
लन्डन ३१ मे २०२५ । बेलायतमा एभरेष्ट इन ग्रुपले ‘माउन्ट एभरेष्ट डे’ मनाएको छ ।
लन्डनको ब्ल्याकहिथस्थित एभरेष्ट इनमा बिहीबार नेपाली र बेलायती समुदायका व्यक्तित्वहरुको जमघटमा कार्यक्रम भएको हो । माउन्ट एभरेष्ट डेको अवसर पारेर एभरेष्ट इन ग्रुपले विगत १५ वर्षदेखि गर्दै आएको वार्षिक कार्यक्रम थियो । नेपालप्रेमी बेलायती र नेपाली समुदायका विशिष्ट व्यक्तित्वसमेतको उपस्थिति रहेको कार्यक्रममा प्रमुख आकर्षण थिए कीर्तिमानी पर्वतारोही पूर्व गोर्खा सैनिक हरि बुढामगर । हरिले आफ्नो अदम्य साहस र हिम्मतका कथाहरु सुनाइरहँदा उनको सम्मानमा कार्यक्रमका सहभागीहरुले बजाइरहेका ताली रोकिएनन् ।
बेलायती सेनामा सेवाका क्रममा सन् २०१० मा अफगानिस्तानमा एम्बुसमा परी दुवै खुट्टा गुमाएका हरिले सन् २०२३ मा सगरमाथाको सफल आरोहण गरेका थिए । दुवै खुट्टाबिना सगरमाथा सफल आरोहण गर्ने दुर्लभ विश्वकीर्तिमान उनले बनाएका थिए ।
कार्यक्रममा स्थानीय लुइसम बरोकी मेयर ब्रेन्डा डेक्रेसले हरि बुढामगरको जीवनकथाले जस्तोसुकै चुनौतीहरु आएपनि त्यसलाई सामना गर्न सम्भव छ भन्ने प्रेरणा दिएको बताइन्।
बेलायती राजा चार्ल्स तृतीयका लागि किंग्स गार्ड पूर्व गोर्खा लेफ्टिनेन्ट कर्णेल टोलबहादुर खाम्चाले हरि बुढामगरलाई सम्पूर्ण गोर्खा तथा नेपालीहरुको गौरवका रुपमा प्रशंसा गरे।
एभरेष्ट इनका निर्देशक यादव भण्डारीले कार्यक्रममा सहभागिताका लागि हरि बुढामगरसहित सबै विशिष्ट अतिथिलाई धन्यवाद दिए।
सन् १९५३ मे २९ तारिखमा संसारको सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक मानव पाइला पुग्यो । नेपालका तेञ्जिङ शेर्पा र न्यूजिल्यान्डका सर एडमन्ड हिलारीले संयुक्त रुपमा रचेको सोही इतिहासलाई सम्झिंदै हरेक वर्ष मे २९ लाई माउन्ट एभरेष्ट डेका रुपमा मनाइने गरिन्छ । बेलायतमा एभरेष्ट इन ग्रुपले पनि विगत डेढ दशकदेखि आफ्ना सबै शाखामा माउन्ट एभरेष्ट डे विशेष कार्यक्रम गरेर नेपालको पर्यटन प्रवर्द्धन गर्दै आएको छ ।






