गौरी तमु –
‘जुन दिन भाषा मर्छ त्यो दिन त्यो जातिको जातीय अस्तित्व समाप्त हुन्छ’ भाषा नै मर्यो भने म गुरुङ नै जाति हुँ भन्ने कसरी प्रमाणित गर्ने ? आजसम्म म र म आबद्व संस्थाले आफ्नो भाषा र साहित्यको संरक्षणका लागि के के काम गर्यो ? नेपाली या गुरुङ भाषामा आजसम्म मेरो समुदाय, भाषा, धर्म र संस्कृतिबारे कति पुस्तकहरु लेखिए ? हो मलाई यी प्रश्नहरुको बारबार चिमोटिरहन्थ्यो । यस्तैमा एक साँझ म लेकालीमै रहेको टास्क ट्राभल्सको अफिसमै थिए । उक्त साँझ संयोगले पत्रकार एवम् तमु संसारकी सम्पादक रोशनी बहिनी, ईन्जिनियर एवम् कथाकार रोशन गुरुङ भाइ, गुरुङ चलचित्रका निर्देशक एवम् स्टार स्टुडियोका सञ्चालक जसु गुरुङ बहिनी, गर्लफ्रेन्ड सर्ट मुभिका नायक अदृश गुरुङ र गीतकार एवम् व्यवसायी शिव गुरुङ भाइ आइपुग्नुभयो । रोशनी बहिनी र म तमु संसार पत्रिकाको कामले बेलाबेलामा भेटघाट भइरहे पनि पोखरामै भएका अरु भाइबहिनीहरुसँग भने भेटघाट कमै हुन्थ्यो ।
त्यो साँझ चियासँगै गुरुङ चलचित्र र गुरुङ गीतका बारेमा कुरा गर्दै जाँदा गुरुङ भाषा र साहित्यका बारेमा पनि चर्चा चल्यो । पोखरामा त्यतिबेलासम्म कुनै गुरुङ समुदायका स्रष्टाले कृतिहरु प्रकाशन गरेपछि विमोचन कार्यक्रम गर्नुपर्यो भने तमु सञ्चारकर्मी संघले गथ्र्यो । यसको मतलब साहित्यिक संस्थाको अभावमा सञ्चार संस्थाले यो काम गरिरहेको थियो । कुराकानी कै क्रममा हामी त्यतिबेला झसङ्ग भयौं जतिबेला हामीले गुरुङ लेखक साहित्यकारका नामहरु खोज्दै जाँदा मुस्किलले एक हातका औंलाहरुमा अटाउने कवि, लेखकहरु भेट्यांै भने विशुद्ध गुरुङ भाषा र साहित्यको क्षेत्रमा काम गर्ने एउटा पनि गुरुङहरुको साहित्यिक संस्था भेटेनौं । हो, त्यहीँ साँझको भेटघाटमा हामीले एउटा निर्णय गर्यौ । गुरुङहरुको ऐतिहासिक थलो भनिने पोखरामा सयौं गुरुङ सामाजिक संघसंस्था भए पनि साहित्यिक संस्था एउटा पनि नभएकोले एउटा साहित्यिक संस्था स्थापना गरी गुरुङ र नेपाली साहित्यमा कलम चलाउने र रुचि राख्ने समूहलाई एउटै छातामा आबद्ध गरौं । गुरुङ युवायुवतीहरुलाई साहित्य लेखनमा एक किसिमको प्रेरणा दिऔं ।
गुरुङ र नेपाली दुवै भाषामा कलम चलाउने स्वदेश तथा विदेशमा छरिएर रहेका गुरुङ स्रष्टाहरुलाई समेटौं । बेलाबेलामा भेटघाट, अन्तरक्रिया, छलफल गरौं भन्ने उद्देश्यका साथ त्यो साँझ अनौपचारिक रुपमा चिया पिउन बसेको छ जनाको समूहले मलाई अध्यक्षताको जिम्मेवारी बोकाएर उपाध्यक्षमा रोशन तमु, सचिवमा रोशनी तमु, कोषाध्यक्षमा जसु गुरुङ, सहसचिवमा अदृश गुरुङ, सहकोषाध्यक्षमा शिव गुरुङ र अर्को बैठकमा सदस्यता विस्तार गर्ने गरी २०७३ चैत २१ गते सोमबार गुरुङ साहित्यिक मञ्च नेपालको स्थापना गर्यौ ।
