
लन्डन २७ मे २०२४ । तमु धीं युकेले आइतबार मे २६ तारिखमा आयोजना गरेको २२औँ गोर्खा कपको उपाधि ब्रिगेड ब्वाइज क्लब (बीबीसी)ले उचालेको छ ।
अल्डरसटस्थित क्वीन्स एभिन्यू फुटबल ग्राउण्डमा भएको प्रतियोगितामा मुख्य टिमतर्फ वाटरमिलन एफसीलाई पराजित गर्दै बीबीसीले उपाधि हात पारेको हो । गोर्खा कपको साथमा बीबीसीले ३ हजार पाउन्ड, ट्रफी र प्रमाणपत्र पुरस्कार पाएको छ ।
मेन रनरअप वाटरमिलनले १८ सय पाउन्ड, ट्रफी र चेकमै चित्त बुझाउनु पर्यो । विजेता र उपविजेतालाई तमु धीं युकेका अध्यक्ष हरि गुरुङले प्रमाणपत्र, अतिथिबाट ट्रफी र प्रायोजकले चेक हस्तान्तरण गरेका थिए ।
यस्तै भेट्रानतर्फको विजेता पनि बीबीसीकै टिम बन्यो । रनरअप धरान ११ एफसी बनेको थियो । यस क्याटेगोरीको विजेताले १५ सय पाउन्ड र उपविजेताले १ हजार पाउन्ड पुरस्कार, प्रमाणपत्र र ट्रफी पाएका थिए ।
महिला विधातर्फ रन्डरबोल्टस एफसी विजेता र एमके लेडिज एफसी उपविजेता बने । यस विधामा दुई टिमले मात्र भाग लिएको थियो । उनीहरुले क्रमश: ६ सय र ४ सय पाउन्ड पुरस्कार, प्रमाणपत्र र ट्रफी प्राप्त गरेको तमु धीं युकेका मिडिया सेक्रेटरी एसके गुरुङले जानकारी दिए ।
प्रतियोगितामा यस वर्ष मेनतर्फ ३२, भेटेरानतर्फ १६ र महिलातर्फ २ टिम गरी ५० टिम सहभागी भएका थिए ।


