
काठमाडौं २८ अक्टुबर २०२५ । बेलायतको ननिटन बेडवर्थ बरोको मेयरमा निर्वाचित भूतपूर्व गोर्खा क्याप्टेन भीम सारू मगर सिंहदरबारमा सम्मानित भएका छन् ।
नेपाल भ्रमणमा रहर्का मगरलाई प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले सम्मान गरेका हुन् । सम्मान गर्दै उपसभामुख रानाले बेलायतीको मन जित्दै मेयरजस्तो पदमा पुगेकोमा मगरलाई बधाई ज्ञापन गरिन् । ‘नेपालीका लागि तपाईं एउटा गौरव हो,’ उनले भनिन्, ‘बरोमा रहेका सबै वर्ग र समुदायलाई समेटेर काउन्सिलको सेवा प्रभावकारी बनाउन भूमिका खेल्ने अपेक्षा गरेको छु ।’
उपसभामुखले सम्मान गर्दा प्रतिनिधि सभाका सचिव हर्कराज राई, सहसचिव एवं संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरी, उपसचिव ओमबहादुर कार्की, सुरेश सेँढाई लगायतका अधिकारीहरूको उपस्थिति थियो ।
मेयर मगरले जनप्रतिनिधिकारूपमा आफूले गरिरहेको कामबारे अनुभव साटासाट गर्नुभएको थियो । पाल्पाको चिदिपानी चन्द्रवन (हाल) माथागढी गाउँपालिका–१ मा जन्मनुभएका सारुले सौभाग्य माध्यमिक विद्यालयबाट विद्यालय शिक्षा पूरा गरेका थिए । त्यसपछि पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पसबाट स्नातक पढ्दै गर्दा सन् १९९३ मा बेलायती सेनामा भर्ती भएका थिए ।
झण्डै तीन दशक ब्रिटिश सेनामा सेवा गर्नुभएका सारु हाल ब्रिटिश गोर्खा भेट्रान्स एसोसिएसनका अध्यक्षसमेत हुन् । उनी रोयल इन्जिनियर्सको ग्यारिजन इन्जिनियरको रुपमा सेवा निवृत्त भएका थिए ।
बेलायतमा सन् २०१७ देखि ‘इम्ब्रोइडरी’ व्यवसाय चलाइरहनुभएका सारु सफल व्यवसायी एवं समाजसेवीको रूपमा परिचित छन् ।



