मेरा असल सहकर्मी, असल श्रीमान
जमुना पुन: निबर्तमान महासचिब नेपाल आदिवासी जनजाति पत्रकार महासंघ युके
दुत पुन अर्थात् चिम्खोले काइँला एक साहित्यकार, पत्रकार तथा समाजसेवी भएपनि उहाँ मेरा लागि एक असल सहकर्मी, अभिन्न मित्र, सामाजिक अभियान्ता र कुशल श्रीमान् तथा अभिभावक हुनुहुन्छ । किनभने उहाँसँग जिन्दगीको यात्रामा सँगसँगै हिँडेको पनि तीन दशक भैसकेको छ । हामीले बेलायतको रक्षा मन्त्रालयको एउटै कार्यालमा काम गरेको पनि पन्ध्र वर्ष पुगिसकेको छ ।
हाम्रो भेट विवाहको दिन मात्र भएको भए पनि हाम्रो परिवारको भने पुरानो नाता र सम्बन्ध थियो । भगवानले माथिबाट नै बनाएको होला हाम्रो जोडी । तीन दशकको लामो यात्रामा पर्ने उकाला, ओराला र अप्ठ्यारा बाटाहरुलाई हामीले छिचोल्दै यहाँसम्म आएका छौँ । जिन्दगीलाई नियाल्दा एक किसिमको खुसी अनुभूति हुन्छ । हाम्रो विवाहको सुरुवाततिर सायद म उहाँभन्दा उमेरले सानी भएर होला, अलिकति अपरिपक्व, आफूले जानेर पनि गर्न अलि नरुचाउने, थोरै बोल्ने र आफ्ना विचार प्रष्ट राख्न असजिलो मान्ने स्वभावकी थिएँ । तर मलाई श्रीमान्ले सदैव प्रोत्साहन गर्नुहुन्थ्यो । ‘तिमीले गर्न सक्छौँ । तिम्रोमा त्यो खुवी छ ।’ भनेर प्रोत्साहन र शाहस दिएर अगाडि बढ्न प्रेरित गर्नुहुन्थ्यो । यसरी मलाई हरेक कार्यका चुनौतीहरुको सामना गर्न सिकाउने र एउटा आत्मनिर्भर महिला बनाउनुभएकामा म मेरा श्रीमान्प्रति धेरै कृतज्ञ छु ।
जिन्दगीमा जीवन जिउनका लागि अनुशासन, बफादारिता, इमान्दारिता, कर्तव्यनिष्टता र लगनशिलता भयो भने सफल जिन्दगी जिउन सकिन्छ । जिन्दगीलाई सफल बनाउन सधैँभरि भाग्यलाई कुरेर बस्नुपर्दैन । भाग्य पनि चाहिन्छ तर असल कार्य गर्न अनिवार्य छ भनेर चिम्खोले काइँला भन्नुहुन्छ । उहाँ सधैँ सकारात्मक सोच लिएर अगाडि बढ्नुहुन्छ । कहिल्यै अर्काका लागि नकारात्मक सोच्नुहुँदैन । उहाँको जीवन एउटा खुला किताबजस्तै छ । उहाँले ढाँटछल तथा कुरा लुकाएर बोल्नुहुँदैन । उहाँ हाम्रो परिवार तथा जोकोहीले पनि सजिलै पढ्न सक्ने एक खुला पुस्तकजस्तै विश्वासिलो, इमान्दार तथा असल व्यक्तित्व हुनुहुन्छ । समयलाई ठिक ठाउँमा सदुपयोग गर्नुहुन्छ । यो धर्तीमा बाँचुञ्जेल हाम्रो जिन्दगीलाई सुन्दर मान्नुपर्छ । घरपरिवारलाई राम्रो शिक्षादीक्षा दिनुपर्छ । घरपरिवारलाई दिएर बचेको समय समाजका लागि केही गर्नुपर्छ तथा खर्चिनुपर्छ भन्ने उहाँको मान्यता रहेको छ । सायद त्यस्तै दूरदर्शी सोच राख्ने व्यक्ति भएको भएर होला उहाँले समाजका लागि गरेका कार्यहरु अनुकरणीय बनेका छन् । उहाँको थालनी गर्नुभएका हरेक कार्यहरु अनुकरणीय भएका कारणले मलगायत मेरा छोरीहरु प्रिया र प्रियङ्काले खुसीका साथ निरन्तर सहयोग गरेका छौँ । हामीलाई एउटा दरिलो खम्बाजस्तो बनेर साथ साथ दिने मौका प्रदान गर्नुभएको छ ।
