
लन्डन १७ मे २०२४ । पूर्वगोर्खा सैनिक भीम सारुमगर बेलायतको ननिटन र बेडवर्थ काउन्सिलको उपमेयरमा निर्वाचित भएका छन् ।
काउन्सिलको बुधबार सम्पन्न बैठकले सारूलाई सर्वसम्मतरूपमा उपमेयरमा निर्वाचित गरेको हो । सारूलाई उपमेयरमा काउन्सिलर क्याथ प्राइसले प्रस्ताव गरेकी थिइन् भने निकोला किङले समर्थन गरेकी थिइन् । बैठकले काउन्सिलर क्रिस वाटकिन्सलाई काउन्सिल लिडर र बिल ह्यानकक्सलाई मेयर निर्वाचित गरेको छ । मेयर पदमा भने चुनाव भएको थियो । निर्वाचित मेयर, उपमेयर, काउन्सिल लिडर सबै लेबर पार्टीका काउन्सिलरहरू हुन् ।
गत २ मेमा सम्पन्न स्थानीय चुनावमा उक्त काउन्सिलमा लेबर पार्टीले बहुमत हासिल गरेको थियो । लेबरबाट २० जना काउन्सिलर निर्वाचित भएकोमा दुई जनाले उपमेयरका लागि आकांक्षा राखेपछि पार्टीभित्र आन्तरिक चुनाव भएकोमा सारूले जित हासिल गरेका थिए । मेयर र उपमेयरको कार्यकाल एक वर्षको हुने गरेको छ । हालको उपमेयर अर्को साल स्वत: मेयर हुने प्रावधान छ ।


