तीन दिने भारत भ्रमण गरेर प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छ । भारत भ्रमण जानु अघि संघीय संसदमा भ्रणमबारे जानकारी गराउंदै प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका थिए, ‘राष्ट्रको शीर निहुराउने गरी कुनैकाम गर्नेछैन, नेपालको स्वार्थ विरुद्ध कुनै सम्झौता गर्नेछैन ।’ प्रधानमन्त्री ओलीले तीन दिने भारत भ्रमण पुरा गरेर स्वदेश फर्किएका छन् । यो भ्रमणलाई लिएर नेपाल र भारत दुवैतिर निकै चासो व्यक्त गरिएको थियो ।
निकै छोटो समयमा भ्रमण तालिका बन्ने र भ्रमणका लागि पर्याप्त तयारी नगरी निम्तो मान्न जाने प्रवृत्ति यसपटक पनि देखियो । तर, छोटो तयारीकै बीच प्रधानमन्त्री ओलीले भारतमा जे जे कार्य गरे, त्यो समग्रमा राष्ट्रिय हितकै लागि गरे । समकक्षी नरेन्द्र मोदीसँग शीर ठाडो पारेर छलफल गरे । राष्ट्रिय अडानहरुलाई विभिन्न फोरममा सार्वजनिक गरे । भारतसँग विशेष सम्बन्ध हैन, समानताको छिमेक सम्बन्ध रहेको प्रष्ट पारे । बिग्रिएको दुई देशको सम्बन्ध स्थापित गर्न दुवैदेशको दायित्व हुन्छ । तर, नेपालसँग सम्बन्ध बिगार्ने मुखिया भारत बनेको थियो, त्यसैले यसपटक भारतले नेपालको सवालमा केही महसुस रियलाईज गरेको स्पष्ट देखिएको छ ।
पछिल्लो समय भारतले लगाएको नाकाबन्दी र नेपालको संविधान विरुद्ध भारतको अन्तर्राष्ट्रिय लबिङलाई नेपालीले बिर्सन सक्दैनन् । तर, भारतले अब भने आत्म समिक्षासहित नयाँ शिराबाट सम्बन्ध सुधारको आभास दिन थालेको छ । जसको बलियो प्रमाण हो यसपटक दुईपक्षीय औपचारिक र अनौपचारिक वार्ताहरुमा नेपालको आन्तरिक राजनीतिक मामिलाले प्रवेश नपाउनु नै । सबै तहका निर्वाचन सम्पन्न भएर नेपालमा बलियो सरकार बनिसकेको अवस्थामा भएको प्रधानमन्त्री केपी ओलीको भ्रमण मुलतः फलदायी भएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ‘सबका साथ, सबका विकास’ भन्ने आफ्नो मन्त्र र ‘सम्बृद्ध नेपाली, सुखी नेपाल’ भन्ने ओलीको मन्त्रको ‘क्यामेष्ट्रि’ मिलेजस्तो देखिन्छ । यसैले होला, ओलीको सम्बृद्धि र विकासको दुरगामी लक्ष्यबाट मोदी प्रभावित भएको हुनुपर्छ । त्यसैले मोदीले अब दुई मुलुकबीचको सम्बन्ध नयाँ ढंगबाट सहकार्य गरी कमिकमजोरी र ढिलासुस्ती हटाउँदै अघि बढ्न तयार भएका हुनसक्छन् । यसबाट प्रष्ट हुन्छ कि भारत अब नेपालसँग नयाँ ढंगबाट अघि बढ्न नयाँ रणनीति तयार पार्न चाहेको देखिन्छ । नेपाललाई उत्तरी चीनसँग सम्बन्ध विस्तार गर्न नदिने भारतको रणनीति मात्र हो भने त त्यो दुर्भाग्यपूर्ण हुनेछ ।