लन्डन २५ जुन २०२२ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) यूकेले हरेक वर्ष प्रदान गर्ने फोनिज यूके पत्रकारिता पुरस्कार पत्रकार टीकाराम प्रधान र निलिफा सुब्बालाई प्रदान गरिने भएको छ ।
पुरस्कारका लागि फोनिज केन्द्रीय समितिबाट पाँच जना पत्रकारहरुको नाम सिफारिस भएकोमा छनौट समितिले सुब्बा र प्रधानलाई यसवर्ष सो पुरस्कार प्रदान गर्ने फोनिज यूकेको गत साताको बैठक निर्णय गरेको फोनिज यूकेकी अध्यक्ष गोमा रानाले बताउनुभयो । बैठकमा फोनिज यूकेका अध्यक्ष गोमा राना, प्रमुख सल्लाहकार मेजर रिटायर्ड सोनामछिरिङ शेर्पा, निवर्तमान अध्यक्ष प्रमिला लाबुङ राई, उपाध्यक्ष बम थापा सूर्यबंशी, पुरस्कार छनौट समितिका सहसंयोजक दुतबहादुर पुन र सचिव लीला सेलिङको उपस्थिति रहेको थियो । सो पुरस्कारको राशी २५/२५ हजार रुपियाँ नगद र ताम्रपत्र रहेको छ ।
धरानलाइ कार्यथलो बनाउँदै आएकी सुब्बा नेपाल पत्रकार महासंघ केन्द्रीय समिति पूर्वसदस्य रहिसक्नुभएको छ । सुब्बा हाल ब्लाष्ट टाइम्स दैनिक र ब्रिटिस फोर्सेस ब्रोडकास्टिङ सर्भिस (बीएफबीएस)मा कार्यरत हुनुहुन्छ । उहाँ मर्निङ टाइम्स दैनिक, गणतन्त्र एफएम, सञ्चारिका समूहमा पनि आबद्ध हुनुहुन्थ्यो । पत्रकारिताबाहेक थुप्रै सामाजिक कार्य पनि उहाँ संलग्न हुनुहुन्छ । पत्रकारितामा २० वर्ष बढी बिताएका पत्रकार प्रधान पनि नेपाल पत्रकार महासंघको पूर्व केन्द्रीय सदस्य हुनुहन्छ ।
फोनिज केन्द्रीय समितिको पूर्व कोषाध्यक्ष रहिसक्नुभएका प्रधान हाल द काठमाण्डु पोष्ट दैनिकमा कार्यरत हुनुहुन्छ । यसअघि १६ वर्ष उहाँ द हिमालयन टाइम्स दैनिकमा कार्यरत हुनुहुन्थ्यो । उहाँले त्रिभुवन विश्वविद्यालयबाट पत्रकारितामा स्नातकोत्तरसम्मको अध्ययन गर्नुभएको छ ।






