काठमाडौं । उदयपुरको गाईघाटदेखि करिब ३ कि.मि. पश्चिम बगाहा गाउँमा काठेघर रहेको एक कठ्ठा जग्गासमेत खोसिएपछि नेपाल तामाङ घेदुङका संघीय अध्यक्ष मोहन गोलेका परिवार बिचल्लीमा परेको छ ।
अध्यक्ष गोलेले ऋण तिर्नको लागि जग्गा बिक्री गरेर ६ लाख रुपैयाँ बैना लिइसकेका थिए । तर, पास गर्न भनेर मालपोत कार्यालय पुग्दा पुरै जग्गा सडक विभागको नाममा गइसकेको देखियो, गोलेले भने । अहिले किन्नेले कि तुरुन्त जग्गा पास गरिदिनु प¥यो, कि पैसा फिर्ता दिनुप¥यो भनेर अल्टिमेटम नै दिएपछि उनी के गर्ने, के नगर्ने भन्ने अन्योलमा छन् । लिएको पैसा सबै ऋण तिरे, अब कहाँबाट दिनु गोलेले भने, ‘घर छोडेर हिँड्नुको उपाय छैन ।’ मालपोत र नापी कार्यालयको कर्मचारीको लापरवाहीबाट सडकमा नपर्ने जग्गासमेत खोसिएको गोलेको गुनासो छ ।
जग्गा खोसिएपछि गोले महिनाजति दिन मालपोत र नापी कार्यालय धाएर सकेसम्म कागजपत्र मिलाएर संगठनको काममा काठमाडौं हिँडे । तर मालपोतले प्रक्रिया अघि बढाएन । उनी फेरि जिल्ला आएर अहिले दिनहुँ कार्यालय धाइरहेका छन् तर मालपोत अधिकृत नवराज खड्काले कहिले विभागमा सोध्नुपर्छ त कहिले सडकको आधिकारिक जवाफ आएको छैन भन्दै अल्झाईराखेको उनी बताउँछन् । यता सडकमा सोध्यो भने मालपोत कार्यालयले नै पुर्जा बनाइदिएको हुँदापत्र लेख्नुको कुनै अर्थ नहुने भन्दै आएको छ । ‘जे भएको हो मालपोतले त्यो कुरा लेखेर पठाउनु किन यत्रो समय लगाउँछन्, मैले बुझ्न सकेको छैन’ गोलेले भने, ‘आफै काम बिगार्ने अनि सर्वसाधारणलाई दुःख दिने यो त हदै भयो ।’ मालपोत कार्यालयले यो र त्यो कागज बनाउनुपर्छ भन्दै कहिले नापी कार्यालय त कहिले सडक कार्यालयलाई पत्र लेखेर जवाफ माग्दै हैरान बनाएको गोलेले बताए ।
नापीले उक्त जग्गा कुनै पनि प्रकारको बाटोले नछोएको भनि पत्र पठाएपछि पनि फेरि पत्रमाथि पत्र लेखेर मालपोतले फिल्ड प्रतिवेदन पेश गर्न भनेर अर्को पत्र पठाएर दुःखदियो– गोलेले भने । मालपोतको पत्रअनुसार असोज ९ गते नै नापी कार्यालयको कर्मचारीले स्थलगत बुझी वडाध्यक्षको रोहवरमा सर जमिन मुचुल्कासमेत मालपोतमा पेस ग¥यो । मुचुल्कामा उक्त जग्गा कुनै पनि बाटोले नछोएको स्पष्ट खुलाइएको छ । तर, पनि मालपोतले प्रक्रिया अघि बढाउन अझै आनाकानी गरिरहेको छ । गोलेको पत्नी आशा माया तामाङको नाममा दर्ता रहेको साविकजि. उदयपुर गाविस देउरी वडा नं. ८÷झकि. नं. ५९६ को एक कठ्ठाजग्गा २०६३ को निर्णयबाट गाईघाट कदमाहा सडकको नाममा दर्ता भइसकेको मालपोत कार्यालयको श्रेस्तामा उल्लेख छ ।
मूल सडकबाट करिब ५५० मिटर टाढा दक्षिणतर्फ उक्त जग्गा रहेको छ । जबकि त्यस वरपर कसैको जग्गा सडकको नाममा परेको छैन र गोलेको मात्रै टपक्क सडकको नाममा गएको छ । भएको एक कठ्ठा जग्गासमेत खोसिएपछि गोले यतिबेला न्यायको लागि हारगुहार गरिरहेका छन् । मालपोत कार्यालयले भने उक्त जग्गा सडकको नाममा दर्ता भइसकेको हुँदा नेपाल सरकारमन्त्री परिषद्को निर्णयबाट मात्र फिर्ता हुनसक्ने बताएको छ । तर कार्यालयको कर्मचारीको लापरभावीबाट भएकोले यो सबै काम मालपोत कार्यालयबाटै हुनुपर्ने र तत्कालीन कर्मचारीहरुलाई कारबाहीसमेत हुनुपर्ने गोलेको भनाइ छ ।
सडकमा पर्ने जग्गाको लगत कट्टासम्बन्धी फिल्ड चेक गरी पछिसम्म फरक नपर्ने प्रतिवेदन पेश गर्न मालपोत कार्यालय उदयपुरको खरिदार तस्बिरकुमार श्रेष्ठ, नापी निरीक्षक राजेन्द्रप्रसाद मण्डल, अमिन सत्यनारायण यादव र पियन भूपबहादुर खत्री (गौली)लाई कार्यालयले खटाएको थियो । अहिले सबै कर्मचारी रिटायर भई पेन्सन खाइरहेका छन् । यसमध्ये खरिदार तस्बीरकुमार श्रेष्ठ त्रियुगा नगरपालिका वडा नं. ४ बगाहाकै स्थानीय बासिन्दा हुन् । स्थानीय कर्मचारीलाई सबै कुरा थाहा हुँदाहुँदै पनि यस्तो काम गरेको हुँदा यो रिसईवी साध्ने उद्देश्यले नियतवस गरिएको गोलेको दाबी छ । नगरपालिकामा वार्षिक सम्पत्ति कर आफैले बुझाउँदै आएको उक्त जग्गा बिक्री गर्ने क्रममा मात्र गोले परिवारले सडकको नाममा जग्गा गएको थाहा पाएको थियो ।
सहायक बाटोले समेत नछोएको उक्त जग्गा सडकको नाममा गएपछि परिवारमा त्रास छाएको छ । त्यही जग्गा बेचेर ऋण तिर्ने र बाँकी पैसाले भुइँ घर बनाउने उनले योजना बनाएका थिए । तर जग्गा बिक्रीको प्रक्रिया नै रोकिएपछि उनी अन्योलमा परेका छन् ।






