
एटा संवाददाता
अल्डरसट । सहारा युकेले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई ५०० वटा फुटबल प्रदान गर्ने भएको छ । बेलायत भ्रमणमा रहेका एन्फाका अध्यक्ष कर्म छिरिङ्ग शेर्पालाई सहारा युकेका युकेका अध्यक्ष मिन (साइँला) गुरुङले १० वटा फुटबल हस्तान्तरण गर्दै ५०० वटा फुटबल प्रदान गर्ने घोषणा गरे । कार्यक्रममा एन्फाका वरिष्ठ उपाध्यक्ष कृष्ण थापा र उपाध्यक्ष उपेन्द्र मान सिहं समेतको उपस्थिति रहेको थियो । अन्र्तराष्ट्रिय फुटबल संघ (फिफा) को निमन्त्रणमा वेष्ट प्लेयर अवार्ड वितरण कार्यक्रमका लागि बेलायत आएका एन्फाका पदाधिकारीहरुलाई सहारा युकेले मंगलबार २५ सेप्टेम्बर साँझ स्वागत तथा सम्मान गरेको हो ।
कार्यक्रममा एन्फाका अध्यक्ष शेर्पाले सहाराको बारेमा स्थापना कालदेखिनै जानकारी भएको बताउदै सहाराले पोखरामा भवन, खेल मैदान र अनाथ विद्यार्थीहरुलाई गर्दै आएको फुटबल प्रशिक्षणको प्रसंशा गरे । उनले नेपालमा फुटबलको बिकास गर्नका लागि ७ वटा प्रदेशमा १४ वटा एकेडेमी स्थापना गरी हरेक उमेर समूहका बालबच्चाहरुलाई समेत प्रशिक्षण गराउने योजना अगाडी बढाईएको बताए । फुटबलले युवाहरुलाई अनुशासित, स्वस्थ र लगनशिल बनाउने भएको हुँदा अब ग्रास रुटबाटै फुटबलको प्रशिक्षणमा गराउने जनाए । उनले छिट्टै प्यान फुटबल क्लबको समेत स्थापना गरिने बताए ।
एनआरएनए युकेका प्रमुख संरक्षक मेजर डमर घले तमुधिं युकेका अध्यक्ष ज्ञाम गुरुङ, चारभञ्जाङ्ग तमु समाज युकेका अध्यक्ष मेजर कृष्ण गुरुङ, फोक्स्टोन नेपाली कम्युनिटीका अध्यक्ष चन्द्र गुरुङ, पत्रकार वाचस्पति रेग्मी र फोटो पत्रकार मिलन तमुलगायत सहारा युकेका पदाधिकारी र शुभचिन्तकहरुको बाक्लो उपस्थिति रहेको थियो । सो अवसरमा सहारा युकेका अध्यक्ष मिन साइँला गुरुङ र तमुधिं युकेका अध्यक्ष ज्ञाम गुरुङ र तमुधिं युकेका पूर्व अध्यक्ष मेजर डमर घलेले एन्फा अध्यक्षलगायत वरिष्ठ उपाध्यक्ष थापा र उपाध्यक्ष सिंहलाई मायाको चिनो सहित खादा लगाई स्वागत तथा सम्मान गरे ।
सहारा पोखराका मनार्थ सदस्य तथा सहारा युकेका सल्लाहकार लोक गुरुङले सहारा युकेको बारेमा जानकारी दिएको सो कार्यक्रममा एन्फा अध्यक्ष शेर्पाले आपूmहरुलाई ३० हजार फुटबलको आवश्यक पर्ने बताउदै ५०० वटा फुटबल र व्यस्तताको बाबजुद पनि आपूmहरुलाई स्वागत तथा सम्मान गरेकोमा सहारा युके परिवारलाई धन्यवाद दिए ।
सहारा युकेका महासचिव कृष्ण गुरुङले संचालन गरेको सो कार्यक्रमको अन्त्यमा सहारा युकेका अध्यक्ष मिन साइँलाले महत्वपूर्ण समयका लागि अध्यक्ष शेर्पा लगायतको टिमलाई धन्यवाद दिदै उपस्थित सबैलाई धन्यवाद दिएका थिए ।






