खासै केही नभएको कमजोर मानिएको गोरखाका पृथ्वीनारायण शाहले काठमाडौं उत्पत्यका जस्तो समृद्ध राज्यलाई गभाए र सिमाना बढाए । उनका सन्ततिहरूले राज गरे ।
आखिर पानी गोरखाको हो नि !
जनयुद्धजस्तो अति गाह्रो कामको थालनी र यसको मुख्य आर्किटेक बाबुराम भट्टराई पनि गोरखाका नै थिए । कहिले पनि दोस्रो नभएका बाबुरामको चामत्कारिकता थियो । पानी त गोरखाको .. ।
प्रचण्डले गोर्खामा पानी खाएर नपढाएको भए सायद उनलाई पनि यस्तो साहस र बुद्धि आउथ्यो भन्नेमा शंका छ ! पानी ..। पृथ्वी नारायणको सन्तानको रेजिम पनि उनै बाबुराम, प्रचण्डहरुका पासमा गणतन्त्र नामको विश्वकप उचालेको झन्डै सत्र/अठार वर्ष भएछ । झन्डै असम्भव जस्तै राजसंस्था हटाउँदा पनि गोरखाको पानी खाएको हुनुपर्दोरहेछ यार !
सोच, शैली, व्यवस्था, मान्यताको हिसाबले यो ठूलो परिवर्तन थियो । कथनी र करणीको बीचमा के भयो भनिरहनु पर्दैन, म त्यता जान्नँ । कताकता बाबुरामले पृथ्वीनारायण एकताको प्रतीक त हुन् कि सानो स्वरमा भन्थे । प्रचण्ड भने जोगिएर बोल्थे । अब एकपटक बाबुराम पनि प्रधानमन्त्री भए के पहिरन लगाउने थिए होला… पानी… !
तेस्रोपटक प्रधानमन्त्री हुने बेला झन्डै तीन साताअघि झिल्के प्रचण्ड त दौरा सुरूवालमा देखिए बा ! कस्तो राम्रो सुहाउँदो रहेछ उनलाई ! पहिलो र दोस्रो पटक पनि प्रधानमन्त्री हुँदा लगाएको भए पनि कस्तो राम्रो हुन्थ्यो भन्ने लागेको थियो ।
उसो त उनलाई कताकता बहुमतको धार्नी पुग्दैन कि डर थियो । सबैलाई ललिपप बाँड्नुपर्ने थियो ! राप्रपाले पृथ्वी जयन्तीलाई एकता दिवस मनाउनुपर्ने बटमलाइन राखेर अप्ठ्यारो पारिदियो । सत्ता, पद जोगाउनु त पर्यो, उनले तथास्तु गरिदिए । उसो त उनलाई पनि निहुँ चाहिएको पनि थियो कि !
पृथ्वी जयन्ती, दौरा सुरूवाल र अन्य कुरामा उनीहरूका व्याख्या अर्कै थियो । उनीहरूले यस मानेमा भनेका थिए र हामी गल्ती रहेछौ भनेर स्वीकारेका त छैनन् । न त जिज्ञासुहरूका चित्त बुझाउनु पर्छ भन्ने लागेको होला । लोकतन्त्रमा प्रश्न गर्न पाइन्छ भन्ने कुरा हराउँदै गएको छ । झनै जिम्मेवारीको कुरा त …. ढिलाछिटो केही त बोल्लान्…..
धेरैले वा धेरैलाई शंकाको लाभ लिने वा दिने ठाउँमा राखिदए बा !
धन्य छ प्रचण्ड साहेब !
