काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानसभाबाट नयाँ संविधान जारीपछि मुलुक आर्थिक समृद्धि र विकासको नयाँ युगमा प्रवेश गरेको बताएका छन् ।

हनुमान ढोका दरबार स्क्वायरस्थित जीर्णाद्वार सम्पन्न गद्दी बैठक भवनको उद्घाटनका क्रममा बुधबार उनले उक्त क्षेत्र नेपालको पौराणिक, ऐतिहासिक र सांस्कृतिक महत्वको भएको बताए । उनले विश्वसम्पदा सूचीको सो भवनको जीर्णोद्वारका लागि सहयोग गरेकामा यहाँस्थित सुंयुक्त राज्य अमेरिकाको राजदूतावासमार्फत अमेरिकी सरकारलाई आभार प्रकट गरे ।
विसं २०७२ को गोरखा भूकम्पले लाखौँ मानिस घरबारविहीन भएको र सयौँ सांस्कृतिक धरोहर सम्पदा क्षतविक्षत भएको स्मरण गर्दै उनले भने, “भूकम्पले मानवीय र भौतिक क्षति पुर्याएको अवस्थामा अमेरिकालगायत मित्र राष्ट्रहरुले गरेको सहयोग उल्लेखनीय छ, हामी भविष्यमा पनि यस्तो सहयोगको अपेक्षा गर्दछौँ ।”
प्रधानमन्त्री ओलीले भूकम्पपछिको पुनःनिर्माण अझ राम्रो बनाउन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै भन्नुभयो, “राजनीतिक संघर्षको युग सकेर हामी अब विकास र समृद्धिको यात्रामा छौँ ।” भूकम्प फेरि पनि आउन सक्ने भएकाले अबको पुनःनिर्माण थप गुणस्तरीय हुनुपर्ने उनको भनाइ थियो ।
अमेरिकी सरकारको सांस्कृतिक संरक्षणसम्बन्धी राजदूत कोष ९एएफसिपी०ले सात लाख अमेरिकी डलरको अनुदान प्रदान गरी मियामोटो ग्लोबल डिजास्टर रिलिफ तथा नेपाल सरकार पुरातत्व विभागसँगको साझेदारीमा भूकम्पबाट क्षतिग्रस्त गद्दी बैठकको प्रवलीकरण तथा पूर्ण जीर्णोद्धार गरिएको हो ।
कार्यक्रममा संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्रप्रसाद अधिकारीले पुरातात्विक सम्पदाको पुनःनिर्माण, सवलिकरण र जिर्णोद्वारका लागि सहयोग गर्ने सम्बन्धित निकायलाई धन्यवाद दिँदै यस्ता कार्यले सांस्कृतीक सम्पदाको संरक्षणका साथै पर्यटन क्षेत्रमा टेवा पुग्ने धारणा व्यक्त गरे ।
अमेरिकी दूतावासका कार्यवाहक राजदूत पिटर मालनाकले नेपाली तथा अमेरिकी सांस्कृतिक सम्पदाविद्हरूबीचको सहकार्यमार्फत गद्दी बैठकको जीर्णोद्धार तथा भूकम्पीय प्रवलीकरण गर्ने मौका जुरेको बताए ।
सन् २००१ देखि एएफसिपीले १२५ भन्दा धेरै मुलुकमा ८५० भन्दाबढी सांस्कृतिक संरक्षणसम्बन्धी परियोजनालाई सहयोग गरिसकेको अमेरिकी दूतावासले जनाएको छ । विगत दुई दशकमा एएफसिपीअन्तर्गत नेपालमा ३४ लाख अमेरिकी डलरभन्दा बढी लागतका २२ परियोजना सम्पन्न भइसकेका छन् ।


