प्रेस स्वतन्त्रताविरुद्ध रहेकाले कानुनी दफा संशोधन गर्ने नेताहरुको प्रतिबद्धता

SHARE:

काठमाडौँ । विभिन्न राजनीतिक दलका नेताले प्रेस स्वतन्त्रता कुण्ठित हुने गरी बनेका कानुन संशोधन गरिने बताएका छन् । नेपाल पत्रकार महासङ्घले आइतवार गरेको कार्यक्रममा सो कुरा बताएका हुन् ।

उनीहरूले लोकतन्त्रलाई सुदृढ पार्न प्रेस स्वतन्त्रता हुनैपर्नेमा जोड दिँदै मुलुकी अपराधसंहिता–२०७४, मुलुकी देवानी संहिता–२०७४मा भएका गोपनीयताको हकविरुद्धको कसुरसम्बन्धी व्यवस्था प्रेस स्वतन्त्रता विरुद्ध रहेकाले ती कानुनी दफालाई संशोधन गरिने बताएका हुन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य पम्फा भुसालले प्रेस स्वतन्त्रता सुनिश्चित गरेर मर्यादित पत्रकारिता बनाउन आफ्नो पार्टी प्रतिबद्ध रहेको बताइन् । ‘लोकतन्त्रको मूल्य र मान्यता नै प्रेस स्वतन्त्रता हो’ उनले भनिन्, ‘लोकतन्त्रको सुदृढीकरणका लागि प्रेस स्वतन्त्रता चाहिन्छ । त्यसैले प्रेसलाई सङ्कुचन पार्ने खालको कानुनलाई संशोधन गर्दछौ ।’

नेपाली काँग्रेसका नेता मीनेन्द्र रिजालले संविधानमा व्यवस्था भएअनुसारकाको प्रेस स्वतन्त्रतासँग बाँझिएका कानुन खारेज गर्नुपर्नेमा जोड दिँदै प्रेस स्वतन्त्रता सम्बन्धी अलग्गै कानुन बनाएर यस क्षेत्रलाई सुरक्षित बनाउनुपर्ने धारणा व्यक्त गरे । उनले पत्रकारिता क्षेत्रमासमेत विकृति देखिएकाले पत्रकार आचारसंहितालाई प्रभाबकारी बनाइनुपर्ने आवश्यकता औँल्याए ।

सङ्घीय समाजवादी पार्टीका उपाध्यक्ष राजेन्द्र श्रेष्ठले अहिलेको नयाँ कानुनले प्रेस स्वतन्त्रतालाई बाँधेकाले त्यसलाई संशोधन गराउन आफ्नो पार्टी तयार रहेको बताए । राष्ट्रिय जनता पार्टीका नेता लक्ष्मणलाल कर्णले अन्य देशका कानुन र सर्वोच्च अदालतको नजिरबमोजिम उक्त संहिता संशोधन गरिनुपर्नेमा जोड दिए ।

महासङ्घका अध्यक्ष गोविन्द आचार्यले अहिलेको कानुनले प्रेस स्वतन्त्रता विरुद्ध कुनै घटना भए राज्यले नै क्षति व्यवहोर्नुपर्ने बताए । वरिष्ठ पत्रकार हरिहर विरहीले उपभोग गदैआएको प्रेस स्वतन्त्रता भन्दा पनि कठोर कानुन ल्याएको आरोप लगाए । ‘पञ्चायत कालमासमेत यस्तो कठोर कानुन ल्याइएको थिएन’ उनले भने, ‘तर अहिले प्रेस स्वतन्त्रता सम्बन्धी कठोर कानुन ल्याइएकाले यसलाई संशोधन गरिनुपर्छ ।’

कान्तिपुर दैनिकका प्रधान सम्पादक नारायण वाग्लेले राज्यको प्रेसप्रति नकारात्मक मानसिकता भएको र नयाँ कानुनसँगै पत्रकारितामा ‘सेल्फ सेन्सरसीप’ शुरु भएको बताए ।

हिमाल खबरपत्रिकाका सम्पादक किरण नेपालले अहिलेको कानुनले प्रेसलाई नियन्त्रण भन्दा पनि नागरिकको स्वतन्त्रता हनन भएको बताए ।

कार्यक्रममा प्रेस सङ्गठन नेपालका कमल गिरी, प्रेस युनियन नेपालका कोषाध्यक्ष सरोज अधिकारी र सञ्चारिका समूहकी उपाध्यक्ष नितु पण्डितले पत्रकारलाई भयरहित अवस्थामा काम गर्न दिन चाँडै संशोधन गर्नुपर्नेमा जोड दिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!