मेरा श्रीमान् दुत पुन म्याग्दीको विकट गाउँमा जन्मेर हुर्किनुभएको भए तापनि उहाँमा पुरानो सोच पटक्कै छैन । जब म विवाह गरेर म्याग्दी चिम्खोला घर गएँ । आजभन्दा तीन दशक पहिला उहाँले निर्धक्कका साथ मेरी स्वर्गीय आमासासूलाई मैले जमुनालाई काम गराउन विवाह गरेको होइन भनेर भन्नुभएको थियो । किनकि म हङकङमा जन्मेर पोखरामा हुर्केकी थिएँ र सो समयमा मेरो उमेर पन्ध्र वर्षको मात्र थियो । सो समयमा पनि उहाँ धेरै फराकिलो र परिवर्तनशील विचार भएको व्यक्ति हुनुहुन्थ्यो । उहाँ मलाई मात्र हैन, घरका हरेक महिला सदस्यलाई पुरुषसरह नै व्यवहार गर्नुहुन्छ । महिलाका लागि बनाएका कति सामाजिक चलन पनि निर्धक्कका साथ उहाँले हाम्रो घरबाट हटाउनुभएको छ । घरमा महिला गृहिणी भएर मात्र बस्ने होइन बाहिर निस्कनुपर्छ, नयाँ सीप सिक्नुपर्छ । घरका सम्पूर्ण सदस्यहरु आत्मनिर्भर बन्नुपर्छ भनेर हाम्रो परिवारका हरेक सदस्यलाई हौसला दिनुहुन्थ्यो । उहाँ चिप्लो लगाएर, कुरा घुमाएर या चपाएर बोल्न र झुठा आश्वासन दिन मन पराउनुहन्न । उहाँ आफूले दिएका हरेक बचनलाई इमान्दारीका साथ निभाउने, सरल र कडा परिश्रम गर्ने कर्तव्यनिष्ठ व्यक्ति हुनुहुन्छ ।
मसहित हाम्रा दुई छोरी अनि हाम्रो घरका सम्पूर्ण परिवारकै कुशल अभिभावक हुनुहुन्छ दुत पुन, जसले हामीलाई हरेक कार्यमा सहयोग र हौसला दिनुहुन्छ । सकारात्मक सोच, उत्तम विचार, दूर दृष्टि र शिक्षाप्रेमी उहाँ हामीलाई मात्र नभएर चिम्खोला गाउँ, म्याग्दीलगायत नेपाल र नेपालीका लागि सहयोग र सधैँ भलो हुने काम गर्ने एक कुशल व्यक्ति हुनुहुन्छ । शिक्षित भए मात्र घर, समाज र देशको विकास हुन्छ भन्ने कुरा उहाँले सानैमा बुझेकाले घरमा विद्रोह गरेर आफूले पनि प्रवेशिकासम्मको शिक्षा उत्तीर्ण गरी गाउँकै विद्यालयमा शिक्षक हुनुभएको रहेछ । उहाँ शिक्षक भएपछि गोठमा बसेका भाइहरु र अन्य विद्यार्थीहरुलाई विद्यालय भर्ना गरिदिनुभएको थियो । जसले गर्दा हाम्रो घरका सम्पूर्ण सदस्यहरु शिक्षित भएका छन् । ज्ञान आर्जनका लागि नयाँ कुरा अध्ययन गर्न उमेरले छेक्दैन भन्ने सोच राखेर नै उहाँले आफैँ ६ दशक पुग्ने बेलामा स्नातकोत्तरको अध्ययन पूरा गरेर परिवारका लागि प्रेरणाको स्रोत बन्नुभएको छ । घरमा म र हाम्रा छोरीलगायत परिवारका हरेक सदस्यलाई सधैँ सुझाव र सहयोग गर्नुहुन्छ । उहाँको प्रेरणा, सहयोग र सुझावले हाम्रो घरका नयाँ पिँढीले गरेको उन्नति र शिक्षामा गरेको प्रगति देख्दा खुसी र सुखको अनुभूति हुन्छ । हुन त उहाँले कलिलो उमेरदेखि नै घरमा जिम्मेवारीपूर्वक अभिभावकको भूमिका निर्वाह गर्दै आउनुभएको थियो । उहाँको उमेरको परिपक्वतासँगै घर र घरका अन्य सदस्यहरुमा आइपर्ने ठूला जिम्मेवारी पनि सफलताका साथ एक्लै निर्वाह गरेको देख्दा उहाँप्रति खुसी र गौरव लाग्छ । उहाँप्रति सम्मान झनै बढेको छ, यो जीवनको यात्रामा उहाँसँग जोडिन पाउँदा भाग्यमानी ठानेकी छु ।
