नेपाल वायुसेवा निगम स्थापना भएको पनि ६० वर्ष पुगिसकेको छ । नेपालको राष्ट्रिय ध्वजाबाहक एक मात्र निकाय भनेको नेवानि नै हो । यसले सेवा सुरु गरेको यतिका वर्षसम्म पनि उनीसँग मात्र सरकारी स्वामित्वको निगमसँग हवाई उडानको राष्ट्रिय जिम्मेवारी पनि छ । तर आन्तरिक तथा बाह्रय उडानको जिम्मा पाएको निगम राजनीतिक हस्तक्षेप र कमजोर व्यवस्थापनले निजी कम्पनीहरुसँग प्रतिस्पर्धा गर्न अझै सकिरहेको छैन । यो भने अत्यन्त दयनीय अवस्था नै हो ।
यात्रालाई सहजीकरण गर्न जुलाई १९५८ मा तत्कालीन शाही नेपाल बायुसेवा निगम (आरएनएसीको रूपमा स्थापना भएको हो । गणतन्त्र स्थापनासँगै नेपाल वायुसेवा निगम भनेर नामाकरण भयो । अन्तर्राष्ट्रिय क्षेत्रमा पाँच देशका सात गन्तब्यमा उडान भर्ने यो नेपालको पहिलो अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हो । पूर्ण सरकारी स्वामित्व रहेको यसको मुख्य आधार त्रिभुवन अन्तर्राष्ट्रिय हवाई अड्डा काठमाडौं हो । नेपाल बायुसेवा निगमको पहिलो विमान एक डगलस डीसी–३ डकोटा थियो । सन् १९७२ मा यसले आफ्नो पहिलो जेट विमान बोइङ ७२७एस प्रयोगमा ल्याएको थियो । सन् २०१५ मा निगमले फ्रान्सेली जहाज निर्माता कम्पनी एयरबससँग दुईवटा ए३२० जहाज खरिद गरेको थियो । साढे दुई दशकदेखि एउटा पनि जहाज किन्न नसकेको निगमलाई नयाँ जहाज आएपछि नयाँ गन्तव्यमा उडानका लागि सहज भएको थियो । स्थापना कालदेखि नै निरन्तर रुपमा आफ्ना सेवा प्रदान गर्दै आएको निगम बिभिन्न घटनाक्रमले गर्दा बिगतमा ठूलो क्षति व्यहोर्न बाध्य भयो । धमिजा काण्ड, चेज एअर काण्ड, चाइना साउथवेष्ट काण्ड, लाउडा एअर काण्ड, एयरबस काण्डले निगमको छवि नै धमिल्यो । पहिले निगमका बिमानले लन्डन र जर्मनको फर्यङक फर्टसम्म सिधै उडान भर्थे । अहिले त्यो इतिहासमा मात्र सीमित बनेको छ ।
निगमसँगै सेवा सुचारु गरेको थाइ एयरलाइन्सले अहिले सयभन्दा बढी गन्तब्यमा आफ्नो उडान भर्दै आएको छ । तर नेपाल सरकारको अभिभावकत्व रहेको नेपाल वायुसेवा निगमको भने सेवा गुणस्तर पहिलेका भन्दा खस्कँदै गएको छ । पछिल्लो समय सरकारको केही पहल अगाडि बढाएकै छ । ए३३० सिरिजको एअरबस कम्पनीको जहाज नेपाल आइपुगेको छ । २८० सिट क्षमताको पहिलो वाइडबडी जहाज नेपाल आइपुगेको हो । निगमको सेवा बिस्तार गर्न विमानहरुको कमी हुन नदिने दावी गरेका छन् संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले । उनले सरकारले जमानी बसेर पनि विमान खरिदका लागि आवश्यक बजेटको व्यवस्था गर्ने आश्वासन समेत दिएका छन् । यो आश्वासनले मात्र काम हुनेवाला छैन । आश्वासन पूरा गर्नका लागि सरकारको तत्परता अनिवार्य छ । फेरि पनि लण्डनको हेथ्रो एयरपोर्टमा नेपाली विमान सिधा उडान गर्नसक्ने हैसियतमा पुर्याउन जरुरी छ । त्यति मात्र होइन, चुस्त र दुरुस्त व्यवस्थापनले मात्र नेपालीको बसोबास रहेको देशहरुमा सिधा उडान भर्न सक्यो भने प्रशस्त व्यापार गर्न पनि सक्छ । त्यसैले समय सापेक्ष रुपमा विमान थप्ने र व्यवस्थापनलाई थप प्रभावकारी बनाउनेतर्फ लाग्नुपर्छ ।


