लन्डनमा नेपाली मूलका ज्येष्ठ नागरिकका लागि प्रारम्भिक अंग्रेजी र वेलबिइङ कक्षा

SHARE:

शिब कुमार गुरुङ
लन्डन १७ अक्टोबर २०२५ । बेलायतमा बसोबास गर्ने नेपाली मूलका ज्येष्ठ नागरिकहरूको जीवनस्तर अभिवृद्धि र सशक्तीकरण गर्ने उद्देश्यका साथ तमु समाज यूकेले सञ्चालन गरेको निःशुल्क प्रारम्भिक स्तरको अंग्रेजी र वेलबिइङ कक्षा १६ अक्टोबर २०२५ बिहीबार सफलतापूर्वक सम्पन्न भएको छ । समापन समारोह बारहम पार्क, वेम्ब्लीस्थित तमु समाज यूके नेप्लिज कम्युनिटी सेन्टरमा आयोजित भएको थियो ।

नेशनल लटरी कम्युनिटी फन्डको आर्थिक सहयोगमा सञ्चालित यस कार्यक्रमको समापन समारोहमा लन्डन बरो अफ ब्रेन्टका मेयर काउन्सिलर रायन ह्याक प्रमुख अतिथिका रूपमा उपस्थित रहेका थिए ।

मेयरको आगमनका क्रममा तमु समाज यूकेकी अध्यक्ष बिन्दु कुमारी गुरुङ घले र संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङले खादा र पुष्पगुच्छा अर्पण गरी स्वागत गरेका थिए । यस अवसरमा उनीहरूले मेयर ह्याकलाई १४ मे २०२५ मा निर्वाचित भई ब्रेन्ट काउन्सिलको २०२५–२०२६ कार्यकालका लागि मेयरको जिम्मेवारी सम्हालेकोमा बधाई ज्ञापन गरेका थिए। ब्रेन्टको इतिहासमा २६ वर्षको उमेरमा सबैभन्दा कान्छा मेयर बनेका काउन्सिलर ह्याक ब्रन्डसबरी पार्क वार्डका लेबर पार्टीका प्रतिनिधि हुन् ।

समारोहका क्रममा मेयर ह्याकले प्रारम्भिक अंग्रेजी तालिम सफलतापूर्वक सम्पन्न गरेका नेपाली ज्येष्ठ नागरिकहरूलाई प्रमाणपत्र वितरण गर्दै उनीहरूको लगनशीलता र सिक्ने उत्साहको प्रशंसा गरे। साथै, उनले कक्षा शिक्षिका श्रीमती अमृता गुरुङ थापा र व्यवस्थापन टोलीका सदस्यहरू — सल्लाहकार यम गुरुङ, सल्लाहकार इमान घले, आजीवन सदस्य बलकृष्ण गुरुङ तथा कार्यसमिति सचिव क्याप्टेन तेसर जङ गुरुङलाई कार्यक्रम सफल बनाउन पुर्‍याएको उल्लेखनीय योगदानका लागि आभार व्यक्त गर्दै कदरस्वरूप सम्मानपत्र प्रदान गरे ।

यी कक्षाहरू सन् २०२५ अप्रिल ३ देखि हरेक बिहीबार बिहान १०:०० बजेदेखि दिउँसो १:०० बजेसम्म तमु समाज यूके नेप्लिज कम्युनिटी सेन्टरमा सञ्चालन भएका थिए। कक्षाहरूको संयोजन श्रीमती अमृता थापाले गरेकी थिइन् भने सल्लाहकार द्वाय यमबहादुर गुरुङ र इमान घलेले व्यवस्थापकीय सहयोग पुर्‍याएका थिए। यस अवधिमा सहभागीहरूलाई प्रत्येक सत्रमा निःशुल्क स्टेशनरी (पाठ्य पुस्तक तथा कलम) र हल्का जलपानको समेत व्यवस्था गरिएको थियो ।

कार्यक्रममा तमु समाज यूकेका अध्यक्ष बिन्दु कुमारी गुरुङ घले, संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङ, उपाध्यक्ष भीम बहादुर गुरुङ, सल्लाहकार इमान घले र यमबहादुर गुरुङसहित अन्य समुदायिक अगुवाहरूको बाक्लो उपस्थिति रहेको थियो।

अध्यक्ष बिन्दु कुमारी गुरुङ घलेले ज्येष्ठ नागरिकहरूका लागि अंग्रेजी शिक्षाको आवश्यकतामा जोड दिँदै नेशनल लटरी कम्युनिटी फन्ड र प्रमुख अतिथिको रूपमा सहभागी भएका मेयर काउन्सिलर रायन ह्याकप्रति विशेष आभार व्यक्त गरिन्। उनले स्वयंसेवी टोली र संस्थापक अध्यक्षले उक्त अनुदान प्राप्त गर्न गरेको प्रयासको पनि सराहना गरिन्।

संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङले ज्येष्ठ सहभागीहरूलाई अंग्रेजी अध्ययनमा निरन्तर लागिरहन प्रोत्साहित गर्दै यसले दैनिक जीवनका कार्यहरू— जस्तै यात्रा, किनमेल, स्वास्थ्य जाँच र परामर्शमा— ठूलो मद्दत पुर्‍याउने विश्वास व्यक्त गरे।

कार्यक्रमको तस्बिरहरूजीवन गुरुङले खिचेका थिए भने तमु समाज यूकेले सहभागीहरूका लागि हल्का दिवाभोज (लन्च) को व्यवस्था गरेको थियो।
नेशनल लटरी कम्युनिटी फन्डको सहयोगमा सम्पन्न यो औपचारिक कार्यक्रम समाप्त भए पनि तमु समाज यूकेले ज्येष्ठ नागरिकहरूको हितलाई ध्यानमा राख्दै आगामी दिनहरूमा पनि प्रत्येक बिहीबार अंग्रेजी भाषा र वेलबिइङ कक्षालाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

कार्यक्रम संस्थाका संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङको विशेष पहलमा सञ्चालन भएको थियो। बिहान ११:३० बजे सुरु भई दिउँसो २:०० बजे सम्पन्न भएको यो समारोह आत्मीयता, खुशी र सामुदायिक एकताको भावनाले ओतप्रोत थियो। कार्यक्रममा सहभागीहरू र अतिथिहरूले शिक्षा, सुस्वास्थ्य र सामाजिक एकताका लागि तमु समाज यूके र मेयर ह्याकले देखाएको प्रतिबद्धताप्रति आभार व्यक्त गरे।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!