
काठमाडौँ । नेपालको केन्द्रीय राजधानी काठमाडौंमा जेन-जीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ ।
बानेश्वरकेन्द्रित प्रदर्शनमा प्रहरीले गोली चलाउँदा घाइते भएका प्रदर्शनकारीको विभिन्न अस्पतालमा मृत्यु भएको हो । स्रोतका अनुसार ट्रमा सेन्टरमा ७, एभरेस्टमा ३, सिभिल अस्पतालमा २, त्रिवि शिक्षणमा १ र केएमसीमा १ जनाको मृत्यु भएको हो । विभिन्न अस्पतालमा २ सयभन्दा बढीको उपचार भइरहेको छ ।
प्रदर्शनकारीलाई प्रहरीले पानीका फोहरा, अश्रुग्यास र गोली प्रहार गरेको छ । घाइतेको ट्रमा, सिभिल, एभरेस्ट लगायतका अस्पतालमा उपचार भइरहेको छ ।
सामाजिक सञ्जालमा सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचारको विरोधमा ‘जेन–जी’हरु प्रदर्शनमा उत्रिएका हुन् । काठमाडौंसहित देशका मुख्य सहरमा प्रदर्शन भइरहेको छ ।
काठमाडौँ जिल्ला प्रशासन कार्यालयले काठमाडौँ उपत्यकाका थप विभिन्न स्थानमा कर्फ्यू आदेश जारी गरेको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारीले आजै अर्को विज्ञप्तिमार्फत शीतल निवास (राष्ट्रपति कार्यालय) महाराजगञ्ज क्षेत्रको उत्तर पूर्वतर्फ राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान अगाडिको चोकसम्म, पूर्व दक्षिणतर्फ सामाखुसी जाने मोडदेखि १०० मिटर दक्षिणसम्म र दक्षिण पश्चिमतर्फ सामाखुसी जाने मोडदेखि सामाखुसी खोलासम्म कर्फ्यू आदेश जारी गरिएको जनाउनुभएको छ ।
त्यस्तै, हरित गृह (उपराष्ट्रपति कार्यालय) लैनचौर क्षेत्रको केशरमहल चोकदेखि लैनचौर मोड हुँदै मल्ल होटलको सिमानासम्म, नारायणहिटी दरबार सङ्ग्रहालय क्षेत्र, केशरमहल चोकदेखि नारायणहिटी दरबार सङ्ग्रहालय दक्षिण गेट हुँदै जय नेपाल मोडसम्म, नारायणहिटी दरबार सङ्ग्रहालय दक्षिण गेटदेखि महेन्द्र सालिकसम्म पनि कर्फ्यू आदेश जारी गरिएको छ ।
प्रशासन कार्यालयले सिंहदरबार क्षेत्रको भद्रकाली मन्दिर (तीनकुने आइल्याड) को पूर्वी कुनादेखि पूर्वतर्फ सिंहदरबार मूल गेटसम्म, सिंहदरबार मूलगेट अगाडिदेखि उत्तरतर्फ पद्मोदय माविको मोडसम्म, पद्मोदय मोडदेखि पूर्वतर्फ महालेखा परीक्षक कार्यालयअगाडि हुँदै अनामनगरतर्फ जाने सिंहदरबारको उत्तरपूर्वी मोड र सो मोडदेखि सिंहदरबार पूर्वी गेट हुँदै हनुमानस्थान मन्दिरसम्म र सिंहदरबार मूलगेट अगाडिदेखि दक्षिणतर्फ सर्वोच्च अदालत अगाडि हुँदै पुरातत्व विभागको चोकसम्म कर्फ्यू आदेश जारी गरेको छ ।
प्रशासन कार्यालयले आज २३ गते अपराह्न १:०० देखि रातिको १० बजेसम्म कर्फ्यू आदेश जारी गरेको हो ।


