सल्यान । अबिरल वर्षाले सल्यानमा घर भत्किँदा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ ।
बागचौर नगरपालिका ४ सेतीगुराँस भन्ने स्थानमा घरको दलिन र भित्ता भत्किँदा रामसिंह कामीका ६ जनाको परिवारमध्ये पाँच जनाको मृत्यु भएको हो । मृत्यु हुनेहरुमा रामसिंह, उनकी श्रीमती रामकला, छोरी गंगा र प्रमिला तथा छोरा रुपलालको मृत्यु भएको हो । ११ वर्षीया छोरी सुनितालाई भने जीवितै उद्धार गरिएको छ । सुनिताको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ ।
घरमा सुतिरहेको बेला मंगलकार राति करिब साढे ९ बजेतिर घर भत्किँदा उनीहरु च्यापिएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्थानीयबासी र सीमाखोली प्रहरी इकाइको टोलीले उद्धार गरेको थियो । सदरमुकामबाट प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखसहितको टोली पनि घटनास्थल पुगेको थियो ।






