
लन्डन, ३० जुन २०२५ । यूकेमा बसोबास गर्ने सिरुबारीवासीहरूको साझा संस्था ‘सिरुबारी प्रथम पर्यटकीय गाउँ यूके’को अध्यक्षमा डेबिड गुरुङ चयन भएका छन् ।
आइतबार २९ जुन २०२५ का दिन साउथ इस्ट लन्डनको प्लमस्टिडमा सम्पन्न वार्षिक भेलाले गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
कार्यसमितिमा उपाध्यक्षमा नवराज गुरुङ र सचिव धनबहादुर गुरुङ चयन भएका छन्।
कार्यक्रममा सिरुबारी गाउँका जगदीश गुरुङ (सोंपाल समाज यूकेको अध्यक्ष), डेबिड गुरुङ (एनआरएनए यूकेको प्रमुख संरक्षक) र विजयबहादुर गुरुङ (एनआरएनए यूकेको आईसीसी सदस्य) लाई फेटा र खादा ओढाएर सम्मान गरिएको थियो ।
भेलाको क्रममा उपस्थित समुदायले घरगाउँको संस्कार, रीतिथिति र सांस्कृतिक पहिचानको संरक्षण तथा भावी पुस्तामा हस्तान्तरण गर्ने उपायहरूबारे खुला छलफल गरेका थिए । साथै, आफ्नो पुर्ख्यौली गाउँ सिरुबारी र आसपासको क्षेत्रलाई समृद्ध बनाउने रणनीतिबारे पनि विचार आदानप्रदान भएको थियो ।
कार्यक्रमको सहजीकरण क्या. मोहन गुरुङ र सुवर्ण गुरुङले गरेका थिए । भेलामा यूकेको विभिन्न स्थानबाट आएका सिरुबारीवासीहरूको सहभागिता रहेको थियो ।






