कुण्डला माविमा ‘आकस्मिक अनुगमन’, औपचारिक जानकारीबिना शिक्षक बिदामा

SHARE:

नुवाकोट । पञ्चकन्या गाउँपालिकाले आफ्नो क्षेत्रभित्रका विद्यालयहरुको ‘आकस्मिक अनुगमन’ लाई तीव्रता दिएको छ । अध्यक्ष तेजबहादुर तामाङसहितको गाउँपालिकाको टोलीले मंगलबार पञ्चकन्या गाउँपालिका वडा नं ५ भद्रुटारमा रहेको कुण्डला माध्यमिक विद्यालयमा अनुगमन गरिएको प्रमुख प्रशासकीय अधिकृत नरेश पुडासैनीले जानकारी दिए ।
कुण्डलाको अनुगमनका क्रममा शिक्षक/शिक्षिकाहरु बिदा फारम नभरी मौखिक रुपमै बिदा बसिदिने, विद्यालयको जिन्सी तथा नगद हिसाबकिताब पारदर्शी र चुस्त ढंगले व्यवस्थापन नगरिएको, विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापको व्यवस्था नगरिएको जस्ता समस्या पाइएको छ । ती समस्या चाँडोभन्दा चाँडो हल गरेर गाउँपालिकाले गर्ने लगानीअनुसारको शैक्षिक गुणस्तर बढाउन विद्यालय व्यवस्थापन, प्राचार्य, शिक्षक/शिक्षिकालाई आग्रह गरिएको छ ।
कुण्डलामा १९ दरबन्दीका शिक्षक/शिक्षिका र अन्य चार जना छन् । भौतिक सुविधा, स्रोत, साधन भए पनि त्यसको सदुपयोग नहुने र शैक्षिक गुणस्तर वर्षनी घट्दै गइरहेको आलोचना कुण्डला माविमाथि लाग्दै आएको छ । विद्यालय शान्ति क्षेत्र भनिए पनि चुनाव र विभिन्न राजनीतिक पार्टीका छलफल, बैठक र कार्यक्रम हुँदासमेत कुण्डलाका शिक्षक/शिक्षिकाहरु पठनपाठन छाडेर जाने गरेको समेत आरोप लगाउने गरिएको छ । गाउँपालिका अनुगमन टोलीले दसैं-तिहार, छठजस्ता पर्व सकिएपछि पुन: औपचारिक रुपमा अनुगमन गरेर अहिले दिइएको निर्देशन पालना भए/नभएको बारे विद्यार्थी, अभिभावक, शिक्षक/शिक्षिका र व्यवस्थापनसहितको सहभागितामा छलफल गरिने प्रमुख प्रशासकीय अधिकृत पुडासैनीले जानकारी दिए । ‘यो हाम्रो सुधारात्मक, उपचारात्मक अनुगमन हो, दण्डात्मक होइन’ उनले भने, ‘दिइएको निर्देशन पालना नभए एक्सन लिन्छौं ।’ कुण्डलाका प्राचार्य शम्भू यादवले विद्यालयका तर्फबाट सुधारका लागि प्रतिबद्धता व्यक्त गरेका थिए ।
पूर्व निर्णयअनुसार पञ्चकन्या गाउँपालिकाले आफू मातहतका अन्य दुई वटा माविमा समेत अनुगमन गरिसकेको छ । प्रशासकीय अधिकृत पुडासैनीले यसअघि वडा नं ३ को पञ्चकन्या मावि, २ को कालिका माविमा अनुगमन गरिसकेको बताए । ती विद्यालयमा पनि टिचरहरु बिना औपचारिक जानकारी बिदा बस्ने, साधन स्रोत अभाव र म्यानपावर कमीको भेटिएको छ । केही शिक्षकले म्यानपावर कमीले डबल, तेब्बर कक्षा लिनुपरेको गुनासो गरेका थिए ।
गाउँपालिकाको तर्फबाट समस्या समाधान गर्ने वचन दिइएको अधिकृत पुडासैनीले बताए । पञ्चकन्या माविमा १२ जना मात्रै शिक्षक/शिक्षिका रहेको छ । पञ्चकन्या गाउँपालिकामा ९ वटा मावि र १९ वटा आवि (आधारभूत विद्यालय) छन् । ती विद्यालयमा दसैं अगाडि नै आकस्मिक अनुगमन गरिसक्ने गाउँपालिकाको तयारी छ । त्यसका लागि अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको नेतृत्वमा तीनवटा समिति बनाइएको छ । ती समितिले आविमा एकैदिन फरक फरक विद्यालयमा अनुगमन गर्ने छ । तर, माविमा भने अध्यक्ष, उपाध्यक्ष र प्रशासकीय अधिकृत तीनैजना सहभागी हुने प्रबन्ध मिलाइएको पुडासैनीले बताए । गाउँपालिकाअन्तर्गतको सामाजिक विकास समिति, गाउँ कार्यपालिका र प्रशासकीय अधिकृतसहितको गत असोज ५ मा बसेको बैठकको निर्णयअनुसार विद्यालयहरुको अनुगमन गरिएको हो ।
सो बैठकले मातहतका विद्यालयमा विद्यार्थी र शिक्षकको सम्बन्ध, शिक्षक-शिक्षकबीचको सम्बन्ध, आर्थिक गतिविधि विद्यार्थी, शिक्षक/शिक्षिका र सरोकारवालालाई जानकारी गरेको/नगरेको, कार्यालय व्यवस्थापन, पुस्तकालय, कम्प्युटर कक्षालगायत विषयमा आकस्मिक र औपचारिक अनुगमन गर्ने निर्णय गरिएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!