लन्डन २६ अक्टुबर २०२५ । नेपालको पश्चिमी क्षेत्रमा प्रचलित भाका ‘झाम्रे दोहोरी’ गीत बेलायतमा छायांकन गरिएको छ ।
चर्चित गायिका देवी घर्ती र युवराज मगरको शब्द, संगीत र स्वरमा सजिएको उक्त गीत आइतबार २६ अक्टुबर २०२५ मा अल्डरसट सहरमा रहेको एम्पाएर हलमा छायांकन गरिएको हो । छायांकनमा बेलायतमा स्थापित संघ संस्थाहरुका कलाकार, नेपाली दाजुभाइ, दिदीबहिनीहरुले साथ दिएका थिए ।
बागलुङे समाज यूकेको निमन्त्रणमा पहिलो पटक तीन महिनाअघि बेलायत आएका युवराज मगरले यहाँ आफ्नो गीत छायांकन गरेका हुन् । ‘बेलायतमा आएको समयमा अझै यो पललाई अविस्मरणीय क्षण बनाउने ठूलो भित्री मनको चाहनाको कारणले मैले मेरो नयाँ गीत छायांकन गरेको छु । मैले यस्तो कार्य गर्नुको मुख्य कारण मेरा आफन्तजन, शुभचिन्तकहरुलाई मेरो गीतको म्युजिक भिडियोमा कैद गरेर देखाउने ठूलो रहरले सुटिङ गर्ने भित्री इच्छा, सपना पनि हो । त्येसैले छायांकन गर्न तथा म्युजिक भिडियो निर्माण गर्न म एक्लैले असम्भव भएकोले मेरो बाग्लुङे परिवार र इच्छुक आफन्तजले साथ दिनुभयो,’ उनले भने ।
छायांकन गर्दा आर्थिक, नैतिक र भौतिक आवश्यकता पूरा गराउन सहयोग गरिदिने बेलायतवासीलाई उनले धन्यवाद दिए । उनले सहयोग गरेबापत पारदर्शी ढंगले नाम, फोटो, संस्थाको ठूलो लोगो रोलक्रमअनुसार गीतको म्युजिक भिडियोमा राख्ने पनि जानकारी दिए ।
छायांकनमा कलाकारहरू दिपक थापा मैथाने मगर, अस्मिता थापा मगर, मिलन थापा मगर, लक्षण पुन लगायत थुप्रै लाहुरे बुवा, लाहुरे दाईहरू, लाहुरेनी आमा, लाहुरेनी दिदीहरू सहित अन्य कलाकारहरूको साथ रहेको छ । छायांकन तथा नृत्य निर्देशन कुशल श्रेष्ठले गरेका छन् भने कथा तथा निर्देशन गायक तथा संगीतकार युबराज मगरले गरेका छन्।