दुत पुन मेरो असल सहकर्मी तथा साथी हुनुहुन्छ । उहाँले सैनिक जीवनबाट अवकाश लिएपछि उहाँ सन् २००५ मा बेलायतको रक्षा मन्त्रालयमा निजामती कर्मचारीमा भर्ना हुनुभयो । उहाँकै सल्लाह र सुझावमा म पनि सोही कार्यालयमा जागिर खान पुगेँ । यद्यपि हामी दुवै जना आजसम्म सँगै एउटै कार्यालयमा कार्यरत छौँ । उहाँले नै मलाई तिमीले पनि गर्न सक्छौ भनेर मेरो आत्मविश्वास र मनोबल बढाउनुभयो जसले गर्दा मैले सबैसबै प्रक्रिया उत्तीर्ण गरेँ र तालिमहरु उत्तीर्ण गर्न सकेँ । हामी सँगै एउटै कार्यालयमा कार्यरत भएको पनि १५ वर्ष बितिसक्यो । उहाँको हौसला र प्रेरणाले नै म आजको जमुना भएकी छु । १५ वर्षको दौरान आफूमा यति धेरै आत्मबल र विश्वास दिलाएको छ कि मानिस जन्मिँदै सिकेर आएको हुँदैन र गर्न नसकिने भन्ने चिज केही पनि हुँदैन भन्ने विचार ममा आउनु तथा मेरो सोचाइ र बुझाइ यति धेरै फराकिलो हुनुको श्रेय पनि मेरा श्रीमान् दुत पुनलाई दिन चाहन्छु । उहाँ एकदमै सजिलो र जसलाई पनि आफूले जानेका र बुझेका कुरा सिकाउन सक्ने व्यावहारिक व्यक्ति भएको कारण घर र कामसँगै भएर पनि हाम्रो सम्बन्ध कुनै असर परेको छैन । उहाँजस्तो परिस्थिति र समय आए पनि त्यसरी नै चल्न सक्ने अटल र अनुशासित व्यक्ति हुनुहुन्छ । उहाँ सँगसँगै काम गर्दा जस्तो परिस्थितिलाई पनि सहजै स्वीकार्ने र सकारात्मक हुनुपर्छ भन्ने पाठ सिकेको छु । उहाँ सँगै कार्य गर्दा हरेक कार्य सजिलो तथा समय व्यतीत गर्न सहज हुनेगर्छ । जीवनको धेरै समय उहाँसँग बिताउने क्रममा मैले चिनेको र अनुभव गरेको दुत पुन असल तथा विश्वासिलो श्रीमान् र अभिभावक त हुनुहुन्छ नै त्योभन्दा पनि मेरो मिल्ने साथी, जसलाई मैले निर्धक्कका साथ आफ्नो मनमा लागेका हेरक कुरा भन्न सक्छु, आफ्ना हरेक दुखसुख बिनासङ्कोच बाँड्न सक्छु । आफूलाई भन्दा पनि धेरै विश्वास गर्छु । यति धेरै विश्वासिलो र इमान्दार व्यक्ति हुनुहुन्छ कि मलाई दुत पुनले कहिल्यै पनि परिवार, घर, समाज र देशका लागि कुभलो हुने काम गर्नुहुन्न भन्ने लाग्छ ।
मेरो श्रीमान् दुत पुन कुशल सामाजिक अभियान्ता पनि हुनुहुन्छ । सायद सामाजिक सेवाको लगाव उहाँको खुनमा थियो कि मैले नभेटे र नदेखे पनि उहाँको जिजु बाजेदेखि माइततिर जिम्माल हुनुहुन्थ्यो भने घरका बाजे भलादमी साहु या महाजन हुनुहुन्थ्यो रे । घरका बाजे भलाद्मी त्यो बेला पनि मसी र प्वाखले बनाएको कलम थियो रे । बाजे काठमाडौँ गएर व्यापार गरी घर र गाउँको आर्थिक विकास गर्नुभएको