
काठमाडौं ११ अक्टुबर २०२५ । महेशकुमार श्रेष्ठ नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए)अन्तर्राष्ट्रिय समन्वय परिषद् (२०२५-२७) ले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाह पथस्थित कन्ट्रोल रुम अवलोकन तथा चियापान कार्यक्रम आयोजना गरेको छ ।
गैरआवासीय नेपाली संघ विपद व्यवस्थापन तथा पुन: निर्माण समितिले २२ औं स्थापना दिवसको अवसरमा ११ अक्टोबर (२०२८२ असोज २५ गते) उक्त कार्यक्रम आयोजना गरेको हो । भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा सबैभन्दा क्षति पुगेको नेपाल प्रहरीको उपत्यका ट्राफिक प्रहरी कार्यालयको कन्ट्रोल रूम एनआरएनएको लगानीमा निर्माण हुँदै छ ।
उक्त कन्ट्रोल रुम निर्माणका लागि ८० लाख रूपैयँ लाग्ने अनुमान रहेको एनआरएनए उपाध्यक्ष विश्वास दीप तिगेलाले जानकारी दिएका छन् । एनआरएन डेको उपलक्ष्यमा शनिबार अध्यक्ष श्रेष्ठलगायत पदाधिकारी, कार्यसमिति सदस्यलगायतले स्वयम्भूमा १०८ दीप प्रज्वलनसमेत गरेका छन् ।
यसैबीच श्रेष्ठ नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए)अन्तर्राष्ट्रिय समन्वय परिषद् (२०२५-२७) ले एकताको वातावरण बनाउन बद्री केसी पक्षलाई आह्वान गरेको छ । एनआरएनए स्थापनाको अवसरमा प्रवक्ता गंगाधर गौतमले शनिबार विज्ञप्ति जारी गर्दै एकता पहल भइरहेकोले त्यसको वातावरण बनाउन आग्रह गरेका हुन् । ‘विषम परिस्थितिमा गैरआवासीय नेपाली संघमा एकताको विकल्प छैन । सम्मानित सर्वोच्च अदालतको परमादेश अनुरुप गत मे महिनामा सम्पन्न संघको एकता महाधिवेशनबाट विधिवत निर्वाचित कार्यसमितिले महाधिवेशनमा छुटेका साथीहरुलाई समेत समेटेर लैजान आह्वान गरिसकेको छ । उच्चस्तरीय वार्ता समितिले त्यसको लागि पहल पनि गरिरहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यसका लागि संघको सचिवालय तत्काल हस्तान्तरण गर्नुका साथै सम्पूर्ण मुद्दामामिला फिर्ता लिइ एकताको वातावरण बनाउन हामी बद्री केसी पक्षलाई आह्वान गर्दछौं ।’
कानुनी तथा सांगठनिक आधारमा संघको विधान, परम्परा र लाखौं गैरआवासीय नेपालीहरुको भावनाबमोजिम एकता प्रक्रिया अगाडि बढाउनु पर्छ भन्नेमा आफूहरु दृढ रहेको जनाउँदै एकताको नाममा एकता महाधिवेशनको म्यान्डेटलाई नै कमजोर पार्ने काम कहीं कतैबाट हुन नहुने स्पष्ट पारिएको छ ।
गैर आवासीय नेपाली संघ (एनआरएनए) स्थापना भएको २२ वर्ष पूरा भएको छ। ‘एक पटकको नेपाली सँधैंको नेपाली’ भन्ने मूल मन्त्रको मर्मअनुसार यस अवधिमा प्रवासमा रहेका नेपाली समुदायको सेवाका साथै नेपालको विकास र उन्नतिका लागि विभिन्न क्षेत्रमा लगानी तथा सामाजि सेवामूलक दर्जनौं परियोजनाहरु सम्पन्न भएका छन् । सन् २०१५ को महाभूकम्प होस् वा कोभिड १९ महामारी, संसारभरि रहेका नेपालीहरुले मातृभूमिको घाउमा मल्हम लगाउन सक्दो योगदान गरेको विज्ञप्तिमा उल्लेख छ ।
नेपालमा पछिल्ला दिनहरूमा देखा परेको राजनीतिक अन्योल र जनप्रदर्शनलगत्तै उत्पन्न विषम परिस्थितिले सबैलाई चिन्तित बनाएको भन्दै देशका विभिन्न स्थानमा भएका प्रदर्शन, हिंसात्मक गतिविधि, आगजनी र तोडफोडका घटनाले जनधनको ठूलो क्षति भएको खबरले संघ मन दुखेको पनि जनाएको छ ।



