काठमाडौँ । नेपाल र चीन ऊर्जा क्षेत्रको विकास र सहजीकरण लागि बृहद् कार्ययोजना बनाएर अगाडि बढ्न सहमत भएका छन् ।
दुई देशबीच गठित ऊर्जा संयन्त्रको शुक्रबारदेखि यहाँ सुरु भएको बैठकमा ऊर्जा तथा जलविद्युत क्षेत्रको विकासका लागि सहकार्य तथा लगानीका लागि सहजीकरण गर्न कार्ययोजना तयार पारेर लागू गर्ने सहमति भएको हो । दुवै देशका प्राविधिक सम्मिलित संयुक्त कार्य समूह गठन गर्ने र यसले एक महिनभित्र योजना बनाएर पेश गर्ने सहमतिसमेत भएको छ । ऊर्जा संयन्त्रको दोस्रो बैठक चीनमा आयोजना गर्ने सहमतिसमेत भएको छ । मिति भने सहमतिका आधारमा तय गरिने जनाइएको छ ।
बैठकमा नेपाली पक्षको नेतृत्व ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव अनुपकुमार उपाध्यायले गरेका थिए । नेपाली टोलीमा सोही मन्त्रालयका सहसचिव एवम् प्रवक्ता दिनेशकुमार घिमिरे र तोयानाथ अधिकारी, विद्युत विकास विभागका महानिर्देशक नवीनराज सिंह, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र मन्त्रालयकै सिनियर डिभिजनल इञ्जिनियर बाबुराजा अधिकारी सहभागी थिए ।
चीनका तर्फबाट इन्टरनेशनल इकोनोमिक डिपार्टमेन्टका उपमहाप्रबन्धक ही याङले नेतृत्व गरेको नौ सदस्यीय टोली बैठकमा सहभागी भएको थियो । बैठकका लागि चिनियाँ टोली बिहीबार यहाँ आइपुगेको हो । बैठक बिहीबारदेखि नै सुुरु हुने भनिएता पनि एक दिन पर सरेर आजदेखि सुरु भएको हो ।
विद्युत्को माग तथा आपूर्तिको अवस्था, आगामी दिन बढ्ने ऊर्जा मागको प्रक्षेपण, आयोजनाका विकासको अवस्था, संयुक्त रूपमा आयोजना निर्माणका कार्ययोजना, अन्तरदेशीय प्रसारण लाइन निर्माण लगायतका विषयमा छलफल भएको बैठकमा सहभागी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव एवम् प्रवक्ता घिमिरेले जानकारी दिए ।
गत असार ५ देखि १० गतेसम्म प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको चीन भ्रमणका क्रममा भएको सहमतिअनुसार नै बैठक आयोजना गरिएको मन्त्रालयले जनाएको छ । सोही भ्रमणका क्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र उनका चिनियाँ समकक्षीबीच ऊर्जा क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी द्विपक्षीय समझदारीपत्रमा समेत हस्ताक्षर भएको थियो ।






