काठमाडौं ५ मार्च २०२३ ।
विश्वकप छनोटअन्तर्गत लिग-२ को आइतबार भएको खेलमा पिएनजी पपुआ न्युगिनीले युएई युनाइटेड अरब इमिरेट्सलाई ५ विकेटले सजिलै पराजित गरेको छ ।
टस जितेर फिल्डिङ रोजेको पिएनजीले युएईलाई ९७ रनको झिनो स्कोरमा आउट गर्यो । युएईले निर्धारित ५० ओभर पूरा खेल्न नसकि २६ ओभर २ बलमै अल आउट भयो । युएईका लागि वृत्य अरविन्दले २६, मुहम्मद वसिमले १९, आसिफ खानले ११ र चुनदाङ्गापोयल रिजवानले १० रन बनाए । पिएनजीका हेकुरेले ५, चाड सोपरले ३ र चार्ल्स अमिनीले १ विकेट लिए।
पिएनजीले ९८ रनको विजयी लक्ष्य २६ ओभर ५ बलमा ५ विकेट मात्र गुमाएर पूरा गर्यो। उसका लागि प्रारम्भिक ब्याटर टोनी उराले अविजित ३५ तथा सेसे बौले १८ र हिरी हिरीले १४ रन बनाए । युएईका रोहन मुस्तफाले २ विकेट लिए । पिएनजीसँग युएई घरेलु मैदानमा लगातार दोस्रो पटक पराजित भएको हो। युएईमा भएको त्रिकोणात्मक शृंखलाको आफ्नो अन्तिम खेलमा पिएनजीले घरेलु युएईलाई पराजित गरेको हो । ३१ खेलबाट ३१ अंक जोडेको युएई लिगको पाँचौँ स्थानमा कायमै छ।
नेपाल लिगको छैटौँ स्थानमा छ । नेपालले ३१ खेलबाट ३० अंक जोडेको छ। शृंखलाको सोमबार हुने अन्तिम खेलमा नेपालले घरेलु टोली युएईलाई हराउनैपर्ने दबाब छ । पिएनजीले ३२ खेलबाट ९ अंक मात्र जोडेको छ । पिएनजी लिगको पुछारमा छ ।