ पनि तमु समाज युकेको प्राथमिकतामा पर्दै आएको छ। जसको फलस्वरुप अनुकुल समयमा बाह्रमासे घाँटु नृत्यको प्रस्तुती र प्रर्दशनी समाजको सक्रियतामा गर्दै आएको छ। यस संस्थाले बिगतमा रारा काप फुटबल प्रतियोगिता, अन्तर समाज नेपाली लोक नृत्य प्रतियोगिता आयोजना गरेको छ।
समुदाय जहाँ बस्छ, त्यसले आफु अनुकुलको वातावरण आफै तयार पार्छ तर संयोजन र व्यवस्थापनको पाटो मिलाउन अति जरुरी हुन्छ। तमु समाज युकेले यस्तै खाले अभिभावकीय भूमिका पुरा गरेको छ। नेपालका गाउँ घरमा गुञ्जयमान हुने लोक गीत संगीतले बेलायती भूमीमा पनि प्राथमिकता पाउनु यहि अभिभावकीय भूमिकाको प्रतिफल हो। बेलायती भूमीका अलावा मातृभूमि नेपालका विभिन्न संघ संस्थासंगको सहकार्यमा पनि तमु समाज युकेको सक्रियता जारी छ। हरेक बर्षको पौष १५ मा मनाईने तमु ल्होछारका अवसरमा तमु धिं नेपालले गर्दै आएको सडक दौड प्रतियोगीतालाई आर्थिक रुपमा सघाउन पोखरामा एक लाख पचास हजार रुपैञको अक्षय कोष स्थापना गरेको छ। स्वदेसमा बेलाबखत हुने धार्मिक, साँस्कृति तथा सामाजिक कृयाकलापहरुमा समेत समाजले सहयोगी भूमिका निर्वाह गर्दै आएको छ। समाज सेवा लगायतका विभिन्न कल्याणकारी उद्देश्यसहित आफ्नै स्वतन्त्र छविका साथ स्थापना भएको भए पनि विभिन्न संघ संस्थाहरुसंगको संस्थागत सद्भावलाई सकारात्मक स्तरमा कायम राखि रहन तमु समाज युके हर सम्भव प्रयत्नरत रहेको छ।
सामुदायिक अभियानको नेतृत्व र पहल केही सक्रिय व्यक्तित्वहरुले लिने भए पनि पुरै समुदायको सहयोग र सदभाव बिना केही हुंदैन। यहि तथ्यलाई मनन् गर्दै तमु समाज युकेका सबै सदस्यहरु सक्रियतापूर्वक समाजका कार्यक्रमहरुमा सहभागी हुँदै आएको पाईन्छ। समाजको बिकासमा आमा समूह र युवा समूहको सकृयता र सहभगिताको महत्वपूर्ण भुमिका रहेको छ। समय र परिस्थितिको चाल अनुसार जन्मभूमी भन्दा टाढिनु परे पनि आफ्नो धर्म, संस्कार, संस्कृति, भाषा तथा आपसी भाईचारालाई सजिव बनाई राख्न सफल देखिएको छ तमु समाज युके र यसमा आवद्ध सबै सदस्यहरु। बेलायतमा बसोबास गर्ने तमु तथा नेपाली समुदाय बेलायती रहन सहनमा भिज्नु पर्ने बाध्यता छ। त्यो भन्दा अझै ठूलो बाध्यता हो, आफ्नो पनलाई जोगाई राख्नु। यो विषय निकै गम्भिर र कठिन पनि छ। यसको एक मात्र विकल्प भनेकै सामुहिक र सामुदायिक पहल हो। बेलायतमा नेपालीहरुले बेलायति जिवन पद्दतिमा अन्तर घुलन तथा समाहित हुनुको साथसाथै आफ्नो मौलिक नेपाली कला र संस्कृतीलाई सदा जोगाईराख्न र भाबि पुस्तामा यसको हस्तान्तरण गर्नु पर्ने महत्वपुर्ण जिम्मेवारि प्रत्येक संघ संस्थाको रहेको छ। यस कार्यमा तमु समाज युके निरन्तर रुपमा लागिरहेको छ।
