
काठमाडौँ २२ मार्च २०२५ । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) का पूर्वअध्यक्ष तथा उच्चस्तरीय समितिका अध्यक्ष डा.शेष घले बेलायत आइपुगेका छन् ।
अस्ट्रेलिया निवासी धनाढ्य घले शनिबार बिहान लन्डनको हिथ्रो विमानस्थल उत्रिएका हुन् । उनलाई एनआरएनए यूकेका संरक्षक, निर्वाचन समिति, पदाधिकारी, तमु धीं यूकेलगायतले विमानस्थलमा स्वागत गरेका थिए ।
युरोप भ्रमणमा रहेका व्यवसायी घले आइतबार हुने एनआरएनए यूकेको एकता महाधिवेशनमा प्रमुख अतिथिको रुपमा उपस्थित हुने छन् । एनआरएनए पूर्वअध्यक्ष घलेले विभिन्न देशका राष्ट्रिय समन्वय परिषद् (एनसीसी) पदाधिकारी तथा एनआरएन अभियन्ताहरूसँग प्रत्यक्ष छलफल गर्ने क्रममा बेलायत आइपुगेका हुन् ।
मे ३–५, २०२५ का लागि तय भएको एनआरएनएको महाधिवेशनका लागि अन्तर्राष्ट्रियस्तरमा छलफल तथा अन्तरक्रियालाई प्रभावकारी बनाउन विश्वका विभिन्न देशमा रहेका एनआरएन अभियन्ताहरूसँग घलेले भेटघाट तथा अन्तरक्रियामा छन् ।
उनी मार्च २४ मा बेल्जियम, मार्च २५ मा पोर्चुगल र मार्च २७ मा कतार पुग्ने कार्यक्रम छ ।






