भक्त राना- बेलायत
यही आउने अप्रिल २० तारिख २०२५, शनिबारको दिन अल्डरसटको प्यालेस रेष्टुरेण्टमा सिएनसिबिजिको वार्षिक साधारण सभा हुन गइरहेको छ । उक्त दिन बृटिश गोर्खा नेपाली नागरिकता निरन्तरता अभियान भनेको के हो, यसले आजसम्म के कस्तो काम गर्यो र गरिरहेको छ र भविष्यमा के कस्ता कामहरु गर्ने छ भन्ने कुराको विस्तृतमा जानकारी गराइने र हालै सिएनसिबिजिको अध्यक्ष थर्क रानाको नेतृत्वमा एक डेलिगेशन टिम नेपालपुगेर गृहमन्त्रीज्यूको समक्ष ५ फाल्गुणमा एउटा वहस कार्यक्रम राखे लगतै ८ फागुण मा वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीज्यूको सहयोगमा ८ जना सासंदहरुद्वारा दर्ता गरिएको संशोधन विधेयकका साथै, १० फाल्गुणमा शालीग्राम होटेलमा गरिएको जानकारी भेला लगाएत नेपालमा भएगरेका गतिविधि उपर पनि बिस्तृत रुपमा अवगत गराईनेछ।
सभामा कोषाध्यक्षज्यूले आजसम्म सिएनसिबिजिले संस्थाको सदस्यहरुबाट सदस्यता स्वरुप के कति रकम प्राप्त गर्यो, त्यो रकम कुन कुन शीर्षकमा के कति खर्च भयो साथै अहिले संस्थासँग के कति रकम बाँकी छ भन्ने सम्पूर्ण आर्थिक विवरण पार्दर्शितापूर्वक प्रस्तुत गर्नुहुने छ । त्यस्तै सह प्रवक्ता दिर्ग गुरुङज्यूले संस्थाको विधान उपर तयार गर्नुभएको संशोधनमाथि छलफल गरी पारित गरिने छ ।
तसर्थ: यो अभियान केही अभियानकर्ताहरुको लागि मात्र नभएर सम्पूर्ण गोर्खा र गोर्खासँग सम्बन्धित परिवारहरुको निम्ति भएकोले हामी सम्पूर्ण गोर्खा र गोर्खासँग सम्बन्धित परिवारका सदस्यहरुमा सिएनसिबिजिको सदस्यता लिई संस्थालाई सहयोग पुर्याउन र एसले आफ्ना कुनै पनि मेम्बरलाई नेपाली नागरिकता बारे परिआउने समस्याउपर दिने सहयोग लिनकोलागि पनि अभियानमा जोडिन हार्दिक आवहान गर्दछौं । सिएनसिबिजिको अभियान प्रति हालसम्म तिन दर्जनभन्दा बढी संघ संस्थाहरुले ऐक्यवद्धता जनाएकाले ती संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु लगाएत विद्वान, वुद्धिजीवि, कानुनविद्, गोर्खा आर्मीका वरिष्ठ अफिसर साहेबहरु तथा समाजसेवीहरु र ख्याति प्राप्त पत्रकारहरुको समेत उक्त भेलामा उपस्थित रहनेछ।
मित्रहरु, अहिले सिएनसिबिजिले ठूलो मिहिनेतकासाथ गोर्खाहरुको वंशजको नेपाली नागरिकता निरन्तरताको मुद्दा संसदमा दर्ता गराउन सफल भएको छ जुन गर्व गर्ने विषय बनेको छ किनभने यो अहिले संसदको सम्पत्ति भएको छ भने सरकारले चाहेमा जुनसुकै समयमा छलफल छलफल चलाई टुंगो लागाउन सक्छ । हामीसँगको अन्तर्क्रिया कार्यक्रममा पटक पटकराज्य व्यवस्था तथा सुशासन समितिका अध्यक्ष मा.रामहरी खतिवडाज्यूले तपाईंहरुको माग बारेको विधेयक मेरै समितिमा आउने हो । त्यसलाई पास गराउन हामी सशक्त रुपमा पहल गर्नेछौं भन्नुभएको छ । अब त्यो कसरी अगाडि बढ्छ र त्यसको रिजल्ट के आउँछ भन्ने कुरा हामी (गोर्खा)हरुले खेल्ने भूमिकामा निर्भर पर्छ ।
फोटोमा: वायाँबाट मा.जयन्ती राई, राज्य व्यवस्था तथा सुशासन समितिका अध्यक्ष मा.रामहरि खतिवडा, मा. सुरेश आले, मा.प्रकाश ज्वाला र मा.मेटमणी चौधरी
अत: सिएनसिबिजी बेलायतमा अवस्थित सम्पूर्ण साढे एकलाख गोर्खा र सम्बन्धित परिवारका सदस्यहरुमा २१० वर्षदेखि अस्तित्वमा रहेको गोर्खा ब्यानरमा एकतावद्ध भई आफ्ना सन्ततिहरुको वंशजको नेपाली नागरिकता जोगाउन र उनीहरुलाई राज्य विहिन हुनबाट बचाउन पनि २० अप्रिल, शनिबारको दिन प्यालेस रेष्टुरेण्टमा उपस्थित भएर नैतिक, भौतिक र आर्थिक सहयोग गर्नुहुन हामी हार्दिक आव्हान गर्दछौं ।







