रसुवा । यही भदौ १० गते जनैपूर्णिमाका अवसरमा लाग्ने गोसाइँकुण्ड मेला व्यवस्थित पार्न धार्मिक मार्ग सरसफाइ गरिएको छ । गोसाइँकुण्ड होटल उपसमितिका सल्लाहकार सुब्बा लामाका अनुसार ढिम्सादेखि चोलाङ्पाटीसम्म होटल व्यवसायीका तर्फबाट सरसफाइ गरिएको हो ।
स्थायी होटल कम भएकाले यात्रुको चापलाई ध्यानमा राखी यथेष्ट रुपमा धार्मिक मार्गका ठाउँ ठाउँमा अस्थायी छाप्रा बनाउने काम भैसकेको तथा गोसाइँकुण्ड क्षेत्र विकास समितिले लक्ष्य राखेको १५ हजारभन्दा बढी भक्तजनलाई भोजन गराउन खाद्यान्न ढुवानी र भण्डार भइसकेको छ । भदौको शुरुसँगै पाँच सयभन्दा बढी यात्रु गोसाइँकुण्ड प्रस्थान गरिसकेको होटल व्यवसायी पासाङ ¥यूर्मी तामाङले बताए ।
यात्रुको उपचारका लागि हिमालय उद्धार सङ्घले व्यवस्थापन गरेका छ चिकित्सकले धार्मिक मार्गमा उपचार दिन थालिसकेका छन् । यही भदौ ६ गतेदेखि निःशुल्क स्वास्थ्य शिविरको व्यवस्था गरिने समितिका अध्यक्ष सञ्जीव डिएमले जानकारी दिनुभयो । गोसाइँकुण्डका यात्रुलाई खानपिन र बसोबासको उचित व्यवस्थापनका लागि धुञ्चेदेखि गोसाइँकुण्डसम्म नै व्यवसायीहरु तयार छन् । यस्तै यात्रुको सुरक्षा व्यवस्था मजबुत पार्न सुरक्षा संयन्त्र तयार भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
नुवाकोटको बाटोमा सुधार आइसकेको र रसुवाको सडकमा आउनसक्ने पहिराको अवरोध हटाउन तीन स्काभेटरसहितको उपकरण तयारी अवस्थामा राखिएको छ । कतै पहिरो आइहाले एकाध घण्टामै व्यवस्थापन हुने रसुवाको सडक हेर्ने डिभिजन सडक कार्यालय नुवाकोटले जनाएको छ ।
यसैबीच गोसाइँकुण्ड मेलामा आउने तीर्थयात्रुका लागि प्राथमिक उपचार स्थान तय भएको छ । गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष डीएमका अनुसार धुञ्चेदेखि माथि पाँच स्थानमा स्वास्थ्य शिविर राखिनेछ । गोसाइँकुण्डमा हिमालय उद्धार सङ्घ, बुद्ध मन्दिरमा सक्षम नेपाल गैसस, लौरी विनायकमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, चोलाङ्पाटी र चन्दनबारीमा नेपाली सेना कालीजङ्ग गणलाई प्राथमिक उपचारको जिम्मा दिने तय भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय रसुवाले भने यात्रु उकालो लाग्ने प्रवेशद्वार मिनी गोसाइँकुण्डमा स्वास्थ्य परामर्श दिने कार्यक्रम तय भएको बताएको छ । स्वास्थ्य शिविर सञ्चालन गर्ने सबै निकायले जिल्ला स्वास्थ्य कार्यालयको समन्वयमा काम गर्नुपर्ने व्यवस्था गरिएको निमित्त जिल्ला स्वास्थ्य प्रमुख शिवप्रसाद बडालले जानकारी दिए । तीर्थमा आउने यात्रुलाई यथेष्ट सुरक्षा व्यवस्था मिलाइसकिएको प्रजिअ कृष्ण पौडेलले बताए ।






