काठमाडौं । प्रहरीले ६ किलो अवैध सुनसहित आइतबार काठमाडौंको थानकोटबाट एक जनालाई पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा बेलुका ७ बजे महानगरीय प्रहरी प्रभाग नागढुंगाको टोलीले ६ किलो सुनसहित एक जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी मोहनकुमार थापाले जानकारी दिए । पक्राउ पर्नेको नाम प्रहरीले सार्वजनिक गरेको छैन । नियमित चेकजाँचको क्रममा सुन भेटिएको प्रहरीले जनाएको छ । चीनको केरुङ नाकाबाट मोटरसाइकलमा ल्याउँदै गरेको सुन प्रहरीले फेला पारेको हो ।
प्रहरीले थानकोटबाटै शनिबार ३ किलोसुनसहित ५ जनालाई पक्राउ गरेको थियो ।
सुन तस्करीमा संलग्न पाँच जनालाई सार्वजनिक
महानगरीय प्रहरी परिसर काठमाडौँले सुन ओसारपसार कार्यमा संलग्न पाँच जनालाई आइतबार सार्वजनिक गरेको छ । रिसरले पत्रकार सम्मेलन गरी भारतीय नम्बर प्लेटको युके ०२४६८४ कारबाट शनिबार भारततर्फ सुन लैजाँदै गर्दा पक्राउ परेका पाँच जनालाई सार्वजनिक गरेको हो ।
सवारी चालक भारतीय नागरिक १९ वर्षीय दीपककुमार मौर्य, ४५ वर्षीय अशोक कुमार, २५ वर्षीया सन्जना साह, ५९ वर्षीय चन्द्रमोहन जोशी र कञ्चनपुरका २३ वर्षीय मनोज विकलाई प्रहरीले सार्वजनिक गरेको हो । परिसरका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक विश्वराज पोखरेलले कारको अगाडिको इन्जिनको माथि राखेको एयर फिल्टर बक्सभित्र तीनवटा बिस्कुट आकारको सुन लुकाएर भारत लैजाँदै गर्दा उनीहरुलाई पक्राउ गरिएको हो । सुरुमा सवारी चालक दीपककुमार र कञ्चनपुरका मनोजलाई पक्राउ गरिएको हो । उनीहरुको बयानको आधारमा अन्यलाई पक्राउ गरिएको हो ।
पोखरेलका अनुसार असार १४ गते अशोक, चन्द्रमोहन र सन्जना धनगढी विमानस्थलबाट काठमाडौँ आएका थिए । दीपक र मनोज भारतीय नम्बर प्लेटको कार चढेर काठमाडौँ आएर जमलस्थित ‘एलो प्यागोडा’ होटलमा बसेका थिए । उनीहरु सुन तस्करीको योजना बनाएर भारत लैजाँदै गर्दा पक्राउ परेका थिए । प्रहरीले उनीहरुको साथबाट कार र तीन किलोग्राम सुन बरामद गरेको छ ।
भन्सार ऐन, २०६४ को दफा ५७ ९१० ९ङ० अनुसार बिगोसहित एक वर्षदेखि तीन वर्षसम्म कैद हुने व्यवस्था छ । उनीहरुलाई आवश्यक कानूनी कारबाहीका लागि राजश्व अनुसन्धान विभाग पठाइने परिसरले जनाएको छ ।






