
लन्डन २० सेप्टेम्बर २०२५ । ग्रेटर रसमुर नेपाली कम्युनिटी (जीआरएनसी) युकेकी अध्यक्ष लिला सेलिङ माबोले आगामी अक्टोबर ५ मा हुने रश्मूर वेलेस्ली १० किमि दौडमा भाग लिन आग्रह गरेकी छन् ।
उक्त दौड प्रतियोगिता नेपालीको अस्तित्व र पहिचान झल्काउने महत्वपूर्ण अवसर रहेको भन्दै अध्यक्ष माबोले सम्पूर्ण जीआरएनसी टोलीको तर्फबाट दौडमा भाग लिन खेलाडी र सहयोग गर्न स्वयंसेवकहरुलाई आग्रह गरेकी हुन् ।
‘हामी खुसीका साथ सूचित गर्न चाहन्छौँ कि आगामी अक्टोबर ५, २०२५ (आइतबार)का दिन रश्मूर वेलेस्ली १० के दौड ब्ल्याकवाटर भ्याली रनर र हाम्रो ग्रेटर रसमुर नेपाली कम्युनिटी (जीआरएनसी) को सहकार्यमा, विगतझैँ यस वर्ष पनि आयोजना हुँदैछ,’ सूचनामा भनिएको छ, ‘यस दौडमा हाम्रो नेपाली समुदायको सहभागिता हाम्रो स्थानीय समाजमा हाम्रो अस्तित्व र पहिचान झल्काउने महत्वपूर्ण अवसर हो । त्यसैले, तपाईंहरूको साथ र सहयोग अत्यावश्यक भएकोले, दौडमा प्रत्यक्ष सहभागी भई नाम दर्ता गर्न वा स्वयंसेवकको रूपमा सहयोग गर्न हार्दिक अनुरोध गर्दछौं ।’
उनले जीआरएनसी तर्फका संयोजकहरूलाई सहयोग र साथ प्रदान गर्न समेत आग्रह गरेकी छन् । जीआरएनसीका तर्फबाट दौड संयोजकहरुमा किरण बुढा मगर र बिमल गुरुङ छन् । यस्तै एडमिनमा उपाध्यक्षहरु उत्तरबहादुर गुरुङ,जित मेन्स्याङ्बो छन् । महासचिव सुनिल रानालाई भने समग्र कार्यक्रमको अवलोकनको जिम्मा दिइएको छ ।
गत वर्षझैं ब्ल्याकवाटर भ्याली रनर्स र जीआरएनसीको आयोजनामा अल्डरसट क्विन्स एभिन्यूको रग्बी स्टेडियममा रश्मूर वेलेस्ली दौड प्रतियोगितामा हुन लागेको हो । उक्त अवसरमा ५ किमिको गोर्खा भीसी दौड र २ किमिको फन रन पनि समावेश गरिने जीआरएनसीकी अध्यक्ष माबोले जानकारी दिइन् ।
दौड बिहान साढे १० बजे सुरु हुनेछ । रग्बी स्टेडियमबाट सुरु हुने १० किमि दूरीको दौड सोही ठाउँमा फर्किएर पूरा हुने छ। दौड पूरा गर्नेहरु सबैलाई मेडल दिइने छ । १० किमि रश्मूर वेलेस्ली दौड प्रतियोगिताको अफिसियल स्पोन्सर सूर्य गुरुङ नेतृत्वको पिपल मोर्गेज रहेको छ ।
प्रतियोगी खेलाडीको दर्ता भइरहेको आयोजकले जनाएको छ ।
उक्त दौडको लागि चेक पोईन्टहरुमा मार्शलिङ गर्ने स्वयंसेवकहरुको आवस्यक भएको हुदा इच्छुक महानुभावहरुले यस दौडको संयोजक तथा वरिष्ठ उपाध्यक्ष उत्तर बहादुर गुरुङलाई सम्पर्क गरिदिन अनुरोध गरिएको छ ।




