एटा संवाददाता
लन्डन । तमु समाज युकेले बेलायत भ्रमणमा रहेका पत्रकार र कलाकारहरुलाई सम्मान गरेको छ ।

तमु समाज युकेको आफ्नै भवन सटवरीमा आइतबार एक कार्यक्रम गरी कान्तिपुर डेल्ली डटकमका सम्पादक खिम घले, उपसम्पादक टीकाराम तामाङ, गुरुङ भाषाको चलचित्र ‘प्हा’ का निर्माता सोम त्होर्जे र नायिका पुनम गुरुङलाई स्वागत सम्मान गरिएको हो । सम्पादक घले र उपसम्पादक तामाङ आफू सम्बद्ध एभरेस्ट टाइम्स साप्ताहिकको १० औं वार्षिकोत्सवमा भाग लिन गत सेप्टेम्बर ५ तारिखमा बेलायत आएका हुन् ।
पत्रकार र कलाकारलाई तमु समाजका अध्यक्ष शिवचन्द्र गुरुङ, संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, आमा समूहकी अध्यक्ष विन्दु घले लगायतले खादा तथा मायाको चिनोसहित सम्मान गरेका थिए ।
समाजका अध्यक्ष गुरुङको अध्यक्षतामा भएको कार्यक्रम निवर्तमान महासचिव ज्ञान गुरुङले सञ्चालन गरेका थिए । उपाध्यक्ष कन्यप्रसाद गुरुङले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रम समापन गर्दै अध्यक्ष गुरुङले पत्रकार र कलाकारहरुलाई तमु समाजको भवनमा स्वागत गर्न पाउँदा खुसी लागेको बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ युकेका अध्यक्ष नरेश खपाङ्गीमगर, तमु समाज र आमा समूह युकेका पदाधिकारी, सदस्यहरु र शुभेच्छुकहरु सहभागी थिए ।







