
रसुवा ८ जुलाई २०२५ । नेपाल–चीन सिमानाको ल्हेन्दे खोलामा सोमबार राति आएको बाढीमा परेर १८ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा तीन प्रहरी र ६ चिनियाँ नागरिक समेत रहेका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिए ।
ल्हेन्दे खोलामा आएको बाढीमा फसेका नौ जनाको सकुशल उद्धार गरिएको र ११ जनाको उद्धार गर्न बाँकी रहेको जानकारी दिँदै प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले उनीहरुको उद्धारको प्रयास जारी रहेको बताए ।
यसैबीच नेपाली सेनाको हेलिकोप्टर टिमुरेस्थित बाढीग्रस्त क्षेत्रमा पुगेर अहिले बाढीमा फसेकाहरुको उद्धार कार्यमा सक्रिय रहेको प्रजिअ पौडेलले बताए ।
ल्हेन्दे खोलामा आएको बाढीले नेपाल–चीन सिमामा रहेको मितेरी पुल बगाएको छ । बाढीका कारण स्याँफ्रुबेँसी–रसुवागढी सडक ठाउँ ठाउँमा क्षति पुग्दा यातायात सेवा अवरुद्ध भएको छ । बाढीले एक सय ११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको बाँधमा क्षति पुगेको छ भने टिमुरेस्थित भन्सार याड र त्यसभित्र रहेका मालवाहक ट्रकमा क्षति पुगेको प्रहरीले जनाएको छ ।
क्षतिको पूर्ण विवरण आइनसकेको सशस्त्र प्रहरी बलका प्रहरी नायव उपरीक्षक रामहरि खड्काले जानकारी दिए ।
सम्पर्कविहीन हुनेहरू
नेपाल प्रहरी
प्रहरी चौकी हाकु रसुवा दरबन्दी भई इलाका प्रहरी कार्यालय टिमुरे रसुवामा कार्यरत रामेछाप लिखु तामाकोशी गाउँपालिका-४ का ४२ वर्षीय प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ
जिल्ला प्रहरी कार्यालय पर्सा दरबन्दी भई इलाका प्रहरी कार्यालय टिमुरे रसुवामा कार्यरत बारा फेटा गाउँपालिका-१ का २४ वर्षीय प्रहरी जवान मुन्ना ठाकुर
प्रहरी चौकी लाङटाङ रसुवा दरबन्दी भई इलाका प्रहरी कार्यालय टिमुरे रसुवामा कार्यरत बझाङको बुंगल नगरपालिका-९ का २३ वर्षीय प्रहरी जवान लोकेन्द्र बोहरा
नेपाली नागरिक
बर्दियाका ३६ वर्षीय जिपन चौधरी
बर्दियाका ३५ वर्षीय सन्तोष दहित
बर्दियाका २५ वर्षीय बुद्धिराम थारु
बर्दियाका २४ वर्षीय लक्ष्मीनारायण थारु
बर्दियाका ३० वर्षीय सुरेश थारु
बागलुङका नरेन्द्र विक
सिन्धुपाल्चोकका कन्टेनर डिब्बा चालक फुर्वा लामा
वतन नखुलेको मिक्चर चालक गोविन्द मोक्तान
हाइलक्स चालक लोकमान तामाङ
चिनियाँ नागरिक
यु युए
ली ह्वाचिङ
याङ चुवान
यु हाई हाङ
यु सियाओ चिउ
चोउ योङ