‘संस्था जन्माउनु ठूलो कुरा होइन तर यसलाई फुलाउनु, फलाउनु र निरन्तरता दिनसक्नु ठूलो कुरा हो ।’ यो कुरालाई हाम्रो टिमले अत्यन्तै गम्भीरताका साथ लिएको थियो र लिइरहेको छ । संस्था गठन पछिको दोस्रो बैठकबाट हामीले पोखराबाहेकका लमजुङ, चितवन, काठमाडौं, स्याङ्जा र तनहुँको प्रतिनिधित्व हुनेगरी ११ सदस्यीय तदर्थ कार्यसमिति गठन गर्यो भने तेस्रो बैठकले स्वदेश र विदेश, महिला र पुरुष पूर्व–पश्चिम नेपालको प्रतिनिधित्व हुने गरी प्रमुख सल्लाहकारमा गीतकार, संस्कृतीविद् एवम् समाजसेवी एकेन्द्र गुरुङ, महिला सल्लाहकारमा गायिका एवम् रेडियो नेपालकी समाचार अधिकृत शान्ति गुरुङ र अन्य सल्लाहकारहरुमा गुरुङ, कवि एवम् लेखक केयरसिंह गुरुङ, पूर्वी नेपालबाट लेखक एवम् सामाजिक अभियन्ता गुरुङ रामप्रकाश समथिङ र पश्चिम नेपालबाट कवि एवम् लेखक डिबी गुरुङ र पछिल्लो अर्को बैठकले बेलायत निवासी साहित्यप्रेमी एवम् समाजसेवी योगेश गुरुङलाई थप गरी सात सदस्यीय सल्लाहकार समिति गठन गर्यौ । त्यससपछि पाइलाहरु चाल्ने क्रममा स्थापना भएको एक वर्षभित्रमा गुरुङ साहित्यिक मञ्च नेपालले निम्न कार्यहरु गर्न सफल भएको छ ट्ठ–
१. संस्था स्थापना भएको पहिलो महिनामै वैशाख १५ गते पूर्वी नेपालमा रहेर हालसम्म साहित्यिक र अनुसन्धानात्मक ४८ वटा पुस्तक लेखेका गुरुङ रामप्रकाश समथिङसँग पोखरामा भेटघाट, अन्तरक्रिया र सम्मान कार्यक्रमको आयोजना ।
२. २०७४ साउन ४ गते जिल्ला प्रशासन कार्यलय कास्कीमा विधिवत् रुपमा दर्ता गरी २०७४ असोज १ मा समाज कल्याण परिषद् काठमाडौंबाट आबद्वता प्रमाणपत्र प्राप्त ।
३. २०७३ साउनमा ३८ जना गुरुङ युवायुवतीहरुलाई साहित्यका विभिन्न विधाहरुमा दुई दिने साहित्यिक प्रशिक्षण कार्यक्रम सम्पन्न ।
४. उपाध्यक्ष रोशन तमुद्वारा लिखित ‘गुरुङ संस्कारको वैज्ञानिक चिरफार’ पुस्तक लोकार्पण ।
५. खि ल्होसारको अवसरमा पोखरामा रहेका गुरुङ संघ संस्थाको सहभागितामा ‘गुरुङ भाषा र साहित्यको संरक्षण एवम् संवद्र्वनमा गुरुङ संघसंस्थाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न ।
६. २०७४ पुस २७ गते प्रथम वार्षिक साधारणसभा र नियमित रचना वाचन शृङ्खलाको सुरुआत ।
७. २०७४ चैतमा गुरुङ गाउँ तानचोकको स्थलगत अवलोकन भ्रमण कार्यक्रम सम्पन्न गरेको छ ।
