काठमाडौं । तीन दिनदेखि बेथा लागेर बच्चा जन्माउन नसकेकी पूर्वी रुकुमकी एक सुत्केरीको हेलिकोप्टरबाट उद्धार गरिएको छ । पुथाउत्तरगंगा गाउँपालिका वडा नं. ६ मयाङकी २० वर्षीया मानिका नेपालीलाई गम्भीर अवस्थामा बुधबार साँझ उद्धार गरेर नेपालगञ्ज पुर्याइएको छ । सुर्खेतबाट गएको हेलिकोप्टरले दोस्रो प्रयासमा उद्धार गरेको हो ।
सुत्केरीको उद्वारका लागि बुधबार साँझ पुथाउत्तरगंगा गएको हेलिकोप्टर खराब मौसमका कारण सदरमुकाम रुकुमकोट फर्किएको थियो । बच्चा जन्माउन नसकेर मानिकको ज्यानै जोखिममा परेपछि स्थानीय जनप्रतिनिधिले हेलीकोप्टरबाट उद्धारका लागि पहल गरिदिन उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’सँग आग्रह गरेका थिए । उपराष्ट्रपतिले गृह मन्त्रालयको ध्यानाकर्षण गराएपछि सुत्केरी महिलाको उद्धारका लागि गृह मन्त्रालयले हेलीकोप्टर पठाएको थियो ।
स्थानीय स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी नभएपछि मानिकलाई घरमै राखिएको थियो । ‘उहाँलाई हिजोदेखि बेथा लागे पनि बच्चा जन्माउन सक्नु भएन, उहाँको ज्यान नै जोखिममा पर्यो,’ पुथाउत्तरगंगा गाउँपालिका वडा नं. ६ का अध्यक्ष टोपबहादुर सेनले भने, ‘स्वास्थ्य चौकी लैजान पनि स्वास्थ्यकर्मी नै छैनन्, त्यहीं भएर उहाँको जीवन रक्षाका लागि हामीले उपराष्ट्रपतिज्यूमार्फत आग्रह गर्यौँ । हेलिकोप्टरले सुत्केरीको उद्वार गरेर नेपालगञ्ज लगेको छ ।’उनले विरामी बोल्नै नसक्ने अवस्थामा पुगेको बताए ।






