नेपालमा बसोबास गर्ने ल्होपा जाति

SHARE:

गुरुङ रामप्रकाश ‘समथिङ’

नेपालको राष्ट्रिय जनगणना २०६८ अनुसार ल्होपा जातिको जनसंख्या महिला १ हजार ३ सय ६८ जना र पुरुष १ हजार २ सय ८६ जना गरी जम्मा २ हजार ६ सय २४ जना रहेका छन् । नेपालको जनसंख्याको हिसाबले हेर्ने हो भने यो जनसंख्या एकदमै थोरै हो । त्यसैले अल्पसंख्यक जातिमा परेरै होला नेपाल सरकारले यी जातिलाई सिमान्तकृत समूहमा सूचीकृत गरेको पनि ।

ल्होपा जाति विशेष गरी हिमाली क्षेत्रमा बस्ने एक जनजाति हो । उनीहरु मुस्ताङ जिल्लाको ल्होमान्थाङ गाउँ विकास समितिको गाउँमा बसोबास गर्ने गर्दछ । ल्होमान्थाङ उपल्लो कालीगण्डकी क्षेत्रमा पर्ने भएकोले त्यही गाउँमा मात्र बस्ति बसालेका छन् । कुनै जाति आर्थिक रुपमा राम्रो प्रगति भएन भने अर्को ठाउँमा बसाइ सरेर गइ कमाउने गर्दछ । तर यी जातिका मान्छेहरु त्यति बसाइ सर्ने गर्दैनन् । पहिले बसेको गाउँठाउँमा नै बस्न रुचाउँछन् । यो गाउँ तिब्बत क्षेत्रसंग नजिकै र जोडिएरका कारणले भन्नेहरुले भन्ने गरेको पाइन्छ । ल्होमी जातिहरु तिब्बतबाट परापूर्व कालमा ल्होमान्थाङ भन्ने गाउँमा आएर बसेका कारणले उनीहरुको त्यही गाउँठाउँको नामबाट जातिको नामाकरण भएको हो भन्नेहरु पनि छन् । हुन सक्छ नेपालको धेरै जातिको ठाउँ विशेषले थर बनेको पाइन्छ ।

धान, गहुँ, जौँ, आलु र कोदो मात्र फल्ने ठाउँमा बसोबास भएकोले आपूmले उत्पादन गरेको अन्नले खान पुग्दैन । त्यसैले उनीहरुले कृषिपछि पशुपालन र व्यापार गर्ने गर्दछ । पशुपालनमा भेडा, च्याङग्रा र चौरी पाल्ने गर्दछ । साथसाथै हिमाली क्षेत्रमा जडीबुट्टीको पनि राम्रो सम्भावना भएको उनीहरु त्यसको पनि संकलन गर्ने गर्दछ । आपूmले उत्पादन गरेको सामानहरु नेपालमा बेच्दैनन् । सिधै याक र चौरीलाई बोकाएर तिब्बततियन बजारमा पुर्‍याएर बेच्ने गर्दछ । अनि फेरि आपूmलाई चाहिने र व्यापार गर्ने सामानहरु किनेर चौरी र याकलाई बोकाएर नेपाल ल्याएर बेच्ने गर्दछ । जसले गर्दा उनीहरुलाई दोहोरो फाइदा हुन्छ ।

ल्होपा जातिको बढी सम्पर्क तिब्बतियनहरुसंग भएकोले रहनसहन, खानपान, भाषा, धर्म, भेषभूषा र संस्कार संस्कृतिहरुमा पनि तिब्बतियनहरुको प्रभाव परेको देखिन्छ । त्यसैले गर्दा पनि होला उनीहरु पनि तिब्बतियन भाषा नै बोल्ने गर्दछ । थोरै संख्यामा मात्र नेपाली भाषा बुझ्ने र बोल्ने ल्होपा जाति धर्म भने बौद्ध मान्ने गर्दछ । ल्होपा जातिभित्र मात्र कुटुक, रिगिन र सेल्पा तीन थरी हुन्छ । पहिलेका मुस्ताङी राज जिग्मे परबल विष्ट पनि यही ल्होपा जातिका हुन् भन्ने गर्दछ । त्यसरी हेर्दा ल्होपा जाति पनि राजपरिवारका सन्तान हुन भन्न सकिन्छ । पहिलेको जस्तो राजसम्मान ऐले देखिन्न कानूनी रुपमा ।

ल्होपा जातिमा भएका छोराहरु मध्ये माइलो छोरा अनिवार्य भिक्षु बन्नु पर्ने नियम छ । अरु छोराहरुले मात्र घरगृस्थी गर्न पाइन्छ । माइलो छोरा भने भिक्षु भएर गुम्बामा जाने गर्दछ । शिक्षा क्षेत्रमा पछाडि रहेका ल्होपा जातिमा बिहे गर्दा बहुपति प्रथा सामाजिक मान्यता पाएका छन् । यो विवाह गर्ने चलन हिजो पनि थियो आज पनि चलिरहेकै छ । भोलि यो नियमले परम्परा थाम्छ या थाम्दैन यसै भन्न सकिन्न । तरै पनि यो चलेको संस्कारलाई हटाउन सदियौ वर्ष लाग्न सक्छ ।
अरु जातिको घरमा पुरुषको नीतिनिर्देशन चल्छ भने ल्होपा जातिमा महिलाको चल्ने गर्दछ । यदि नीतिनिर्देन नचल्ने हो भने चार पाँच जना लोग्नेहरुलाई कसरी मिलाएर राख्न सक्थ्यो त ? जन्म, छेवर, विवाह र मृत्यु गरी चार प्रकारका संस्कार मनाउने ल्होपामा मृत लासलाई गाड्ने र जलाउने दुबै प्रक्रिया अनुसार गर्दछन् ।
सन्दर्भ सामाग्री
१ लेखक रामप्रकाश समथिङ, जिल्ला विकास समितिको कार्यालय फिदिम, पाँचथर र नेपाल आदिबासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पाँचथरद्वारा प्रकाशित– पाँचथरका आदिवासी जनजातिहरु जेष्ठ–२०६६
२ लेखक प्राज्ञ इन्द्रबहादुर गुरुङ, काशीपरी गुरुङद्वारा प्रकाशित तमु (गुरुङ) सांस्कृतिक दिग्दर्शन–असोज २०६८
३ लेखकद्वय ताम्ला उक्याव र श्याम अधिकारी, श्री ५ को सरकार (हाल नेपाल सरकार) स्थानीय विकास मन्त्रालय राष्ट्रिय जनजाति विकास समिति काठमाडौंद्वारा प्रकाशित नेपालका जनजातिहरु वैशाख–२०५७
४ लेखक मधुसूदन पाण्डेय, पैरबी प्रकाशनद्वारा प्रकाशित नेपालका जनजातिहरु– २०६१
५ सम्पादक पवन चामलिङ ‘किरण’ निर्माण प्रकाशन गुम्पा घुर्पिसे, नाम्ची, दक्षिण सिक्किमद्वारा प्रकाशित वर्ष १९, अंक ३४—निर्माण संस्कृति विशेषाङ्क, अप्रिल– सन् १९९९
६ लेखक डा.हर्क गुरुङद्वारा लिखित नेपाल आदिवासी जनजाति महासंघद्वारा प्रकाशित–जनजाति सेरोफेरो मे—२००६
(अर्को अंक दुरा जातिबारे लेख प्रकाशन गरिनेछ)

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!