लन्डन २२ मे २०२४ । गैरआवासीय नेपाली संघ यूके (एनआरएनए) अध्यक्ष प्रेम गाहामगरले बेलायती प्रधानमन्त्री ऋषि सुनकलाई तीन बुँदे ज्ञापनपत्र बुझाउँदै भूतपूर्व गोर्खा भेट्रानको बिदा अवधि बढाउन र जारी गोर्खा वार्ता छिटो टुंगोमा पुर्याउन माग गरेका छन् ।
नेपाल-बेलायत मैत्री सन्धिको शतवार्षिकीका अवसरमा सोमबार टेन डाउनिङ स्ट्रिटस्थित बेलायती प्रधानमन्त्री कार्यालयमा आयोजित विशेष समारोहपछि गाहामगरले बेलायती प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको जनाएका छन् । मेन हलमा अनुकुलता नमिलेपछि प्रधानमन्त्रीको फलो गर्दै उनले अर्को कक्षमा ज्ञापनपत्र थमाएका थिए ।
ज्ञापनपत्रमा गोर्खा भेट्रानलाई नेपाल जाँदा हाल दिइएको एक महिना बिदा अपुग भएको भन्दै यसलाई बढाएर तीन महिना व्यवस्था गर्न माग छ । त्यसैगरी, बेलायत र नेपाल सरकारबीच भइरहेको गोर्खा वार्ता परिणाममुखी नभएकोतर्फ स्मरण गराउँदै गाहामगरले ज्ञापनपत्रमा यसको शीघ्र समाधानका लागि आग्रह पनि गरेका छन् ।
१ जुलाई, १९९७ अघि अवकास प्राप्त गोर्खाहरुलाई सन् १९४७ को त्रिपक्षीय सन्धि अनुरुप समान पेन्सन र सेवा सुविधाबाट वन्चित गरिएको उल्लेख गर्दै ज्ञापनमा २०१८ को प्राविधिक समितिको रिपोर्टकै आधारमा अधिकार दिन पनि माग छ ।
ज्ञापनपत्रमा नेपाल-बेलायत सम्बन्धको २०८ वर्ष लामो अवधिमा हालसम्म कुनै पनि बेलायती प्रधानमन्त्रीले नेपाल नेपाल भ्रमण नगरेको सन्दर्भ उठाउँदै यसका लागि सुनकलाई अनुरोधसहित निमन्त्रणा पनि गरिएको एनआरएनए युले जनाएको छ ।


