गुरुङ रामप्रकाश ‘समथि� –
नेपालको राष्ट्रिय जनगणना २०६८ अनुसार सुनुवार जातिको जनसंख्या महिला २८ हजार ९ सय ५४ जना र पुरुष २६ हजार ७ सय ५८ जना गरी जम्मा ५५ हजार ७ सय १२ जना रहेका छन् । राष्ट्रिय जनगणना २०४८ अनुसार सुनुवार जातिको जनसंख्या महिला २० हजार ६ सय ६७ जना र पुरुष २० हजार २ सय ७६ जना गरी जम्मा ४० हजार ९ सय ४३ जना रहेका थिए । त्यस्तै राष्ट्रिय जनगणना २०५८ अनुसार सुनुवार जातिको जनसंख्या जम्मा ९५ हजार २ सय ५४ जना रहेको देखाइएको थियो । २०५८ सालको राष्ट्रिय जनगणना उल्लेख गरिएको जनसंख्या भन्दा २०६८ सालमा उल्लेख गरिएको जनसंख्यामा सुनुवार जातिको जनसंख्या ३९ हजार ५ सय ४२ जनाले घटेको देखिन्छ । यतिका धेरै जनसंख्या त नहराउनु पर्ने हो । ल दुई चार जनाले अर्को कुनै थर लेखाए होला अलग कुरा हो । तर यतिका धेरै चालिस हजारको हाराहारीमा जनसंख्याको घटबढ हुनुमा विशेष खोजी नै गर्नु पर्ला ।
किरात धर्म मान्ने सुनुवार जातिको मुख्य बसोबासोको रुपमा वल्लो किरात र तराईको सिन्धुली, रामेछाप र दोलखा जिल्ला हो भने पहाडी जिल्लामा ओखलढुंगाअन्तर्गत पर्ने सुनकोसी नदी उत्तरपूर्व सिमरौनगढ मानिन्छ । त्यहींबाट नेपालको विभिन्न ठाउँमा बसोबास गर्न थालेको देखिन्छ । दोलखा जिल्लाको हावा र ठूलो तापालगाउँ, रामेछाप जिल्लाको गोठगाउँ, हिमगंगा, साइपु, साँघुटार, बेतानी, भूजी, दुरागाउँ, गुप्तेश्वर, कुबुबास्थली र प्रिति गाउँहरु । सिन्धुली जिल्लाको अरुणठाकुर, कुकुरठाकुर, महादेवडाँडा, सोल्पाथाना र साङसाङ गाउँमा धेरै बसोबास क्षेत्र हो । ती जिल्ला र गाउँबाहेक नेपालको अधिकांश जिल्लाहरुमा धेर थोरको संख्यामा बसोबास रहेको पाइन्छ ।
अरु जातिमा जस्तो सुनुवार जातिमा फुपु र मामाको छोराछोरी बीचमा बिहे गर्ने चलन पाइन्न । उनीहरु आफ्नो थरभित्र बिहे गर्दैनन् । बिहे गर्दा बावु र आमातिरको चारपुस्ता केलाएर साइनो नलाग्ने बेग्ला–बेग्लै थरको बीचमा बिहे गर्ने गर्दछ । विशेषगरी आफ्नै जातिमा बिहे गर्नु पर्ने नियम भए तापनि कुनै व्यक्तिले मन परापर भएर अन्तरजातीय बिहे गरिहालेमा क्षमा मगाउने र भोज ख्वाउने चलन रहेको छ । यदि अटेर गरेर नियम पालना नगर्नेलाई जातिच्यूत गर्न समेत सुनुवार जातिको अगुवाहरु पछि पर्दैनन् । सुनुवार जातिको बिहेमा जाँडरक्सी र मासु ख्वाउने परम्परागत चलन हिजो पनि थियो । आज पनि त्यत्तिकै रुपमा रहेको पाइन्छ । यस्तै प्रयोग गराई कायम रहिरह्यो भने भोलिसम्म पनि रहिरहन्छ भन्न सकिन्छ ।
सुनुवार जाति किरातीभित्र परे तापनि धेरैजसो धार्मिक कार्यहरु वाहुन पुरोहितद्वारा सम्पन्न गर्ने गर्दथे । अहिले आफ्नै जातिको पुरोहितद्वारा जन्मदेखि मृत्युसम्मको संस्कारहरु सम्पन्न गर्दछन् । सुनुवार जातिमा लासलाई गाड्ने र जलाउने दुवै प्रक्रियाअनुसार दाहसंस्कार गर्ने चलन रहेको छ । धेरै जसो गाड्ने नै गर्दछ । यदि गाड्नु पर्ने अवस्था आएमा खोलाको किनार अथवा पहाडको सम्म परेको ठाउँहरु हेरी गाड्ने गर्दछ । सुनुवार जातिमा जन्मदेखि मृत्युसम्मको सम्पूर्ण धार्मिक संस्कारहरु आफ्नै जातिको पुरोहितद्वारा गराउने चलन रहेको छ । जसलाई नाःसो भन्दछन् ।
सन्दर्भ सामाग्री
१. लेखक रामप्रकाश समथिङ, जिल्ला विकास समितिको कार्यालय फिदिम, पाँचथर र नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् पाँचथरद्वारा प्रकाशित–पाँचथरका आदिवासी जनजातिहरु जेष्ठ–२०६६
२. लेखक प्राज्ञ इन्द्रबहादुर गुरुङ, काशीपरी गुरुङद्वारा प्रकाशित तमु (गुरुङ) सांस्कृतिक दिग्दर्शन–असोज २०६८
३. लेखकद्वय ताम्ला उक्याव र श्याम अधिकारी, श्री ५ को सरकार (हाल नेपाल सरकार) स्थानीय विकास मन्त्रालय राष्ट्रिय जनजाति विकास समिति काठमाडौंद्वारा प्रकाशित नेपालका जनजातिहरु वैशाख–२०५७
४.लेखक मधुसूदन पाण्डेय, पैरबी प्रकाशनद्वारा प्रकाशित नेपालका जनजातिहरु–२०६१
५ सम्पादक पवन चाम्लिङ ‘किरण’ निर्माण प्रकाशन गुम्पा घुर्पिसे, नाम्ची, दक्षिण सिक्किमद्वारा प्रकाशित वर्ष १९, अंक ३४—निर्माण संस्कृति विशेषाङ्क, अप्रिल– सन् १९९९
६ लेखक डा.हर्क गुरुङद्वारा लिखित नेपाल आदिबासी जनजाति महासंघद्वारा प्रकाशित–जनजाति सेरोफेरो मे—२००६
(अर्को अंकमा थारु जातिबारे लेख प्रकाशन गरिनेछ ।)