काठमाडौं ३ अगस्ट २०२५ । बाग्मती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पदबाट राजीनामा दिएका छन् । आइतबार हेटौँडास्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्रकार सम्मेलन गरी उनले राजीनामा दिएका हुन् ।
पत्रकार सम्मेलनलगत्तै राजीनामा बुझाउन आज साँझ हेटौँडास्थित प्रदेश प्रमुखको कार्यालयमा पुगे पनि प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा त्यहाँ नरहेकाले त्यसै फर्किएका छन् । भोलि प्रदेश प्रमुख हेटौँडा आएपछि उनलाई नै राजीनामा पत्र बुझाउने मुख्यमन्त्री लामाले जानकारी दिए ।
यही साउन १४ गते भएको पार्टी संसदीय दलको नेतामा पराजित भएपछि पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनमा मुख्यमन्त्री लामाले पदबाट राजीनामा दिएका हुन् । पत्रकार सम्मेलनमा मुख्यमन्त्री लामाले पार्टीभित्रको बृहत् छलफलपश्चात् राजनीतिक मूल्य, मान्यता स्थापित गर्न उचित ठानेर पार्टी सभापतिले आपसी समझदारीमा सरकार सञ्चालन गर्नेगरी मार्ग प्रशस्त गर्न गरेकाले आफूले राजीनामा दिन लागेको बताए । उनले नवनिर्वाचित पार्टी संसदीय दलका नेता इन्द्रबहादुर बानियाँको नेतृत्वमा सहमति र सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।