थियो । गाउँमा परेका हरेक मुद्दामामला मिलाउनुहुन्थ्यो । त्यही भएर दुत पुनलाई पनि समाजसेवामा समय दिनुपर्छ भन्ने लागेको होला । ब्रिटिश सेनामा भर्ती हुनुभन्दा पहिला र अवकाशपछि पनि समाजमा दीर्घकालीन कार्य गरी समाजको सेवा गरिराख्नुभएको छ । मगर संघ युकेसँग होस् या कुनै संस्थामा आबद्ध हुँदा होस्, उहाँले कामप्रति धेरै लगाबका साथ कर्तव्यनिष्ठ भएर दुःख गरेको देखेको छु । नामलाई भन्दा पनि कामलाई विश्वास गरी व्यक्तिगत लालच र लोभमा नपरी निस्वार्थ भावनाले धेरै काम गर्नुभएको थियो । मगर संघ युकेको अध्यक्ष हुँदा उहाँका कार्यसमितिका मित्र अनि सम्पूर्ण मागरले सहयोग गर्नुभए पनि दूरदृष्टि, योजना र इच्छाशक्ति भने उहाँको थियो । मगर संघको घर, जुन घरमा अहिले पनि गौरवका साथ मगर संघ युकेले आफ्ना हरेक विशेष कार्यक्रम गर्ने गर्छ । नेपालमा रहेका गरिब तथा जेहेन्दार विद्यार्थीका लागि ’एक करोडको मास्टर तथा पीएजडी’ अक्षयकोष र लखन थापा अक्षयकोष स्थापना गरिदिनुभएको छ । व्यक्तिगत रुपमा जीतबहादुर सिञ्जालीमगर साहित्य प्रतिष्ठानमा नव प्रतिभाका लागि एक लाखको अक्षयकोष स्थापना गरिदिनुभएको छ भने ‘चिम्खोले काइँला’ अक्षयकोषमा दश लाख रुपैयाँ धनराशी राखिदिनुभएको छ । जुन अक्षयकोषबाट प्राप्त हुने ब्याजबाट हरेक वर्ष चिम्खोला गाउँबाट स्नातक, स्नातकोत्तर र विद्यावारिधि गर्ने गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई आर्थिक सहयोग गर्ने कार्य गरिन्छ । उहाँको कुशल व्यवस्थापनका कारणले नै ऋणले चुर्लुम्ब डुबेर करिब करिब बन्द हुन लागेको बेलायतबाट प्रकाशित पत्रिका एभरेष्ट टाइम्सलाई उहाँले प्रबन्धनिर्देशकको जिम्मेवारी लिएपछि फेरि झण्डै एघार वर्ष जीवित राख्न सफल हुनुभयो । दुत पुन कर्तव्यनिष्ठ, समयपालकका साथ कुशल आर्थिक व्यवस्थापन र कुशल नेतृत्व गर्न सक्ने सक्षम व्यक्ति भएको हुँदा उहाँले सञ्चालन गर्नुभएका हरेक कार्य सफल हुन्छन् । त्यसैले पनि होला सामाजिक सेवा, पत्रकारिता, साहित्य, शिक्षा र व्यावहारिक जीवन पनि सँगसँगै लैजान सफल हुनुभएको छ ।
अन्त्यमा उहाँको बानी कुनै पनि कार्यको थालनी गर्नुभयो भने शतप्रतिशत कार्य सम्पन्न नहुँदासम्म विश्राम लिने बानी छैन । जसले गर्दा कहिलेकाहीँ स्वास्थ्यमा असर पु¥याएको हुन्छ । त्यसैले म एउटा श्रीमती र असल सहकर्मीको नाताले स्वास्थ्यमा थोरै भए पनि ख्याल गर्नुहोला भन्ने सल्लाह दिन्छु । समाजसेवाका लागि दौडिन उमेरले साथ नदिए पनि साहित्य र पत्रकारिता क्षेत्रमा निरन्तर लागिरहन सुझाव दिन्छु तथा प्रगति गरेको देख्न चाहन्छु । निस्वार्थ भावनाले गर्नुभएका हरेक कार्यप्रति सम्मानका साथ उहाँप्रति गौरव गर्दै उहाँको जीवनको उत्तरोत्तर प्रगतिको शुभकामना गर्दछु ।