हिजोको उचनीच, वर्ग, जात, धर्म, सम्प्रदायका र लैङ्गिक विभेद सम्याउने, जबर्जस्ती लादिएको कुरा हटाउने नाराजस्तो कुरा झन्डै हराएको छ । क्रान्तिका कुरा, चेन्जका कुरा, दिएको वचन, गरिएको प्रतिज्ञा र कुर्बानी धिमा हुँदै निभ्न लागेको छ ।
अब सम्भवत: एमालेमा बिलय हुने बेलामा बाबुराम, प्रचण्डहरूलाई अलि सजिलो भएको छ कि जस्तो लागेको छ । केही जना सत्तामा छन्, गज्जब भयो । घाइते अपाङ्ता भएकाहरू निरीह छन्, को बोल्ने र अब । धेरैजसो खाडीमा छन् । गज्जब … दुईवटा फाइदा भए !
बेफाइदा पनि होलान् म त्यता जान्न आज ।
भोट बैंक माओवादीका चार पिल्लरहरू मधेस, कर्णाली, दलित र जनजाति। मधेसीको माग ठीकै भए पनि मधेसीलाई भोट हाल्ने र उनैको वरिपरिका मान्छे वा पार्टी घुम्ने भएपछि प्रचण्डलाई के मतलब भन्ने होला !
कर्णालीको दुःख छ । त्यही पराम्परागत दलहरुलाई मात्र भोट हालेपछि माओवादीले ठेक्का लिनुपर्छ भन्ने होला । शोषण र उत्पीडनको पीधमा रहेका कथित दलित नब्यूँतिएपछि वा नपुगेपछि माओवादीलाई के मतलब भन्ने होला । आ-आफ्नै तालका पार्टीमा छन् जनजाति र कतिपय त मूलधारकै पार्टीमा छन् ।
मुन्धुम सभ्यताको जनजाति राजेन्द्र लिङ्देनले राजतन्त्र र हिन्दुराज्यको बखान गर्दै पृथ्वी जयन्ती मनाउन दबाब दिएपछि गज्जब भयो होला प्रचण्डलाई । झनै जनजाति बुद्धिजीवीहरू दौरासुरूवाल लगाएर पृथ्वी जयन्ती मनाउन आतुर देखिन्छन् भने प्रचण्ड के फरक पर्छ र ? जसको लागि लडेको हो त्यही नै समुदायको कुरा नबुझे पछि यो वा त्यो बहानामा भोट नदिने भएपछि, जस पनि नदिने भएपछि, सरोकार पनि नराख्ने भएपछि, उल्टै हत्यारा भन्ने भएपछि घुमाउरो पाराले प्रचण्डले अब सकिन्न भनेका होलान् !
बिसाएको हो भने भनिदिए हुन्छ ! उनीहरूलाई पनि गाह्रो नै हुन्छ होला, भोटको राजनीति त हो । कताकता उनीहरू आफ्नै समुदायमा अनपपुलर छन् भन्ने होला कुरा हिजो खुलासा गरेका छन् । ठूलो मुद्दालाई यो छोटो लेखमा समेट्न सकिनँ क्षमा चाहन्छु ।
तेस्रो पार्टी भएर पनि प्रधानमन्त्री हुनु पाउनु कम रोचक छैन यार । झनै दुई मतबाहेक सब मत पाउनु भनेको ऐतिहासिक सफलता हो । यस्तो रोमान्चक घटना त सायद कम हुन्छ । (विश्वकपको रोमान्चक फाइनल, प्रचण्ड-ओलि क्याम्पमा जिरो आवरको चमत्कार जतिकै रोमान्चक थिएन…। मंगलबारको प्रधानमन्त्रीले विश्वासको मत नतिजा उदेकलाग्दो छ।) तर कास्की (लेवाटे/नौडाँडा वा चितवनको) पानीले मात्र यसो गरेको होइन कि ! गोरखाबाट नै विजयी भई आएकोले यस्तो चमत्कारिक काम भएको हुनुपर्छ ।
अखिर गोरखाको पानीमा धेरै दम छ भन्ने लाग्यो । म पनि नेपाल गई गोरखामा बस्ने विचारमा छु । कतै म पनि ….। सहमत वा असहमत हुने छुट तपाईंलाई दिँदै म बिदा हुन्छु।