गीत गाउन छोडेर अरु केही गर्ने सोच नै आउँदैन : पार्वती थापामगर

SHARE:

  • सञ्जय सिन्जालीमगर

नेपालको गण्डकी प्रदेश, पर्वत जिल्ला मोदी गाउँपालिका ४ हलहलेमा जन्मिएकी गायिका हुन् पार्वती थापामगर । सरल, सुमधुर र नम्र स्वभाव भएकी पार्वती घरकी कान्छी छोरी हुन् । बचपनदेखि पढाईमा धेरै रुची राख्ने उनी कक्षामा सधैं पहिलो हुन्थिन् । राम्रो पढाइकै कारण गाउँमा उनलाई धेरैले पछि गएर शिक्षिका बन्नुपर्छ है भनेर भन्थे । तर पार्वतीलाई स्कुले जीवनमा वैज्ञानिक बन्ने सपना थियो ।

जब ठूली हुँदै गइन्, उनलाई नृत्यले आकर्षण गर्न थाल्यो । र, नृत्यांगना बन्छु भन्ने सोच उनमा पलायो । वि. सं. २०७० सालमा एसएलसी (प्रवेशिका परीक्षा) उत्तीर्ण गरेपछि उनी कलेज पढ्ने उद्देश्यले पोखरा आइन् । पोखरामा ११ र १२ पढिन् । १२ पढ्दै गर्दा उनलाई फेरि रेडियो जकी बन्ने रहर जाग्यो र त्यससम्बन्धी तालिम लिएर काम थालिन् । उनी भन्छिन्, ‘तालिम लिने २२ र २५ जनामध्ये रेडियोमा काम गर्ने ममात्र थिएँ ।’

रेडियोमा केही वर्ष काम गर्दैगर्दा उनलाई फेरि थिएटरमा अभिनय गर्ने मोह जाग्यो । त्यसपछि नाटक सिक्न थालिन् पोखरामै । उनले अभिनय गरेको पहिलो नाटक हो, ‘बार्दलीको छेउबाट’ । नाटक गर्दा निकै समय दिनुपर्ने हुनाले रेडियोको काम छोडेर अभिनयतिर लागेको बताउँछिन् उनी । उनले पोखरामा रहँदा ६ र ७ वटा नाटक अनि निकै छोटो फिल्म, वेब श्रृंखला, नाटक अनि २ र ३ वटा चलचित्रमा पनि काम गरिन् । केही समय अभिनयमा रहेर काम गर्दै गर्दा उनले विभिन्न अभावहरु झेलिन् । यसरी नृत्य, पत्रकारिता र अभिनयमा रुचि राखेकी उनले गीत गाउँछु र गीत गाएर कमाउँछु भन्ने कल्पना पनि गरेकी थिइनन् । तर अहिले उनको जिउने आधार, रहर, सपना, चाहना खुसी सबै गायकी नै बनेको छ । ‘गीत गाउन छोडेर अरु केही गर्ने सोच नै आउँदैन,’ उनी भन्छिन् ।

करिब ९ वर्ष जति पोखरामा बसेर विभिन्न क्षेत्रमा धेरै कुरा सिकेको र गायनमा आफूलाई अगाडि बढाउन काठमाडौं जानुपर्छ भन्ने सबैको सल्लाह र आफैले पनि सोच बनाएर उनी २०७९ मा राजधानी आएकी हुन् । काठमाडौं आएपछि उनले आफूलाई गायनमा अघि बढाउन थालिन् । उनी अहिले गीत लेख्न थालेको पनि बताउँछिन् । उनले लेखेको पहिलो गीत हो, सालैजो भाका ‘जुगजाने माया’ । जसलाई अहिलेसम्म ५५ लाखभन्दा धेरैले युट्यबमा हेरेका छन् भने ६० र ६५ हजारभन्दा धेरैले टिकटक, रिल्स बनाएका छन् । उनलाई धेरैले ‘हेल्लो जुगजाने माया’ भनेर बोलाउने गरेको उनले हाँस्दै सुनाइन् । यो गीतको सफलतापछि आफूलाई काम गर्न अझ हौसला मिलेको उनले बताइन् ।

यसपछि उनले अर्को गीत लेखिन् कौडा ‘ए साली’ । यो गीत उनी आफैलाई मन परेकोमध्येमा पर्छ । उनी लेख्दै, गाउँदै गरिरहेकी छिन् र अरुको पनि ८ र ९ वटा गीतमा आवाज भरेको बताउँछिन् । सपना देख्दै-देख्दै ठूली भएकी पार्वतीले आफू जे बने पनि, जुन क्षेत्रमा काम गरे पनि त्यसलाई निरन्तरता दिनुपर्ने बताउँछिन् ।

विभिन्न दु:खसुख भोग्दै यहाँसम्म आएकी उनले आफ्नो परिवारमा कसैले पनि आफ्नो काम र सपनामा रोकतोक नलाएकोमा आफूलाई भाग्यमानी ठान्छिन् । अबका दिनहरुमा नयाँ-नयाँ मौलिक गीत संगीतहरु बजारमा ल्याउने उनको सोच रहेको छ ।

 

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!