सन २००७ स्थापना भई बेलायतको च्यारिटि कमिसनमा २०१२मा बैधानिक रुपमा दर्ता भएको गैर नाफामुलक च्यारिटेवल सामाजिक संस्था तमु समाज युकेले बेलायतवासी समस्त नेपाली र तमुहरुको हरेक दु:ख र सुखमा साथ दिंदै आएको छ। बिपत्तिका बेला अर्थिक अभावका कारण कठिनाई भोगिरहेका र कष्टकार जिवन बिताईरहेका स्वदेसका थुप्रै ब्यक्तिहरुलाई यस संस्थाले सकेको सहयोग गरेको छ। तमु समाज युकेले गत बर्ष दशौं बार्षिकउत्सव भब्यताका साथ मनायो। तमु समाज युकेको सामाजिक सकृयता र बिगत १० बर्षमा यसले हाँसिल गरेका उपलब्धिहरु गर्ब गर्न लायक छन्। यस समाजले आफ्नो भाषा, धर्म, संस्कार र संस्कृतीको जगेर्न गर्न तमुहरुको महान पर्व तमु ल्होछार लगायत नेपाली नयाँबर्ष तथा अन्य नेपाली चाडपर्वहरुमा तिज, बैषाख पुर्णिमा तथा बुद्ध जयन्ती र तिहारलाई ठुलो महत्व र भब्यताकासाथ मनाउदै आएको छ, जसले गर्दा प्रवासमा हाम्रा भावि पुस्तालाई आफ्नो मात्रृ भूमि एबं भाषा, संस्कार, संस्कृति र परंम्परा सधै स्नेह र श्रद्दाको आधार तथा प्रेरणाको स्रोत बन्न सकोस भन्ने तमु समाज युकेको चाहाना रहेको छ।
यस समाज आफ्नो नेपाली तथा तमु पहिचानको जगेर्न गर्दै स्वदेस तथा प्रवासमा बिभिन्न संस्कृतिक, सामाजिक तथा परोपकारि कार्यहरु गर्दै, संयुक्त अधिराज्यमा बेलायति रहन सहन र जिवन पद्दतिमा अन्तर घुलन तथा समाहित हुँदै, लण्डनको स्थानिय बेलायतिहरुको मान पनि जितेको छ। फलस्वरुप तमु समाज युकेले लण्डन बरो अफ ब्रेन्ट काउन्सिल बाट कम्युनिटि एसेट ट्रन्फर योजना अन्तर्गत एक समुदायिक भवन प्राप्त गर्न सफल भएका छ। सम्भवता स्थानिय सरकारबाट नेपाली समाजिक संस्थाले लण्डनमा यसरि सामुदायिक भवन प्राप्त गरेको यो पहिलो हो। लन्डनको अति महत्वपुर्ण स्थान वेम्बलि सडबरिमा अवस्थीत रहेको उक्त भवन लाई तमु समाज युकेले सुबिधा सम्पन्न रिनोभेसन निर्माण कार्य पुरा गरि तमु समाज युके नेपलीज कम्युनिटि सेन्टर नामाकरण सहित ब्रेन्ट काउन्सिल लिडरको बाहुलि बाट समुदघाटन गरेर पुर्ण रुपमा सामुदयिक प्रयोगमा ल्याएको छ। यसको अतिरिक्त तमु समाज युकेले लण्डनमा आफ्नै किसिमको नेपाली तथा तमु पहिचान बोकेको केहि सामाजिक संम्रचनाहरु होस भन्ने चाहान्छ र एक बहुउदेस्शिय तमु समाजिक भवन होस भन्ने पनि चाहान्छ। यसकारण तमु समाज युकेले बेलायतको राजधानी लण्डनमा आफ्नो एक सामाजिक भवन निर्माण गर्ने महत्वकांक्षी परियोजनामा केही वर्ष देखी निरन्तर लागिरहेको छ र यसको निम्ति समाजका सदस्यहरु तथा अन्य सहयोगी दाताहरुबाट एक लाख पाउण्ड भन्दा बढि आर्थिक संकलन गरि सकेको पनि छ।
संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङको नेतृत्वकालमा स्थापना भएको यो संस्थाले पूर्ब अध्यक्ष शिबशरण गुरुङको नेतृत्वकालमा बेलायति च्यरिटि कमिसनमा बिधिवत दर्ता भई निबर्तमान अध्यक्ष अर्जुन कुमार गुरुङको कार्यकालमा स्थानिय सरकारबाट सामाजिक भवन प्राप्तगरि संस्थाको दशौं बार्षिकउत्सव भव्यताकोसाथ मनाएको छ र यस बर्ष मई २०१८ देखि बर्तमान अध्यक्ष शिव चन्द्र गुरुङको नेतृत्वमा हर प्रकारका परोपकारि तथा सामाजिक कार्यहरु गर्न निरन्तर लागिरहेको छ। झण्डै पाँचसय आजीवन सदस्यहरु रहेको यस संस्थामा स्थापनाकाल देखि बर्तमान सम्म बिभिन्न चरणका कार्यसमितिका पदाधिकारिहरु, सल्लाहकारहरु, आमा समुहका पदाधिकारिहरु, युवा समुहका पदाधिकारिहरु र सम्पुर्ण सदस्यहरुले अ-आफ्नो क्षेत्रमा निस्वार्थ भावबाट समाजको सेवागरि उल्लेख्य योगदान पुराएको छ र सामाजिक सेवाको कार्यमा तमु समाज युके समूहिकरुपमा निरन्तर अघि बढिरहेको छ ।