सन्जय सिंजाली मगर
वर्षेनि भाद्र महिनाको सन्दर्भमा आउने तिज पर्व नेपालका महिलाहरूबीच विशेष रूपमा मनाइन्छ। खासगरी पहाडी हिन्दू समुदायमा यो पर्व महिलाको सौन्दर्य, भक्ति र पतिप्रेमसँग जोडिएको छ। तर, त्यो ‘भव्यता’ र ‘संस्कृति’को आडमा तिज पर्वले सम्पूर्ण महिलाको प्रतिनिधित्व गर्छ त भन्ने गहिरो प्रश्न खडा हुँदै आएको छ विशेष गरी आदिवासी जनजाति महिलाहरूको सन्दर्भमा।
तिज विशेष कार्यक्रमहरू, सञ्चारमाध्यमहरूमा बज्ने तिज गीतहरू, र सामाजिक सञ्जालमा देखिने नाचगानले महिला स्वतन्त्रता र अधिकारको उत्सव जस्तो देखिए तापनि, ती कार्यक्रम र सांस्कृतिक अभिव्यक्तिहरू वास्तवमा बहुल सांस्कृतिक समाजको विविधता, पृष्ठभूमि, र अनुभवलाई समेट्न असफल देखिन्छन्।
आदिवासी जनजाति समुदायहरू जस्तै मगर, थारु, राई, लिम्बू, गुरुङ, चेपाङ, तामाङ आदिका आफ्नै मौलिक संस्कार र पर्वहरू छन्, जुन तिनको संस्कृति, इतिहास र समाजसँग गहिरो रूपमा गाँसिएका छन्। तर तिजलाई राष्ट्रिय पर्वका रूपमा प्रस्तुति दिँदा र विद्यालयदेखि सञ्चारमाध्यमसम्म ‘महिला उत्सव’को रूपमा प्रचार गर्दा, यी समुदायका महिलामाथि एक प्रकारको सांस्कृतिक थोपथाप गरिन्छ।
उदाहरणका लागि, आदिवासी महिलाहरूलाई स्कुलमा जबर्जस्ती तिज नाचगानमा सहभागी गराउने, कार्यालयहरूमा तिज विशेष कार्यक्रम अनिवार्य बनाउने, या गैर-हिन्दू महिलालाई पनि तिजको उपवास गर्न प्रोत्साहित गर्ने प्रवृत्तिले उनीहरूको मौलिक सांस्कृतिक पहिचान र स्वतन्त्रता खुम्च्याउने काम गर्छ।
तिज पर्वको मूल सन्देश पति सुखको कामना गर्दै उपवास बस्ने खासगरी पुरुषवादी संरचनामा आधारित मानिन्छ। यस्ता सन्देश आदिवासी महिलाहरूका जीवनशैली, लैंगिक दृष्टिकोण र सामाजिक संरचनासँग मेल खाँदैनन्। कतिपय जनजातिहरूमा महिला पुरुषको सम्बन्ध तुलनात्मक रूपमा समानतामा आधारित हुन्छ, जहाँ महिलाले आत्मनिर्णय लिने अधिकारको अभ्यास गर्छन्।
त्यसैले, ‘महिलाको पर्व’को नाममा प्रस्तुत हुने तिजले साँच्चै महिला सशक्तीकरण र अधिकारको प्रतिनिधित्व गर्छ भन्ने बुझाइ गम्भीर पुनरावलोकनको खाँचो छ। यस्तो एकपक्षीय पर्वलाई सबै महिलाको उत्सवको रूपमा प्रचार गर्नु आफैँमा महिलामाथिको सांस्कृतिक औपनिवेशिकता हो।
हामी बहुल सांस्कृतिक समाजमा बस्छौं भन्ने आत्मबोधले तिज पर्व मनाउने तरिकामा पनि समावेशिताको दृष्टिकोण ल्याउन जरुरी छ। राज्य, सञ्चारमाध्यम, शैक्षिक संस्था र सामाजिक अगुवाहरूले तिजको नाममा हुने कार्यक्रमहरूमा विविध सांस्कृतिक आवाजलाई स्थान दिनुपर्छ।
त्यसर्थ तिज पर्व महिलाको नाममा सुरु भए तापनि, यसको संरचना र सन्देशहरू अझै पनि पुरुष वर्चस्वशाली परम्परा र विशेष जातीय सन्दर्भमा केन्द्रित छन्। यस्तो अवस्थामा, आदिवासी जनजाति महिलाहरूको सांस्कृतिक स्वतन्त्रता र पहिचानलाई नदेखिने बनाउने यो प्रवृत्ति महिलाअधिकारमाथि गहिरो चोट हो। वास्तविक सशक्तीकरण तब मात्र सम्भव छ जब सबै महिलाको आवाज, संस्कार, र अस्तित्वलाई सम्मान गरिन्छ। तिज पर्वलाई त्यो दिशामा रूपान्तरण गर्नु आजको मुल मर्म हो ।






