आकाश गुरुङ
पोखरा १९ मे २०२२ । तमु समुदायको पुरानो, अग्रणी सामाजिक संस्था तमुधिं नेपालले आफ्नो ३७ औं स्थापना दिवस मनाएको छ । विसं. २०४२ सालको जेठ ५ गते स्थापित तमुधिं नेपालले पोखरा ९ नयाँबजारस्थित तमुधिंमा शुभकामना आदानप्रदानसँगै तमुधिं नेपालको नवनिर्मित बैठक कक्षको उद्घाटन गर्दै स्थापना दिवस मनाएको हो ।
कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशसभा सदस्य मीना गुरुङले कार्यक्रम एवम् निर्वाचन क्षेत्र पूर्वाधार विकासअन्तर्गत गुरुङद्वारा कास्की क्षेत्र नं.२ ख को कार्यक्रममा समावेश तमुधिं नेपालको नवनिर्मित बैठक कक्षको उद्घाटन गरेका हुन् ।
कार्यक्रममा तमुधिं नेपालको स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै प्रमुख अतिथि गुरुङले तमुधिं नेपाल तमु समुदायको मात्रै नभई मानवहितकारी संस्था भएको बताइन् । सामुदायिक एकता, हित, तमु समुदायको मौलिकताको संरक्षण र विकाससँगै सामाजिक एवम् मानवीय हितकार्यको प्रशंसा गरिन् । उनले तमुधिं नेपालको संस्थापक अध्यक्ष कर्म तमुको योगदान र वर्तमान अध्यक्ष हुमबहादुर तमुको क्रियाशिलता अनुकरणीय रहेको भन्दै सीमित श्रोतबाट संस्थागत विकासका लागि सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरिन् भने आगामी दिनमा सक्दो सहयोग गर्ने बताइन् ।
कार्यक्रममा सल्लाहकार एवम संरक्षक सदस्य मेजर डिलबहादुर गुरुङ, संस्थाहरुको तर्फबाट ङ्योए तमुधिंका महासचिव काशीमाया गुरुङ, क्षेत्रीय समाजका अध्यक्षहरुको तर्फबाट अर्घौं तमु समाजका अध्यक्ष गोपालमान गुरुङ, साउथ इष्ट रिजनल तमुधिं युकेका पूर्वअध्यक्ष क्या.नारायनबहादुर गुरुङ एमभिओ, कोने घोताने घोण्डे तमु समाज यूकेका चेलीबेटी प्रमुख चन्द्रदेवी गुरुङ, तमुधिं नेपाल युवा समितिका संयोजक एवम् हालै अन्नपूर्ण गाउँपालिका वडा नं.९ को वडाध्यक्षमा निर्वाचित रमेश गुरुङलगायतको तमुधिं नेपालको स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा युवा समितिका संयोजक एवम् हालै अन्नपुर्ण गाँउपालिका वडा नं.९ को वडाध्यक्षमा निर्वाचित भएकोमा रमेश गुरुङ र बुद्ध जयन्तीको अवसरमा बुद्ध जयन्ती मूल समारोह समिति कास्कीबाट सम्मानित तमुधिं नेपालका सल्लाहकार एवम संरक्षक सदस्य रुद्रकुमारी गुरुङ मैनालाई बधाई ज्ञापन गरिएको थियो । यसरी नै नेपाल आगमनको क्रममा साउथ इष्ट रिजनल तमुधिं युकेका पूर्व अध्यक्ष क्या.नारायणबहादुर गुरुङ एमभिओ र कोने घोताने घोण्डे तमु समाज युकेका चेलीबेटी प्रमुख चन्द्रदेवी गुरुङलाई तमुधिं नेपालले स्वागत गरेको थियो ।
क्या.नारायनबहादुर गुरुङ/चन्द्रदेवी गुरुङले तमुधिं नेपालमा निर्माण सहयोगार्थ १ लाख ५ रुपैयाँ सहयोग हस्तान्तरण गरेकी थिइन् । तमुधिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष सुमे श्रीप्रसाद गुरुङले स्वागत र महासचिव जुनाकुमारी गुरुङले कार्यक्रम संचालन गरेकी थिइन् ।






