स्वर्गीय बुद्धसिङ थापाको संक्षिप्त जीवन कहानी
चिम्खोले काईला – बेलायत
टाईकोण्डोका एक कुशल खेलाडी (डान टु), होनाहार ब्रेकडान्सर तथा कुशल संगीतकर्मी (ब्याक पाईप्स) स्वर्गीय बुद्धसिङ थापा, माता बिष्णुमाया थापा र पिता टेक बहादुर थापाको कोखबाट साइला छोराको रुपमा, हालको तनहुँ जिल्ला, भानु नगरपालिका बयापानीमा सन् ०२ डिसेम्बर १९६४ को दिन जन्म भएको थियो। उहाँको मृतु सन् २४ अक्टुबर २०२२ मा बेलायतको फ्रिम्लीस्थित फ्रिम्ली पार्क अस्पातलमा उपचारको क्रममा निधन भएको छ ।
स्वर्गीय बुद्धसिङ थापाको बाल्यकाल आफु जन्मेको गाउँ बयापानीमा बितेको थियो भने उनको शिक्षादीक्षा गाउँकै श्री बिध्यानिकुञ्ज माध्यामिक बिद्यालयमा भएको थियो। उनका दुइवटा दाज्युहरु, एक भाई, दुइवटी दिदीहरु र दुइवटी बहिनीहरु रहेका छ।
स्वर्गीय थापा सन् १९८३ सालमा उनका माहिला दाज्यु सन्त थापाको पाईला पछ्याउदै गण्डकी प्रदेश, पोखरास्थित बृटिश क्याम्पमा, बृटिश आर्मीमा आबद्ध हुनुभएको थियो। उहाँले हंगकंगको सेकोङस्थित मलाया लाइन्समा बृटिश आर्मीको आधारभूत तालिम सम्पन्न गर्नुभएको थियो। बृटिश आर्मीको आधारभूत तालिम सम्पन्न गरेपछि उहाँ ६ गोर्खा राइफल्समा आबद्ध हुनुभएको थियो। ६ गोर्खा राइफल्स ब्रुनाइमा कार्यरत भएको हुँदा उहाँपनि सन् १९८३ को नोभेम्बर महिनामा आफ्नो पल्टन ६ गोर्खा राइफल्समा आबद्ध हुन ब्रुनाई जानु भएको थियो। ब्रुनाईमा ६ गोर्खा राइफल्सको ब्राभो कम्पनि तथा बी कम्पनीमा केहिबर्ष सेवा गरेपछि उहाँ ६ गोर्खा राइफल्सकै पाइप्स एण्ड ड्रम प्लाटुनमा आबद्ध हुनुभएको थियो।
स्वर्गीय बुद्ध थापा सन् १९८६ मा पहिलो पटक घरबिदामा आउनु भएको थियो । उहाँ घरबिदामा रहदा उनकै मामाकी छोरी सुश्री बिबा थापासंग बैबाहिक सम्बन्धमा जोडिनु भएको थियो। उहाँहरुका कोखबाट छोरीहरु अनिता थापा, सूजना थापा, लिन्डा थापा र छोरा वाङ थापालाई सन्तानकोरुपमा प्राप्त गर्नुभएको छ ।
स्वर्गीय बुद्ध थापा १५ बर्ष बृटिश आर्मीको सेवा पुरागरी सन् १५ सेपेम्बर १९९६ मा सेवानिबृत हुनुभएको थियो। बृटिश आर्मीबाट सेवानिबृत भएपछि दोस्रो जागिरको सिलसिलामा मलेसिया, हंगकंग, इराक र कतारमा जागिर गर्नुभएको थियो। उहाँ सन् २००८ देखि बेलायतको फार्नबोरो भन्ने स्थानमा परिवारसंगै बसोबास गर्दै आउनुभएको थियो।
स्वर्गीय बुद्ध थापा उनको जीवनकालमा संयुक्त अधिराज्य बेलायत, हंगकंग, ब्रुनाई, थाइल्याण्ड, दक्षिण कोरिया, भारत, मलेसिया, सिंगापुर, इराक, अमेरिका, सेन्ट्रल अमेरिका बेलिज, होण्डुरास र कतार जस्ता देशहरुको भ्रमण गर्नुभएको थियो।
स्वर्गीय थापालाई फुर्सदको समय ब्याक पाइप्स खेल्न र टाइकोण्डो खेलमा बिशेष रुचि थियो। उहाँले टाइकोण्डोमा दोस्रो डान गर्नुभएको थियो। उहाँ युबास्था हुँदा ख्यातिप्राप्त ब्रेक डान्सरबाट आफुलाई परिचित गराउनुभएको थियो । उहाँले हंगकंगका डिस्कोहलहरुको डान्स फलोरमामा टाउको र घुडाले टेकेर फनफनी घुमेर नृत्य प्रदर्शन गर्नुहुन्थ्यो र दर्शकहरुलाई चकित पार्नु हुन्थ्यो।
स्वर्गीय बुद्ध सिङ थापा सबैका लागि अति मिलनसार एक असल साथी हुनुहुन्थ्यो। उहाँले धेरै नेपाली तथा गैर नेपाली दाज्यु भाई तथा दिदी बहिनिहरुको अन्त्यष्टि, विबहा, जन्म दिवस, बिभिन्न खालका चांडपर्वहरु तथा समारोहहरुमा ब्याक पाइप्स खेलेर योगदान पुर्याउनु भएको थियो।
आजको यस दुखद घडीमा स्वर्गीय बुद्ध थापाका श्रीमती बिभा थापाले एक प्राण भन्दा प्यारो श्रीमान गुमाउनु भएको छ भने छोरीहरु अनिता, सूजना, लिन्डा, छोरा वाङ र छोरी जवाई तथा भान्जा अशेष पुनले एक असल अबिभाबक गुमाएका छन। घरपरिवार, नजिकका नातेदार, इष्टमित्र, छिमेकी, साथीभाई, नम्बरी, सम्पूर्ण नेपाली तथा गैर नेपाली दाज्युभाई तथा दिदी बहिनीहरुले एक असल मित्र गुमाएका छौं।
अन्त्यमा बुद्धजी हजुरको भौतिक शरीर मरेर गएपनि हजुरको आत्मा बाचिरहने छ। हजुरको मृतात्माको चिर शान्तिको कामना गर्दै सोकसन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस भनि भगवानसँग प्रार्थना गर्दछु ।