यसका अलावा नियमित बैठक, देश विदेशमा सदस्यता वितरण, संस्थाका सल्लाहकारहरु, सदस्यहरु र शुभेच्छुकहरुसँग सामान्य भेटघाट, साहित्यिक कार्यक्रमहरुमा सहभागिताको वृद्विजस्ता कार्यहरु पनि भइरहेको छ ।
यी सबै कार्यक्रमहरुमध्ये नियमित रचना वाचन शृङ्खला कार्यक्रमलाई हामीले महत्वपूर्ण उपलब्धिको रुपमा लिएका छांै । प्रत्येक महिनाको अन्तिम शुक्रबार दिनको ठीक ३ बजे रामघाटको टप्स मा.वि.मा हुने यस रचना वाचन कार्यक्रममा गुरुङ र नेपाली भाषामा लिखित सिर्जनाहरु सुनाइन्छन् भने अग्रजहरुले अनुजलाई सिकाउने र अनुजले अग्रजसँग सिक्न पाउने वातावरण यस कार्यक्रमले दिइरहेको छ । संस्था स्थापनादेखि पुस महिनाको अन्तरक्रिया कार्यक्रमसम्म १० महिनाको लागि अमरसिंहस्थित लेकाली चुलो घरका सञ्चालक मिनबहादुर गुरुङले हल उपलब्ध गराउँदै आउनुभएकोमा साहित्यिक संस्थाको कार्यक्रम होटलको हलमा भन्दा शैक्षिक संस्थामा गर्न उपयुक्त देखिएकोमा हाम्रो प्रस्तावलाई स्वीकार गरी पुस महिनादेखि नै शिक्षाविद् एवम् पोखरा रामघाटमा अवस्थित टप्स मा.वि.का प्रिन्सिपल रत्नमान गुरुङज्युले दुई वर्षका लागि हल उपलब्ध गराउनु भएको छ ।
यी दुई सहयोगबाहेक पाहुनाहरुको आगमनमा स्वतस्फूर्त प्राप्त रकमबाहेक आजसम्म यस मञ्चले कुनै व्यक्ति र संस्थासँग कार्यक्रम गर्नकै लागि भनेर सहयोग मागेको छैन । यसो गर्नुमा हाम्रो सोच सकेसम्म अरुसँग मागेर होइन आफंैबाट केही काम गर्न सुरुआत गरौं भन्नु हो । आजसम्म गुसाम कार्यसमितिका प्रायःसदस्यहरुले पाँचदेखि पन्ध्र हजारसम्म संस्था सञ्चालनका लागि सहयोग गर्नुभएको छ । जसका कारण सदस्यहरुको संस्थाप्रति अगाध माया र झुकाव बढी छ । जसले हामीलाई अझै उपलब्धिमूलक कामहरु गर्न उत्साहित बनाइरहेको छ । मञ्चको भावी कार्यक्रमको रुपमा हामीले यहीं वैशाख पहिलो हप्ता प्रमुख सल्लाहकार एकेन्द्र गुरुङको दुई पुस्ततक लोकार्पण गर्दैछौं भने स्व. तमु आदिकवि हर्कबहादुर गुरुङको क्युदे थुलेन गीतिसङ्ग्रह प्रकाशन र दुइवटा यहीँ सङ्ग्रहका गीतहरुको भिडियो निर्माण गर्दैछौं । त्यसैगरी नियमित रचना वाचन शृङ्खला चलिरहने छ ।
अन्त्यमा, आजसम्म गुरुङ साहित्यिक मञ्च नेपाललाई ज–जसले जुन रुपले साथ दिनुभयो सबैप्रति यस मञ्च हार्दिक आभार एवम् धन्यवादसहित आउँदा दिनहरुमा पनि तपाईंहरुको यस्तै साथ,सहयोग र सर्मथनले गुरुङ साहित्यिक मञ्च नेपालले निरन्तर सफलताको पाइलाहरु चालिरहने छ भन्नेमा हामी विश्वस्त छौं ।
2073gauri @ gmail.com


