छिमेकी हुनुका नाताले धेरै कुरामा चीन र भारतस“ग नेपालले सहकार्य र समन्वय गर्नैपर्छ । तर भौगोलिक रुपमा ठूला मुलुक हुनुको नाताले गरिने हेपाहा प्रवृत्ति भने नेपाल र नेपालीका लागि भने सह्य हुनै सक्दैन । हरेक क्षेत्रमा भारतले एकतर्फी रुपमा गर्दै आएको व्यवहारमध्ये हवाई क्षेत्रमा पनि छ । अन्य क्षेत्रमा त उसले अब नसक्ने नै स्थिति भएपछि सहकार्य गर्दै अघि बढ्ने नीति लिएको छ । अहिलेसम्म पनि हवाई मार्गमा भारतको असहमतिले एउटै मात्र मार्ग प्रयोग गर्नुपर्ने बाध्यता अब हटेको छ । तर, पर्याप्त मार्ग प्रशस्त भने पक्कै पनि होइन ।
भारतीय आकाश भएर जहाज नेपाल भित्रन हालसम्म सिमराबाट मात्रै अनुमति छ । अनेकन कारण देखाउँदै भारतले नेपाल प्रवेशको अनुमति नदि“दा नेपालका लागि सिमराको विकल्प हुन सकेको थिएन तर भर्खरै नेपाल भारतका प्राविधिक टोलीबीच भएका छलफलबाट नया“ चार एयर रुट नेपालले पाउने विषयमा सैद्धान्तिक सहमतिले अब भने बाटो खुलेको छ । जुन १४ देखि जुन १६ सम्म नेपाल र भारतका प्राविधिक प्रतिनिधिहरुको छलफलले चार वटा एयर रुट दिन भारत सहमत भएको छ । हवाई रुटका सम्बन्धमा नेपाल नागरिक उड्डयन प्राधिकरण र भारतीय विमानपत्तन प्राधिकरणबीच सहमतिमा हस्ताक्षर भएको हो । दुवै देशका प्राविधिक प्रतिनिधिहरुको छलफलले विराटनगर र जनकपुरबाट हाइअल्टिच्यूटको एयर रुट ,नेपालगंज र महेन्द्रनगरलाई लो अल्टिच्यूटको रुट दिन भारत सहमत भएको छ ।
यो सम्झौता अनुसार विराटनगर र जनकपुरको लागि दुवै देशको सेफ्टी एशिसमेन्टको रिपोर्टको आधारमा सम्झौता कार्यान्वयन हुनेछ । त्यसको लागि भारत र नेपाल पक्षको सहमतिमा आइकाओबाट अनुमोदित हुनुपर्ने छ । आइकाओले अनुमोदित गरिसकेपछि एरोन्यूटीकल इन्फरमेसन पब्लिकेसन एआइपीमा प्रकाशित भएपछि मात्रै विमान नेपाल छिर्न पाउनेछन् । उता नेपालगञ्ज र महेन्द्रनगरको लागि लो अल्टिच्यूटका लागि नेपालको तर्फबाट सेफ्टी एशिसमेन्ट भारतलाई बुझाउने र भारतले अध्ययन गरेपछि कार्यान्वयनमा लैजान सकिनेछ । त्यसैगरी नेपालगंज र महेन्द्रनगरबाट प्रवेश गर्न हाइ अल्टिच्यूटका लागि भारतीय पक्षले सेफ्टी एशिसमेन्ट गरेपछि मात्रै प्रक्रियामा लगिने छ । नेपालगंज र महेन्द्रनगरबाट १५ हजारदेखि २४ हजार फूटको उचाईबाट विमान नेपाल भित्रन पाउने छन् । यसको अर्थ मध्यमखालका जहाज मात्रै आउन पाउने छन् । यसको लागि भारतीय पक्षको सेफ्टी एशिसमेन्टको आधारमा दुवै देशको सहमति अनुसार प्रक्रिया अगाड बढ्नेछ । दुवै देश सहमत भएपछि आइकाओले एआइपीमा सूचना प्रकाशित गर्नेछ । तबमात्र भारतीय आकास प्रयोग गरेर विमान नेपाल सहजै भित्रिने छन् ।
पछिल्लो सहमतिको एयर रुट सञ्चालनमा आउन नसके हाल निर्माणाधिन भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा विमान प्रवेश गराउन ठूलो लागत बढ्नेछ । भारतले सुरक्षाको कारण देखाउ“दै एयर रुटमा आनाकानी गर्दै आएको थियो । विगतका सरकारहरुले भारतका अगाडि आफ्ना कुरा राख्न सकेनन् अनि प्रक्रिया नै बढ्द सकेन । तर पछिल्लो पटक मोदी भ्रमणमा नेपाल सरकारले कुरा उठाएपछि भारत चार रुटमा सहमत भएको छ । आखिर जे जस्तो भएपनि एयर रुटका लागि भारत सहमत भएको छ । भारतले हवाई मार्गमा लगाएको सिन्डिकेट तोडिएको छ । यो नेपालका लागि सकारात्मक उपलव्धी हो । यस्ता सिन्डिकेटहरु सबै तोडिनुपर्छ, सरकारले हिम्मत गरोस् ।


