लन्डन २० जुन २०२२ । किरात राई यायोख्या बेलायतको आयोजनामा लोकप्रिय गायक राजेश पायल राईको एकल सांगीतिक कार्यक्रम हुने भएको छ ।
जुलाई २४ तारिखका दिन सो कार्यक्रम हुने आइतबार कार्यक्रम संयोजक यायोख्याका उपाध्यक्ष क्याप्टेन रिटायर्ड सुमनचन्द्र राईले जानकारी गराएका हुन् । उनका अनुसार सो कार्यक्रम अल्डरसटस्थित एम्पायर हलमा हुनेछ ।
राजेश पायल राईले लाइभ ब्याण्डका साथमा सो कार्यक्रममा करिब २५ वटा गीत गाउने आयोजकले बताएका छन् । करिब साढे दुई घण्टा चल्ने कार्यक्रममा गायक राजेश पायल राईलाई सम्मानसमेत गरिने छ । कार्यक्रममा करिब १ हजार जनाको उपस्थिति रहने आयोजकको अपेक्षा छ ।
कार्यक्रमबाट बचेको रकम कला र कलाकारको सम्मान, किरात राई समुदायको भलाइ, परोपकार र कल्याणको कार्यमा खर्च गरिने बताइएको छ । पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक राईले कार्यक्रमलाई सफल बनाउन हुन सबैलाई हार्दिक अपील गरेका थिए ।