नेपाल-बेलायत मैत्री सन्धिमा हस्ताक्षरको सय वर्ष : द्विपक्षीय सहकार्य अभिवृद्धि हुने प्रधानमन्त्री सुनकको भनाइ

SHARE:


  1. लन्डन २१ मे २०२४ । नेपाल र संयुक्त अधिराज्य (बेलायत) बीच सन् १९२३ मा सम्पन्न मैत्री सन्धि हस्ताक्षर भएको एक सय वर्ष पूरा भएको अवसरमा बेलायती प्रधानमन्त्री कार्यालय 10 डाउनिङ्ग स्ट्रिटमा आज एक विशेष समारोहको आयोजना गरिएको थियो । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै बेलायती प्रधानमन्त्री सम्माननीय श्री ऋषि सुनाकले नेपाल र बेलायतबीचको ऐतिहासिक सम्बन्धको बिभिन्न आयामहरुको बारेमा बोल्दै द्विपक्षीय सम्बन्धमा ब्रिटिश गोर्खाहरुको योगदानको प्रशंसा गरे ।

बेलायती राजा चार्ल्सको विगतको नेपाल भ्रमणको स्मरण गर्दै उहाँले विभिन्न क्षेत्रमा ख्यातिप्राप्त बेलायतमा रहेका नेपाली डायस्पोराको काम र उपलब्धिबाट आफु प्रेरित भएको बताए । आगामी दिनमा बेलायत र नेपालबीच व्यापार, लगानीजस्ता आर्थिक सम्बन्ध तथा जलवायु परिवर्तनका क्षेत्रमा सहकार्य अभिवृद्धि हुने बताए ।

बेलायतका लागि नेपाली राजदूत महामहिम ज्ञानचन्द्र आचार्यले नेपालका प्रधानमन्त्रीका तर्फबाट शुभकामना व्यक्त गरे । उनले सन् १९२३ मा सम्पन्न मैत्री सन्धिको महत्वको बारेमा जानकारी दिँदै उक्त सन्धिपश्चात् अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको उपस्थिति र अन्तर्राष्ट्रिय सम्बन्ध प्रवर्द्धन गर्न महत्वपूर्ण योगदान गरेको उल्लेख गरे । नेपालमा हालसम्म भएका सामाजिक एवं राजनीतिक परिवर्तन तथा हासिल गरेका प्रगतिका बारेमा जानकारी दिँदै उनले बेलायतले नेपालको विकासमा पुर्याएको सहयोगको लागि धन्यवाद दिए । साथै, आगामी १०० वर्षमा नेपाल-बेलायत द्विपक्षीय सम्बन्धलाई थप क्षेत्रहरुमा विस्तार गरी सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरे ।

बेलायतकी परराष्ट्र राज्यमन्त्री आन मारी ट्रेवल्यानले बेलायत र नेपालबीचको अत्यन्त घनिष्ठ सम्बन्धको बारेमा बताउँदै बेलायतले नेपालको विकास प्रयासहरुमा गरिरहेको सहयोग जारी रहने र आर्थिक सम्बन्धलाई थप बिस्तार गरी नेपालको मध्यम आय भएको मुलुक बन्ने लक्ष्यमा सहयोग पुर्‍याउने बताए ।

कार्यक्रममा बेलायतमा बिभिन्न पेसा तथा व्यवसायमा रहेको नेपाली समुदाय, भूतपूर्व गोर्खाहरु, बेलायती सांसद तथा उच्चपदस्थ अधिकारीहरु एवं नेपालका बेलायती मित्रहरुको उपस्थिति रहेको थियो । नेपाल तथा बेलायतबीच सन् १९२३ को मैत्री सन्धि हस्ताक्षर भएको सय वर्ष पुगेको उपलक्ष्यमा विभिन्न कार्यक्रमहरु आयोजना गरी मनाउने सिलसिलामा नेपाली राजदूतावास र बेलायती परराष्ट्र मन्त्रालयबीच छलफल भए अनुसार र नेपाली समुदायको सहयोगमा यो समारोह सम्पन्न भएको हो ।

यस अवसरलाई मनाउने क्रममा नेपालमा प्रधानमन्त्री कार्यालय सिंहदरबारमा उक्त सन्धि हस्ताक्षर भएकै दिन २१ डिसेम्बर २०२३ मा सन्धि हस्ताक्षर भएकै हलमा एक विशेष कार्यक्रमको आयोजना गरिएको थियो ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!